अखिल र युथ फोर्सजस्ता बाहुबली समूह तत्काल खारेज गर्नुपर्छ : योगेश भट्टराई- समाचार - कान्तिपुर समाचार

अखिल र युथ फोर्सजस्ता बाहुबली समूह तत्काल खारेज गर्नुपर्छ : योगेश भट्टराई

'समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई आपराधीकरण गर्न उद्दत बाहुबली समूहहरू तत्काल खारेज गर्नु पर्दछ । '
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गरेका छन् ।

भट्टराईले अनेरास्ववियू र युवा स‌ंघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका अखिल र युथ फोर्सको कुनै औचित्य नभएको उल्लेख गर्दै तत्काल खारेजीको माग गरेका हुन् । समाजमा आत‌ंकको आभास दिने र युवाहरूलाई कानुन हातमा लिएर राजनीतिलाई आपराधीकरण गर्न उद्दत समूहहरू खारेज हुनुपर्ने भट्टराईको माग छ ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, 'समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्नसक्ने ?'

सर्वोच्च अदालतले असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको भोलिपल्ट असार २९ गते एमाले नेता महेश बस्नेत समूहले युथ फोर्स गठन गरेको थियो । एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्यूँताएको युवा संघका इन्चार्ज महेश बस्नेतले बताएका थिए । क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरिएको छ ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि असार ३१ गते वरिष्ठ नेता माधव नेपाल समूहले अखिल फोर्स गठन गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको छ ।

यस्तो छ भट्टराईको भनाइ

ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक/ वैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने ?

पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० वर्षे हिंसाको प्रतिवाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा वैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका विरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैले खनिरहेको स्वीकार गर्नु पर्दछ । शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता विशेषतासहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन । तसर्थ: यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित : श्रावण ९, २०७८ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

११ जनालाई कारागार

कान्तिपुर संवाददाता

कपिलवस्तु — माओवादी केन्द्रका जिल्ला सदस्य दीपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा मृतककी श्रीमती महिमा पाण्डेलगायत ११ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासको आदेशपछि बिहीबार उनीहरूलाई कारागार चलान गरिएको हो ।

कपिलवस्तुको तौलिहवा–जितपुर सडक खण्डको गोबरी हुँदै जेठ ५ गते राति पाण्डेसहित तीन जना मोटरसाइकलमा सदरमुकाम तौलिहवातर्फ फर्किंदै गर्दा उनीहरूमाथि गोली प्रहार भएको थियो । पाण्डेको उपचारका क्रममा जेठ १० गते काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । घटनामा मुख्य योजनाकार, गोली प्रहार गर्ने व्यक्ति, हतियार खरिद गर्ने, लुकाउने र ओसारप्रसार गर्ने तथा घटना लुकाउन सहयोग गर्ने गरी ११ जना पक्राउ परेका थिए ।

घटनाको अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा टोली खटाइएको थियो । अनुसन्धानका क्रममा घटना भएको राति नै घटनामा संलग्न कपिलवस्तु नगरपालिका–१ का ओमप्रकाश यादव पक्राउ परेका थिए । त्यसपछि यादवले लुकाई राखेको पेस्तोल एक थान, म्याग्जिन तथा ६८ राउन्ड गोली बरामद भएको थियो ।

त्यस्तै, हत्यामा संलग्न कपिलवस्तु नगरपालिका–२ बस्ने साकिर अलिपखिया र निजले प्रयोग गरेको कटुवा पेस्तोल र दुई थान गोली तथा कपिलवस्तु नगरपालिका–६, ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले घटनास्थलमा प्रयोग गरेको स्वचालित पेस्तोल, म्याग्जिन र ८ राउण्ड गोली प्रहरीले बरामद गरेको थियो ।

प्रकाशित : श्रावण ९, २०७८ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×