प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं : प्रधानमन्त्री देउवा - समाचार - कान्तिपुर समाचार

प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं : प्रधानमन्त्री देउवा 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन मिलेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने बताएका छन् ।

स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्केका देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनबारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको प्रस्ट पारे । उनीहरु बीच मंगलबार भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं ।’ उनले एमसीसीकी ल्याटोर्तुलाई आफूहरुले सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको उल्लेख गर्दै अहिलेको संसद् अधिवेशन अन्त्य अर्कै कारणले गरिएको जानकारी दिएको उल्लेख गरे । देउवाले आफूले एमसीसी सम्झौताको सम्बन्धमा नभएर अध्यादेश जारी गर्नका लागि भएको जानकारी दिएको पनि प्रस्ट पारे । देउवाले ल्याटोर्तुले कहिलेसम्म संसद्बाट सम्झौता पास गर्नु हुन्न भन्ने जिज्ञाशा राखेको जानकारी दिए ।

नेपालमा संसद्बाट एमसीसी सम्झौतालाई अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीचमा एकमत नरहँदा कठिनाइ भइरहेको छ । प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएको दाबी गर्दै यसमा विवाद गर्नु नपर्ने बताउँदै आइरहेका छन् ।

अमेरिकाले भने एमसीसीसँगको सम्झौताका विषयमा नेपालमा कार्यान्वयनमा लानको लागि संसदबाट आवश्यक अनुमोदन हालसम्म पनि नभएपछि असन्तुष्टि व्यक्त गरिरहेको छ । संसद्को अधिवेशन कात्तिक १२ गते अन्त्य भएकै दिन एमसीसी सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले असन्तुष्टि जनाएको थियो ।

संसद् अधिवेशन अन्त्य गरिएकै दिन वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अगाडि बढाउने वा नबढाउने निर्णय अब नेपालमै रहेको उल्लेख गरेको थियो । एमसीसी सम्झौता अनुमोदन नगरिँदा लाखौं नेपाली घरपरिवारलाई थप लाभ पुर्‍याउन ढिलाइ भएको एमसीसीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक १८, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्

मौसम खुलेपछि पाथीभरामा हेलिकोप्टरको लर्को

नौरथादेखि कात्तिक १५ सम्म ५३ हजार यात्रु भने पैदलै पुगे मन्दिर 
आनन्द गौतम

ताप्लेजुङ — मंगलबार बिहान केही समय मौसम खुलेको थियो । पैदलयात्रा गर्दै उकालो चढिरहेका हरेकजसो यात्रुका आँखा अकासिए । उनीहरूका आँखा अरु केही नभएर आफूहरूजस्तै तीर्थयात्री बोकेर आएका हेलिकोप्टरको लर्को देखेर अकासिएको थियो । 

बिहान सातदेखि नौ बजेसम्म माउन्टेन, कैलाश र सिम्रिक एयरले यात्रु बोकेर फन्को लगाएका थिए । नौ बजेपछि कुहिरो लागेर मौसम बदलिएपछि हेलिकोप्टरका आवाज पनि एकाएक बन्द भए । दुईवटा हेलिकप्टर मात्रै अट्ने पाथीभरा मन्दिर छेउको हेलिप्याडमा नअटाएपछि दुईवटा हेलिकोप्टर यहीं र एउटा मन्दिर छेउको चौरमा बसेर यात्रु ओसारेका थिए ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार पाथीभरा तीर्थयात्री लिएर आउने हेलिकोप्टरलाई अवतरण शुल्क लाग्दैन । उनीहरूले सदरमुकाम फुङलिङ, पाॅचथर, धरान र धनकुटाको भेडेटारबाट यात्रु ओसारिरहेका छन् । धरानबाट जनही ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्रावल एन्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताउँछन् । उनका अनुसार यो वर्ष हेलिकोप्टरमा चढेर पाथीभरा जाने यात्रुको संख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भइरहेको छ ।

दसैंको घटस्थापनापछि ३५ उडान गरेको उनले बताए । ‘मौसमको कारणले नियमित उडान गर्न पाइरहेका छैनौं,’ श्रेष्ठले भने, ‘मौसम हेरेर दिनमा दुई/तीन फ्लाइट मात्रै भइरहेको छ ।’ मौसमले साथ दिए तिहारपछि पनि उडान गर्ने उनले बताए । यात्रुका हिसाबले एकपटकमा पाँच जना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा १ लाख ६० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १० हजार, पाँचथरको फिदिमबाट २२ हजार र इलामको कन्यामबाट ३५ हजार रुपैयाँ भाडा लिने गरेको मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बू बताउँछन् ।

ट्राभल र होटलले हेलिकोप्टर कम्पनीसॅग सम्झौता गरेर ल्याउने र यात्रु खोजेर चलाउने गरेका छन् । काठमाडौंबाट सीधै आउने यात्रुको संख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए । आचार्यका अनुसार उनीहरूलाई छोटो विधिबाट पूजा गर्न सहयोग गर्ने गरिएको छ । ‘विशेषगरी वृद्धवृद्धा आउनुहुन्छ, त्यसैले पनि सहयोग गरिरहेका छौं,’ आचार्यले भने । हेलिकोप्टरबाट कति संख्यामा तीर्थयात्री आए तथ्यांक नरहेको काफ्ले बताउँछन् । ‘हामीले पैदल हिँडेर जानेको चाँहि तथ्यांक राख्ने गरेका छौं, हेलिकोप्टरबाट आउनेको छैन,’ काफ्लेले भने । यो वर्ष हिमाल आरोहण नभएको र हिमाली क्षेत्रमा जाने पर्यटकको संख्या पनि कम भएकाले हेलिकोप्टर पाउन सहज भएको सुरेश बताउँछन् । त्यही कारण पनि यात्रुको पहुँच सहज बनेको हो ।

दसैंको नौरथा सुरु भएको असोज २१ देखि कात्तिक १५ सम्म ५३ हजार ५ सयले पाथीभरा दर्शन गरेको निर्देशक काफ्ले बताउँछन् । यो अवधिमा सबैभन्दा बढी असोज २ मा ६ हजार ३ सय र सबैभन्दा कम कात्तिक ४ मा ३ सय ३ जनाले दर्शन गरेका छन् । कात्तिक २ मा ४ हजार ५ सय ५५ जना पाथीभरा दर्शनका लागि गएको काफ्ले बताउँछन् । पाथीभरा दर्शनका लागि यो सिजनमा असोज र कात्तिक महिनालाई उत्कृष्ट महिनाको रूपमा लिइन्छ । हिउँदमा फागु र चैतमा सबैभन्दा बढी हुन्छन् । दुई वर्ष अघि चैतमा एकै दिन १७ हजारले दर्शन गरेको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा पैदल जानेले पाँच किलोमिटर हिँडेरै पुग्नुपर्छ ।

सदरमुकाम फुङलिङबाट सुकेटारसम्म ८ किलोमिटर कालोपत्र र सुकेटारदेखि काफ्लेपाटीसम्म १२ किलोमिटर कच्ची सडक रहेको छ । सुकेटारदेखिको कच्ची सडकमा भने १० देखि १६ जनासम्म अट्ने साना सवारी मात्रै सञ्चालन हुने गरेको छ । काफ्ले पाटीदेखि मन्दिरसम्मको दूरी ५ किलोमिटर छ । काफ्लेपाटीदेखि अढाइ किलोमिटर दूरीमा रहेको माथिल्लो फेदीसम्म ठाउँठाउँमा बस्ने लज र खाने होटल रहेका छन् । बिहान उकालो चढ्न सजिलो हुने भएकाले अधिकांश तीर्थयात्री ३१ सय मिटर उचाइको माथिल्लो फेदीमा गएर बस्ने गरेका छन् ।

बुधबार बिहान मात्रै पाथीभरा दर्शन गरेका कांग्रेस सहमहामन्त्री रामशरण महत माथिल्लो फेदीबाट २ घण्टामा मन्दिर पुगेको बताउँछन् । बिहान ४ बजे हिँडेका उनले ६ बजे पूजा गरेका थिए । हिँडेरै जाने उद्देश्यले आएका उनले हेलिकोप्टर भए पनि हिँडेरै सदरमुकाम फर्किएका थिए । मौसम खुल्दा विश्वका तेस्रो अग्लो हिमाल कञ्चनजंघा, संखुवासभामा रहेको मकालुलगायतका हिमशृंखला देख्न पाइने भएकाले यात्रुहरू रमाउने गरेका छन् । अब भने क्रमशः चिसो बढ्दै गएकाले पैदल तीर्थयात्रीको संख्या घट्दै जाने पुजारी टीका पौडेलले बताए ।

पाथीभरामा सबैभन्दा बढी तीर्थयात्री झापाबाट आउने गरेका छन् । झापापछि सुनसरी, मोरङ र भारतको सिक्किमबाट आउने गरेको काफ्ले बताउँछन् । पछिल्ला वर्ष राजधानीबाट आउनेको संख्या पनि बढिरहेको छ भने यो सिजनमा प्रदेश २ बाट पनि उल्लेख्य संख्यामा तीर्थयात्री आएको क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित : कार्तिक १८, २०७८ ११:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×