कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१
बीपी प्रतिष्ठानमा बेथिति

बीपीमा पुरानै पाठ्यक्रम, विदेशमा मान्यता पाउन चुनौती

नयाँ–नयाँ रोग, उपचारमा औषधि र प्रविधिको विकाससँगै अद्यावधिक हुनुपर्ने पाठ्यक्रम बनाउन पदाधिकारीले ध्यानै दिएका छैनन् 

सुनसरी — आउँदा दुई वर्षभित्र पनि पाठ्यक्रम पुनरावलोकन नभए सन् २०२३ देखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्र पढेका विद्यार्थीले युरोप र अमेरिकामा थप उच्च शिक्षा पढ्न अनुमति पाउन निकै मुस्किल छ । किनभने राजनीतिक नियुक्तिको किचलो, पटकपटक खरिद ठेक्का र कमिसन प्रकरणमा मुछिएका पदाधिकारीले प्रतिष्ठानको शैक्षिक कार्यक्रम ‘ग्लोबल स्ट्यान्डर’ मा अद्यावधिक गर्न ध्यान नदिएको वर्षौं भएको छ ।

बीपीमा पुरानै पाठ्यक्रम, विदेशमा मान्यता पाउन चुनौती

वर्ल्ड फेडेरेसन फर मेडिकल एजुकेसन (डब्लूएफएमई) ले विश्वका मेडिकल कलेज, युनिभर्सिटीका लागि साझा नीति बनाएको छ । उक्त नीतिअनुसार चिकित्सा शिक्षा समयसापेक्ष अद्यावधिक हुनुपर्छ ।

प्रतिष्ठानमा मेडिकल एजुकेसनसम्बन्धी पाठ्यक्रम निर्धारण समूहकी सदस्य प्रा.डा. ज्योत्सना रिमालका अनुसार बीपी प्रतिष्ठानले सन् २०१४ देखि पाठ्यक्रम अद्यावधिक गरेको छैन । ‘अति जरुरी काम नै अघि बढ्न सकेको छैन,’ उनले भनिन्, ‘डब्लूएफएमईले बनाएको ग्लोबल स्ट्यान्डरअनुसार नेपालको चिकित्सा शिक्षा अद्यावधिक नभएकाले यहाँ पढेका चिकित्सक र चिकित्साशास्त्रका विद्यार्थीले सन् २०२३ पछि युरोप र अमेरिकामात्र होइन नेपाल बाहिर कतै पनि थप उच्च अध्ययनका लागि पढ्न पाउँदैनन् । चिकित्सक नै भएर जागिर खानुपरेको कुरा भयो ।’

नयाँ–नयाँ रोग, उपचारमा औषधि र प्रविधिको विकाससँगै चिकित्सा शिक्षा अद्यावधिक भइरहनुपर्छ । ती सबैबारे पढेर अभ्यास गर्न जानेको र सोहीअनुसार उपचार गर्न सक्ने हुनुपर्ने गरी ग्लोबल मेडिकल एजुकेसनले नीति बनाएको डा. रिमालले बताइन् । ‘छिमेकी देशहरूले डब्लूएफएमईको नीतिअनुसार आफ्नो पाठ्यक्रम अद्यावधिक लान्छन्, हामी भने अलमलिएका छौं,’ उनले भनिन्, ‘सन् २०१८ मा प्रवेश गरेकाहरू सन् २०२३ मा पासआउट हुन्छन् । तर, तिनलाई विश्वका कुनै पनि मेडिकल युनिभर्सिटीले डब्लूएफएमईका कारण लिन गाह्रो छ ।’

८ करोड भुक्तानी भएको सीटी स्क्यान मेसिनको पत्तो छैन

प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन अध्यापन गर्न गराउन डिनको अध्यक्षतामा सात सदस्यीय करिकुलम कमिटी छ । यसको कार्यकाल दुईवर्षे हुन्छ । कमिटीले तयार गरेको पाठ्यक्रमलाई प्रतिष्ठानको एकेडेमी कमिटीले पास गर्छ । तर एकेडेमिक कमिटीको बैठक नभएको तीन वर्ष भयो । एकेडेमिक कमिटीमा चार पदाधिकारीसहित डिन, सहायक डिन, विभागीय प्रमुखहरू, विज्ञ शिक्षकहरू र अन्य विश्वविद्यालयका प्रतिनिधि सदस्यका रूपमा छन् । करिकुलम कमिटीमा पूर्वसदस्य सचिव भइसकेकी प्रा.डा. रिमालका अनुसार सन् २०१९ अप्रिलमा करिकुलम कमिटीको कार्यकाल सकिए पनि हालसम्म अर्को कमिटी बनाइएको छैन । ‘डब्लूएफएमईले सीपमूलक करिकुलम बनाउनुपर्ने नीतिमा जोड दिएको छ । तर नेपालमा परीक्षामा पास हुने परिणाममुखी करिकुलम छ, त्यसैलाई अद्यावधिक गर्न दबाब छ ।’

चिकित्साशास्त्रमा सैद्धान्तिक ज्ञानसँगै अभ्यास हुनुपर्छ । तर, अभ्यासका लागि प्रतिष्ठानमा पूर्वाधार नभएको एमबीबीएस, बीडीएसदेखि एमडीसम्मका विद्यार्थी र प्राध्यापकहरूले पनि खुलेरै बताउने गरेका छन् । डेन्टलका प्रोस्थोडोन्टिक्स विभागका एसोसिएट फ्रोफेसर डा. प्रकाश पराजुलीका अनुसार दन्त चिकित्सा महाविद्यालयको एउटा कोठा छ, जुन कोठामा ‘टाइफोडोन्ट’ उपकरणहरू राखिएका छन् । दन्त चिकित्साशास्त्र अध्ययन गर्नुअघि विद्यार्थीले ‘टाइफोडोन्ट’ उपकरणहरूमा पहिले अभ्यास गर्नुपर्छ । ‘टाइफोडोन्टमा विद्यार्थीहरूले डेन्टलको अभ्यास त गर्छन् । तर गाला र गिजाबिनाको टाइफोडोन्टमा अभ्यास गर्नु र वास्तविक बिरामीको दन्त उपचार गर्नु धेरै फरक हुन्छ,’ उनले भने, ‘टाइफोडोन्ट उपकरणहरू पुराना र थोत्रिएपछि प्रतिष्ठानले नयाँ ल्याउन बेवास्ता गरेको छ । यहाँ गाला र यहाँ गिजा हुन्छ भनेर अन्दाजका भरमा पढ्ने पढाउने गर्नुपरेको छ ।’

७६ करोड लागतको भवन २ अर्ब ३३ करोडमा ठेक्का, म्याद थप्दा पनि अपूरै

डेन्टलका नौ वटै विभागमा समस्या छ । चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले तोकेको मापदण्डअनुसार डेन्टलका नौ विभागमा २० वर्ष पुराना हाइड्रोलिक प्रेसर चियर छन् । हाइड्रोलिक चियरलाई काउन्सिल र आयोगले ‘फेजआउट’ गरिसकेको छ । पुराना छन्, ती पनि अधिकांश काम नदिने छन् । दन्तरोगको उपचारमा आउने बिरामीको चाप र विद्यार्थीको अनुपातअनुसार डेन्टल चियर एउटै पनि छैनन् । कुनैमा बत्ती बल्दैन, कुनैमा हावा–पानी आउने पार्ट नै चल्दैनन् । ‘तीन वर्षअघि चार थान डिजिटल डेन्टल चियर आयो तर जडान नै गरिएको छैन । भए पनि नभए बराबर छ,’ डा. पराजुलीले भने ।

दाँतको एक्सरे गर्ने अर्थोप्यान्टोमाग्राम (ओपीजी) प्रायः बिग्रिरहन्छ । डेन्टलका विद्यार्थीले दाँत र मुखको एक्सरे गर्ने लेटरल सेफालोग्राम र क्याडक्याम त देख्नै पाएका छैनन् । अर्थोडोन्टिक्समा लेटरल सेफालोग्राम मेसिन नहुँदा विद्यार्थीलाई प्रयोगात्मक सिकाइ हुन सकेको छैन । उनले भने, ‘प्राक्टिस गर्न नपाउने हो भने कसरी बीडीएसका विद्यार्थीले दन्त चिकित्सा सिक्छन् ?’

ओरल मेडिसिन तथा रेडियोलोजी का विद्यार्थीले डेन्टल कोन–विम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी) मेसिन नहुँदा सीबीसीटी ‘रिड’ गर्न र सिक्न मुस्किल भएको बताए । बीडीएसका बिद्यार्थी ज्योति बोगटीले भने, ‘चाहिने उपकरण नहुँदा सिक्न र अभ्यास गर्न पाएनौं नै, उपचार गर्न आएका बिरामीहरूले पनि दुःख पाएका छन् ।’

डेन्टलका नौवटै विभागमा डिजिटल एक्सरे (आरभीजी) आवश्यक छ । तर प्रतिष्ठानले खरिद मामिला अल्झाएर उपकरण झिकाएको छैन । ‘काउन्सिलको मापदण्डअनुसार प्रतिष्ठानमा धेरैजसो उपकरण छैनन्, त्यही कारणले सिकाइ पनि प्रभावकारी हुन सकेको छैन,’ उनले भने ।

बीपीमा बेथिति :‘रिएजेन्ट’ अभावमा रिपोर्ट दिन बन्द

गत मंगलबार सार्वजनिक सरकारी प्रतिवेदनले पनि प्रतिष्ठानको प्राज्ञिक क्षेत्र र शैक्षिक क्षेत्रमा व्यापक अराजकता रहेको उल्लेख गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव वैकुण्ठ अर्याल संयोजकत्वको उच्चस्तरीय कार्यदलले विभिन्न प्रश्न उठाएको छ । ‘प्रतिष्ठानको उद्देश्यहरूमध्ये दक्ष जनशक्ति उत्पादन गर्नु हो तर पदाधिकारीसँग सो उद्देश्य पूरा गर्ने कुनै कार्ययोजना भएको देखिएन । विभागीय प्रमुखको बैठक विगत ४ वर्षदेखि नियमित हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘प्राज्ञिक काउन्सिल बैठक र दीक्षान्त समारोह ४ वर्षदेखि हुन सकेको छैन । नेपाल मेडिकल काउन्सिलमा सम्बन्धित विषयमा विशेषज्ञका रूपमा दर्ता नभएका व्यक्तिलाई समेत विभागीय प्रमुख बनाइएको र विषय नै नमिलेको व्यक्तिलाई प्रमुख विशेषज्ञ बनाइएको पाइयो ।’

परीक्षा तालिका भद्रगोल भएको, विभागीय प्रमुख र प्राध्यापकको जानकारीबिनै बाहिरबाट मानिस ल्याएर परीक्षा सञ्चालन भएको, नियमअनुसार आन्तरिक मूल्यांकनको समेट्नुपर्ने प्राप्तांकहरू नसमेटी परीक्षाफल प्रकाशित गरेको पनि प्रतिवेदनले औंल्याएको छ । वरिष्ठ शिक्षकहरूले पूर्ण शैक्षिक समयअनुसार नपढाउने र प्रयोगात्मक कक्षामा नजाने प्रवृत्ति रहेको, विद्यार्थीका लागि अनिवार्य रहेको स्किल ल्याबरोटरीसमेत नभएको, पठनपाठनका लागि साधन स्रोत पूर्तिमा पदाधिकारीले ध्यानै नदिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

बीपी प्रतिष्ठानमा बेथिति : मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी

करिब १४ सय विद्यार्थीले चिकित्साशास्त्रका विभिन्न विषय अध्ययन गर्दै आएको प्रतिष्ठानमा उनीहरूसँग जोडिएका समस्याहरूलाई व्यवस्थापनले जहिल्यै गौण रूपमा हेर्ने गरेको आरोप लाग्दै आएको छ । ‘हामीकहाँ नेपालमात्रै होइन सार्क मुलुकका विभिन्न ठाउँबाट आउने विद्यार्थी छन् । जुनसुकै विद्यार्थीले आफू अब्बल हुने सपना देख्छ । त्यसका लागि पढ्ने पढाउने, सिक्ने सिकाउने शैक्षिक वातावरणमा कुनै हस्तक्षेप हुनु हुँदैन,’ प्रतिष्ठान शुद्धीकरण अभियानका सदस्य डा. अमृत जैसीले भने, ‘पदाधिकारी पनि व्यवस्थापनमा गम्भीर हुनुपर्छ ।’ आफ्नै शैक्षिक क्यालेन्डर र पाठ्यक्रम रहेको प्रतिष्ठानमा समयअनुसार परिवर्तन नगरिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीका अनुसार प्रतिष्ठानको लाइब्रेरीमा नयाँ किताबहरू नआएको वर्षौं भयो । ‘एमआरआई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, एक्सरे जस्ता मेसिन पुराना प्रविधिका त भए नै, ती पनि अपूरा अधुरा छन्,’ उनले भने, ‘लाइब्रेरीमा समेत पुराना किताब मात्रै छन् । पुरानो प्रविधि र पुरानो पाठ्यक्रम पढेर डाक्टर भएकाले कसरी प्रभावकारी उपचार सेवा दिन सक्छ ?’

प्रतिष्ठानका इन्टर्न डा.अमृत जैसी सुधार गर्न सकिने क्षेत्रमा पनि पदाधिकारीमा काम गर्ने जाँगर नदेखिएको बताउँछन् । ‘चिकित्साशास्त्र अध्ययन–अध्यापन र अनुसन्धान र बिरामी उपचार गर्ने संवेदनशील क्षेत्र हो तर प्रतिष्ठानको एकेडेमिक मिटिङ नबसेको लामो समय भइसकेको छ,’ उनले भने, ‘जब एकेडेमिक कमिटीको मिटिङ नै हुँदैन भने अहिलेको म्यानेजमेन्टबाट के आशा गर्ने विद्यार्थीले ?’

प्रकाशित : श्रावण २१, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?