कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीभर अक्सिजन हाहाकार

श्वासप्रश्वास समस्या भएर अक्सिजन चढाउनुपर्ने बिरामी दिनहुँ थपिइरहेका छन् । तर, अक्सिजन अभाव देखाउँदै अस्पतालले बिरामी फर्काउन थालेका छन् ।

रुपन्देही, दाङ, बाँके — लुम्बिनी प्रदेशका ठूला अस्पताल रहेका रूपन्देही, दाङ र बाँके कोरोना ‘हटस्पट’ बनेका छन् । आसपासका जिल्लाबाट समेत गम्भीर अवस्थाका संक्रमितलाई उपचारका लागि यहाँ ल्याउने गरिएको छ । प्रदेशका चार कोरोना र दुई शिक्षण अस्पतालमा अहिले बिरामी खचाखच छन् ।

लुम्बिनीभर अक्सिजन हाहाकार

श्वासप्रश्वास समस्या भएर अक्सिजन चढाउनुपर्ने बिरामी दिनहुँ थपिइरहेका छन् । तर, अक्सिजन अभाव देखाउँदै यी अस्पतालले बिरामी फर्काउन थालेका छन् । केहीले तीन/चार दिनदेखि नयाँ बिरामी भर्ना रोकेका छन् । अस्पतालले अक्सिजन अभाव भएकाले भर्ना भएका बिरामीको मृत्यु हुन सक्ने चेतावनी दिन थालेपछि यहाँ चिन्ता बढेको हो ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक र कोरोना विशेष अस्पतालमा बुधबार अक्सिजन आपूर्ति भएन । बाँकेबाट डिलरले अक्सिजन ल्याउन नपाएपछि रूपन्देहीकै अर्को सप्लायर्सलाई जिम्मा दिइयो । उक्त सप्लायर्सले ६० थान सिलिन्डर उपलब्ध गरायो तर बाँकेबाट अक्सिजन आपूर्ति नभएपछि अभाव चर्किएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. राजेन्द्र खनालले बताए । ‘सप्लायर्सले हाम्रो भर नपर्नु, सबैलाई पुर्‍याउनुपर्छ भन्यो,’ उनले भने, ‘त्यसपछि समस्या भयो ।’

खनालका अनुसार अहिले दैनिक ५ सय सिलिन्डर खपत हुन्छ । एक पटकमा ३५ देखि ४० सिलिन्डर प्रयोग भइरहेका छन् । ती सकिने बेला त्यति नै सिलिन्डर तयार राख्नुपर्छ । बिहीबार बिहानसम्म अक्सिजन व्यवस्था नभएपछि मेसुसहित चिकित्सक र स्टोरमा कार्यरत कर्मचारीलाई तनाव भयो । बुटवलको आम्दा अस्पतालले केही थान सिलिन्डर सापटी दियो । मेसु खनालले समस्याबारे स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन, बुटवल उपमहानगरपालिकालाई जानकारी गराए । अक्सिजन अभावबारे सर्वसाधारणले सामाजिक सञ्जालमा उल्लेख गर्न थाले । त्यसपछि बिहीबारका लागि जोहो भएको उनले बताए । ‘यसरी दीर्घकालीन हुँदैन,’ उनले भने, ‘तत्काल अक्सिजन, बेड र जनशक्ति जोहो नगरे बिरामीको उपचार गर्ने अवस्था छैन ।’ भैरहवास्थित भीम अस्पतालले एक सातादेखि अक्सिजन अभावबारे संघसंस्था र प्रशासनलाई जानकारी गराउँदै आएको जनाएको छ ।

हारगुहार गरेपछि यस क्षेत्रका औद्योगिक संस्था र सहकारीले सहयोग गरेका छन् । अस्पतालमा दैनिक ५० भन्दा बढी बिरामीको उपचार भइरहेको र सबैलाई अक्सिजन चाहिने भएकाले पर्याप्त नभएको सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । ‘१ सय ५० थान नियमित प्रयोग भइरहेको छ,’ उनले भने, ‘हाइफ्लोमा रहेका एउटै बिरामीलाई तीनवटा सिलिन्डर चाहिन्छ ।’ दिगो व्यवस्थापन नभए समस्या उत्पन्न हुने उनले बताए ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (यूसीएमएस) ले दैनिक ८ सय बुटवलमा स्थापना भएको अक्सिजन बैंकमा बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले सहयोग गरेको अक्सिजन सिलिन्डर झारिँदै । तस्बिर : सन्जु पौडेल/कान्तिपुर

सिलिन्डर अक्सिजन सहज आपूर्तिका लागि सहयोग र समन्वय गरिदिन बुधबार अपिल गरिसकेको छ । बिरामीको चापलाई मध्यनजर गर्दै तयारी अवस्थामा राखिएका थप ६० एचडीयू बेड अक्सिजन नभएकाले सञ्चालन गर्न नसकिएको जनाएको छ । अक्सिजन व्यवस्थाका लागि समन्वय गरिदिन संघीय, प्रदेश र स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मीलगायत सबै पक्षसँग मेडिकल कलेजले बुधबार विज्ञप्तिमार्फत अपिल गरेको छ । शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले सहज आपूर्ति हुन नसके बेड कटौती गर्नुपर्ने अवस्था सिर्जना हुने बताए । अस्पतालमा सामान्य अवस्थामा १ सय २५ थान अक्सिजन सिलिन्डर खपत भइरहेको उनले जनाए ।

दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालले अक्सिजन व्यवस्था नभए थप बिरामी भर्ना लिन नसक्ने जनाएको छ । एक सय शय्याको अस्पताल भए पनि अक्सिजन अभावमा ५७ बिरामी राखिएको र अक्सिजन उपलब्ध नभएसम्म अरू बिरामी राख्न नसकिने अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताएका छन् । बुधबार अस्पतालमा एकै दिन चार जनाको मृत्यु भएपछि अस्पताल व्यवस्थापन बाँकी बिरामीप्रति चिन्तित भएको छ । ‘बिरामी राखिदिन निरन्तर दबाब आइरहेको छ तर हामीसँग अक्सिजन छैन, भएका बिरामीलाई पुर्‍याउन सकिएको छैन,’ उनले भने, ‘अक्सिजन अभावमा बिरामी राख्नु भनेको जानाजान बिरामीको ज्यान जोखिममा पार्नु हो ।’ अहिले अस्पतालमा कम्तीमा पनि ५ सय सिलिन्डर अक्सिजन चाहिएको छ तर अस्पतालसँग १ सय २० सिलिन्डरमात्रै छ । अक्सिजन अभावकै कारण बिरामीको ज्यान जाने अवस्था भएकाले थप बिरामी राख्न नसकिने उनले बताए ।

‘५ सय अक्सिजन नियमित चाहिन्छ । त्यसमा ५ सय स्टक भएमा मात्र सहज रूपमा उपचार गर्न सकिन्छ,’ उनले भने, ‘बिरामीको औषधि सकिँदासम्म पनि अरू अक्सिजन आइपुग्दैन अनि कसरी ज्यान बच्छ बिरामीको ?’ अक्सिजनको तत्काल व्यवस्था गरिदिन उनले जिल्लाका मन्त्री, सांसद, स्थानीय सरकार, नेता, समाजसेवी लगायतलाई सार्वजनिक रूपमा आह्वान गरेका छन् । ‘हाम्रो समस्या सबैले सुनिदिनूहोस् भन्दाभन्दा थाकिसक्यौं, हात उठाउने बेला आइसक्यो,’ उनले भने, ‘जिल्लाका मन्त्री, सांसद र धेरै ठूला नेताहरू हुनुहुन्छ, सबैले यो समस्याको छिटो सम्बोधन गरिदिनुपर्‍यो, नत्र बिरामी बचाउन गाह्रो छ ।’ जिल्लामा १ हजार सिलिन्डर आवश्यक परेको र अहिले ६ सयमात्र उपलब्ध भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । यसबाहेक सिलिन्डर खोज्न रातदिन लागे पनि पाउन कठिन भइरहेको उनले बताए ।

घोराहीको गोग्लीमा एउटा अक्सिजन उद्योग छ । त्यसको उत्पादन क्षमता दिनमा बढीमा १ सय १० सिलिन्डरमात्र छ । यहाँ खपत हुने बाँकी अक्सिजन सिलिन्डर उद्योगले पनि नेपालगन्जबाट मगाउने गरेको जनायो । नियमित विद्युत् आपूर्ति नहुँदा र उद्योगको क्षमता ठूलो नभएका कारण एकैपटक ठूलो माग पूर्ति गर्न कठिन भएको उद्योग सञ्चालक टोपाराम पौडेलले बताए । प्रदेशका विभिन्न जिल्लामा अहिले अक्सिजनसहितका कोरोना अस्पताल र आइसोलेसन सञ्चालन गर्ने होड छ ।

स्वास्थ्यकर्मीका अनुसार त्यस्ता आइसोलेसनमा पनि अक्सिजन खपत बढेको छ । प्रदेशमा बिहीबार मध्याह्नसम्म १३ हजार ८ सय ३५ सक्रिय संक्रमित रहेका छन् । ती अधिकांश घरमै आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । निर्देशनालयका अनुसार प्रदेशका १२ वटै जिल्लामा संक्रमण दर ह्वात्तै बढेको छ । सबै जिल्ला अस्पताल कोरोना संक्रमितले भरिएका छन् । ती अस्पतालका लागि अक्सिजनको आपूर्ति बाँके र रूपन्देहीबाट हुने गरेको छ । अहिले अस्पतालमा बेड नपाउने भएकाले धेरै संक्रमितले घरमै अक्सिजन जोहो गरेर राखेका छन् ।

बाँकेमा दैनिक ५ सय हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन् । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज शिक्षण अस्पताललाई कोभिड अस्पताल बनाइएको छ । दुवै अस्पतालमा बेड र अक्सिजन अभाव देखाउँदै बिरामी फर्काउने गरिएको छ । भेरीमा बेडको अभाव छ । नेपालगन्ज शिक्षण अस्पतालले बेड थप गरेर सेवा दिने जनाए पनि अक्सिजन अभावमा सम्भव नभएको जनाएको छ । शिक्षण अस्पताल सञ्चालक लर्ड बुद्ध एजुकेस्नल एकेडेमी लिमिटेलले बुधबार प्रेस विज्ञप्ति जारी गरेर अक्सिजनको अभावका कारण थप नयाँ बिरामी भर्ना गर्न अस्पताल असमर्थ रहेको जनाएको छ । शिक्षण अस्पतालले ३ सय बेडको कोभिड अस्पताल बनाउने जनाएको थियो । त्यसका लागि बेड तयार गरियो । अहिले अक्सिजनको अभाव जनाएर बेड सञ्चालन गरिएको छैन ।

शिक्षण अस्पतालमा १८ वटा ठूला सिलिन्डर बराबर क्षमता भएको लिक्विड ट्यांकी छ । त्यसले भर्ना भएका १ सय २७ जना बिरामीलाई पुगेको शिक्षण अस्पतालका प्रमुख सुरेशकुमार कनौडियाले बताए । बाँकेका कोरोना फोकल फर्सन तेज वलीले भारतबाट अक्सिजन ल्याउन पहल नगरेसम्म बिरामी मर्कामा परिरहने बताए । उत्पादन भएको अक्सिजन अस्पतालदेखि स्थानीय गहमा खोलिएका आइसोलेसनदेखि होम आइसोलेसनसम्म पुग्छन् । बिरामीको संख्या बढे पनि अक्सिजन उत्पादन बढेन । यसले गर्दा अभाव खड्किएको वलीले सुनाए । डा. कनौडियाका अनुसार नेपालगन्जमा दुईवटा अक्सिजन प्लान्ट छन् । तिनले १ हजार १ सय सिलिन्डर अक्सिजन उत्पादन गर्छन् । जसमध्ये ५ सय सिलिन्डर भेरी अस्पतालले खपत गरिरहेको छ । बाँकी २ सय सिलिन्डर नेपालगन्ज मेडिकल कलेजले खपत गर्छ । यहाँ उत्पादन भएको अक्सिजन सुर्खेत, धनगढी, दाङ, बर्दिया, टीकापुर, हुम्ला र जुम्लासम्म पुर्‍याउने गरिएको छ ।

सिलिन्डर जुटाउनै धौधौ

रूपन्देहीमा कोरोना संक्रमितको उपचार गर्ने पाँच ठूला अस्पताल छन् । अस्पतालको मागअनुसार अक्सिजन आपूर्ति गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई हम्मेहम्मे परिरहेको छ । केन्द्रले अक्सिजन उत्पादक उद्योगलाई कोरोना उपचार गरिरहेका अस्पताललाई मात्र अक्सिजन दिन पत्राचार गरेको छ तैपनि व्यवस्थापन भइरहेको छैन । दिन प्रतिदिन समस्या चर्किरहेको छ । अस्पतालले अक्सिजन अभाव देखाउँदै बिरामी भर्ना नगरेर फर्काइरहेका छन् ।

‘अक्सिजनको कमी हुन नदिन प्रयास गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘सिलिन्डरको कमी देखिएकाले संकलन गर्न थालेका छौं ।’ तामाङका अनुसार लुम्बिनी प्रादेशिक, भीम, युनिभर्सल शिक्षण, देवदह मेकिडल कलेज र क्रिमसन अस्पतालका लागि दैनिक १ हजार ६ सय ३० सिलिन्डर आवश्यक परिरहेको छ । ‘सबै अस्पतालसँग प्रयोगमा आउने सिलिन्डर ८ सय ४६ वटा मात्र छन्,’ उनले भने, ‘बाँकी सिलिन्डर कहाँबाट व्यवस्थापन गर्ने ? अक्सिजन प्रयोग हुने कारखानामा अनुगमन गरेर फेला परेका सिलिन्डर सम्बन्धित ग्यास प्लान्टमा पठाउन लगाएका छौं ।’ अक्सिजन बढी प्रयोग हुने रूपन्देहीका आठवटा स्टिल उद्योगमा अनुगमनका क्रममा ५ सय ८३ थान सिलिन्डर पत्ता लागेको उनले जनाए । तीमध्ये ४ सय सिलिन्डर भरी पाइएको र खाली सिलिन्डर तत्कालै सम्बन्धित प्लान्टमा पठाउन लगाइएको उनले बताए ।

जिल्लामा रूपन्देहीमा शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमाले अक्सिजन उत्पादन गर्ने गर्छन् । जसमध्ये सबैभन्दा धेरै शंकर अक्सिजनको दैनिक साढे ५ सयदेखि ६ सिलिन्डर र अन्य दुईले ५ सय ७६ सिलिन्डर अक्सिजन उत्पादन गर्ने गर्छन् । शंकर अक्सिजन ग्यासका बजार प्रबन्धक अभिनाश रेग्मीले स्थानीय प्रशासनले मेडिकलबाहेक अन्य व्यावसायिक उद्योगमा अक्सिजन नदिन निर्देशन दिएपछि सम्पूर्ण उत्पादन स्वास्थ्य क्षेत्रमै दिने गरिएको बताए । ‘बारम्बार विद्युत् आपूर्तिमा ट्रिपिङ र अवरुद्ध हुँदा जेनेरेटर नभएका प्लान्टबाट उत्पादन बन्द हुने गर्छ,’ रेग्मीले भने, ‘कुनै पनि बेला प्लान्ट वा मेसिनमा समस्या आउनेलगायत प्राविधिक समस्या आएमा अक्सिजन आपूर्ति प्रभावित हुन सक्छ ।’

शंकरबाहेक अन्य दुई अक्सिजन प्लान्टसँग जेनेरेटर वा विद्युत्को विकल्पमा अन्य व्यवस्था नभएकाले विद्युत् आपूर्तिमा अवरोध हुनासाथ उत्पादन बन्द हुनाले समस्या हुने गरेको छ । एक मिनेट विद्युत् आपूर्ति बन्द हुँदा उत्पादनको सामान्य अवस्थामा फर्किन प्लान्टलाई १५ मिनेटभन्दा धेरै समय लाग्ने यस विषयका जानकारहरू बताउँछन् ।

प्रकाशित : वैशाख २४, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?