कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रस्तावित औद्योगिक क्षेत्रमा झडप ४ को मृत्यु, ४६ घाइते

बुटवल — रूपन्देहीस्थित प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा विवादमा सुरक्षाकर्मीले गोली चलाउँदा आइतबार चार जनाको मृत्यु भएको छ । झडपमा ४६ जना घाइते भएका छन् ।

प्रस्तावित औद्योगिक क्षेत्रमा झडप ४ को मृत्यु, ४६ घाइते

मृतकमध्ये वाणगंगा नगरपालिका–१० का ४८ वर्षीय रमेश परियारबाहेकको सनाखत हुन सकेको छैन । औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न हूलका हूल मानिस आएको भन्दै शनिबारदेखि नै प्रहरी परिचालन भएको थियो ।

प्रहरीले आइतबार बिहानैदेखि मोतीपुरको मुख्य नाका मगरघाटस्थित पुलमा मान्छे रोक्दै सोधीखोजी गरिरहेको थियो । त्यही क्रममा दिउँसो १ बजेबाट झडप भएको थियो । ‘प्रहरीले अश्रुग्यास हान्यो भन्दै धेरै भागिरहेका थिए । ढुंगा हानाहान भइरहेको थियो । पछि गोली चल्यो,’ प्रत्यक्षदर्शी रुकबहादुर क्षत्रीले भने । मगरघाटको पुलपछि हरिहरपुरको पीपलको रूखनिर झडप भएको थियो ।

रूपन्देही प्रहरी प्रमुख मनोज केसीले औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्नका लागि बाहिरबाट आउने समूहलाई सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको बताए । ‘म फिल्डमै छु, अस्पतालमा मृत्यु भयो भन्ने खबर आएको छ,’ राति १० बजे उनले भने, ‘पुष्टि र सनाखत हुन बाँकी छ ।’ रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डेका अनुसार घाइतेमध्ये १६ सर्वसाधारण र ३० सुरक्षाकर्मी छन् । सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका १४ र सशस्त्र प्रहरी बलका १६ जना घाइते छन् । भैरहवा मेडिकल कलेजको अस्पताल प्रशासन प्रमुख सुशील गुरुङले त्यहाँ उपचाररत ९ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले थप ‘अतिक्रमण’ गर्न नदिने प्रयास गर्दा सुरक्षाकर्मीमाथि नै आक्रमण भएपछि बाध्य भएर गोली चलाउनुपरेको बताए । जिल्ला प्रशासनले स्थिति नियन्त्रणमा लिन अर्को सूचना जारी नहुँदासम्म अपराह्न ४ बजेदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु जारी गरेको छ । पछिल्लो समय बाहिरबाट आई कब्जा गरेर बस्नेको संख्या बढ्दै गएपछि स्थानीय जनप्रतिनिधि, समाजसेवीको समेत सल्लाहमा सुरक्षा निकाय ‘बल प्रयोग’ गरेरै उनीहरूलाई भगाउने रणनीतिमा लागेको थियो ।

‘सामान्य रूपले जग्गा फिर्ता हुने नदेखिएपछि बल प्रयोग गर्ने सहमति भएको थियो,’ स्थानीय एक जनप्रतिनिधिले भने, ‘आवश्यक परेको खण्डमा घुँडामुनि गोली हान्नेसम्मको आन्तरिक र मौखिक सहमति हो, त्यहीअनुसार धेरैलाई घुँडाभन्दा तल नै गोली लागेको छ ।’

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न दुई सातायता लुम्बिनीसँगै कर्णाली, गण्डकी र वाग्मतीबाट समेत मानिस आउन थालेपछि स्थानीय बासिन्दा चिन्तित थिए । त्यसैले स्थानीय प्रशासनले बढी चासो दिएर नियन्त्रण प्रयास सुरु गरेको थियो ।

भदौ २९ मा प्रहरीले झन्डै ४ हजार अस्थायी घर–टहरा भत्काएको थियो । तर पनि अतिक्रमण रोकिएन । स्थानीयका अनुसार दिनमै दुई/तीन सय जना जग्गा कब्जाका लागि आउन थालेका थिए ।

असोज ४ मा कब्जा गर्नेलाई हटाउन पुगेको प्रहरीमाथि नै पेट्रोल बम प्रहार गरिएपछि नयाँ रणनीतिका साथ आइतबार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

आइतबारको झडपका क्रममा ५ हजारभन्दा बढी ‘अपरिचित अनुहार’ रहेको स्थानीयले बताएका छन् । बुटवल उपमहानगरपालिका–१७ का वडाध्यक्ष सन्तराम रानाले पछिल्लो समय स्थानीयभन्दा पनि बाहिरबाट आएर जग्गा कब्जा गर्ने बढेको बताए । ‘कब्जा गर्नेमा स्थानीय दुई प्रतिशत पनि छैनन्,’ उनले भने, ‘बाहिर कोठा भाडामा लिएर बस्ने र दिनभर जग्गा कब्जा गर्ने, राति कोठामा सुत्न जाने धेरै थिए ।’ तनहुँ, कपिलवस्तु, रोल्पा, नवलपरासीलगायत जिल्लाबाट अतिक्रमण गर्नेहरू आउने गरेपछि नियन्त्रणको प्रयास सुरु भएको उनले बताए । प्रमुख जिल्ला अधिकारी तिवारीले अतिक्रमण बढ्दै गएपछि प्रहरीले नियमित रूपमा त्यस क्षेत्रमा निगरानी बढाएको र अतिक्रमणकारीलाई हटाउने प्रयास गरिरहेको जनाए ।

पछिल्लो समय जग्गा कब्जा गर्नेहरूले नयाँ बस्ती, उजिर सेन बस्ती, गणतन्त्र बस्तीलगायतका दर्जनभन्दा बढी बस्ती विकास समिति बनाएका छन् । कब्जा गर्नेका अगुवाले २ सय रुपैयाँको रसिद काटेर जग्गा कब्जा गर्ने क्षेत्र देखाइदिने गरेका छन् । २५ जनाको समूह बनाएर जग्गा कब्जा गर्न लगाइएको छ । उनीहरू बिहान औद्योगिक क्षेत्रको जग्गामा गएर दिनभर बस्छन् अनि साँझ फर्किन्छन् । ‘हामी डेढ सय जनाको समूह बनाएर आएका हौं,’ जग्गा कब्जा गर्न आएका मिलन गुरुङले भने, ‘दिनभर कब्जा गरेको जग्गामा बस्छौं । राति भाडाको घरमा जान्छौं ।’ उनीहरूले हरेक साँझ समूहका नाइकेको भेला गर्थे । प्रहरी रोक्न आए कसरी प्रतिकार गर्ने भन्नेबारे तालिम दिने गरिएको नवलपरासी पश्चिमको सुनवलबाट जग्गा कब्जा गर्न आएका गोपाल मगरले बताए । ‘प्रहरीले हान्न थाल्यो भने कसरी प्रतिकार गर्ने भन्नेबारे सिकेका थियौं,’ उनले भने, ‘आज पनि त्यहीअनुसार प्रहरीलाई हान्दै भाग्दै गरेका थियौं । जस्तोसुकै घटना भए पनि कब्जा गरेको जग्गामा बस्ने भन्ने (अगुवाहरूको) निर्देशन छ ।’

औद्योगिक क्षेत्रमा किन आँखा ?

औद्यागिक क्षेत्रका लागि छुट्याइएको जग्गा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासँग जोडिएको तिनाउ नदी उकास क्षेत्र हो । त्यहाँ धेरै जग्गा ऐलानी थियो । स्थानीयले वर्षौंदेखि त्यही ऐलानी जग्गामा घर बनाएर बस्दै आएका छन् । त्यही ऐलानी जग्गा समेटेर सरकारले औद्योगिक क्षेत्र बनाउने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र घोषणा गरेको थियो । त्यति बेला ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने भनिएको थियो ।

औद्योगिक क्षेत्र बनाउन सरकारले जग्गा अधिग्रहण गरेर काम थाल्ने क्रममा गत फागुन २१ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक करिडोरको शिलान्यास गरेका थिए । स्थानीयको माग सुनुवाइ नै नगरी करिडोर निर्माण प्रक्रिया अघि बढाएको भन्दै विरोध भएको थियो । त्यतिबेला विरोध गर्ने धेरै स्थानीय नै थिए । पौडेल र भट्टको त्यति बेलाको कार्यक्रम बिथोल्न खोजेका ५ जनालाई शनिबार रातिदेखि नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

फाइल तस्बिर

सरकारले उक्त क्षेत्रको जग्गा औद्योगिक क्षेत्र लिमिटेडका नाममा २०७३ सालमै दर्ता गरिसकेको छ । दुई वर्षभित्रै न्यूनतम पूर्वाधार निर्माण गरी उद्योग खोल्न दिने योजनाअनुसार काम अघि बढाइएको छ । ठूला उद्योगका लागि १ सय १९ वटा, मझौला उद्योगका लागि ५१ वटा र साना उद्योगका ९२ वटा प्लट निर्माण गर्ने तयारी छ । औद्योगिक क्षेत्र ९ सय ४६ बिघामा फैलिएको छ । त्यसमध्ये १ सय ३३ बिघाको जग्गाधनी पुर्जा भने औद्योगिक क्षेत्रसँग छैन ।

सबै दलको सहमतिमै २०७३ वैशाख २९ मा यहाँको ८ सय १३ बिघा मोतीपुर औद्योगिक क्षेत्र परियोजनाका नाममा पुर्जा बनेको छ । घनाबस्ती छाड्ने र बाँकी क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने सहमति छ । त्यसअनुसार बुटवल उपमहानगर र शुद्धोधन गाउँपालिकालगायतको करिब १ सय बिघा क्षेत्रफलमा बसेको पुरानो बस्तीको तथ्यांकसमेत संकलन गरिएको छ । ठूला संरचना र बस्ती त्यहीं व्यवस्थापन गर्ने र साना बस्ती स्थानान्तरण गर्नेबारेमा तीन तहकै सरकारबीच छलफल चलिरहेको छ ।

फाइल तस्बिर

औद्योगिक क्षेत्र व्यवस्थापन विभागले गत वर्ष १२ अर्ब लागतमा औद्योगिक क्षेत्र बनाउन डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरेको थियो । उक्त डीपीआरका आधारमा तारबार गर्न रकमसमेत छुट्टिएको थियो ।

‘त्रसित छौं’

– रुकबहादुर क्षत्री (प्रत्यक्षदर्शी)

१५/२० दिनदेखि यहाँ जग्गा रोक्न भन्दै दिनदिनै दाङ, रुकुम, रोल्पा, म्याग्दी, धादिङबाट पनि मान्छे आइरहेका थिए । म्याग्दी र नारायणगढबाट त बस नै रिजर्भ गरेर मान्छे आएका थिए । मान्छे आउने क्रम बढिरहेकै थियो । जग्गा रोक्नेहरूले रानीगन्जको भूपू खेलमैदानदेखि धन्धापुरको सिमानासम्म नै कब्जा गरिसकेका छन् ।

आइतबार बिहानैदेखि प्रहरीले मोतीपुरको मुख्य नाका मगरघाटको पुलमा मान्छे रोकेर सोधीखोजी गर्न थाले । जग्गा कब्जाका लागि जानेलाई रोक्ने र स्थानीयलाई छाड्ने गरेका थिए । तर अन्यत्रबाट जग्गा रोक्न आएकाहरूले प्रहरीलाई नै घेरा हाले । प्रहरी र जग्गा रोक्नेहरूको संख्या बढ्दै गएको थियो । दिउँसो १ बजेतिर झडप सुरु भयो । प्रहरीले अश्रुग्यास हान्यो भन्दै धेरै भागिरहेका थिए । केहीले ढुंगा, पेट्रोल भरेको बोतललगायतले हान्न थालेपछि प्रहरीले गोली नै चलाएको हो ।

सुरुमा मगरघाटको पुलनजिक झडप भएको थियो । त्यसपछि हरिहरपुरको पीपलको रूखनिर झडप भयो । त्यसको आधा घण्टामा जताजतै ड्याङ र डुडुङ पड्किन थालेपछि हामी घरभित्रै पसेर बसेका थियौं । आज मोतीपुरको रानीगन्ज, पत्थरगन्ज, हरिहरपुर, मगरघाट क्षेत्रमा एक हजारभन्दा बढी नै प्रहरी थिए । अझै पनि यहाँ लडाइँ र गोली चल्ने सम्भावना छ । त्यसले यहाँ वर्षौंदेखि बसिरहेका हामीलाई समेत डर लागिरहेको छ । हामी त्रसित छौं ।

प्रकाशित : आश्विन २५, २०७८ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?