कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

दुर्गाप्रसादमाथि फर्जी जाहेरी दिइएको दाबी

पर्वत पोर्तेल

कोलकाता — ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइरहेका इलामका दीपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिनालाई हत्याको झूटो आरोप लगाएर फसाइएको आफन्तले दाबी गरेका छन् ।

दुर्गाप्रसादमाथि फर्जी जाहेरी दिइएको दाबी

दुर्गाप्रसादका भाइ (काकाको छोरा) प्रकाशचन्द्र तिम्सिनाले उनलाई झूटो मुद्दामा फसाएर जेल पठाइएको खुलासा भएको बताए । सन् १९८० मे ११ मा दुर्गाप्रसादविरुद्ध दार्जिलिङ पुलिस कार्यालयमा जाहेरी दर्ता भएको थियो ।

दार्जिलिङका नैने घले नाम गरेका व्यक्तिले आफ्नी श्रीमतीको हत्यामा दाइलाई फसाएको प्रकाशचन्द्रले दाबी गरे । ‘घलेले प्रहरीलाई दिएको जाहेरी फर्जी हो भन्ने कुरामा कुनै शंका छैन,’ प्रकाशचन्द्रले भने, ‘मनगढन्ते आरोप लगाएर फसाइएको देखिन्छ ।’

जाहेरीमा घलेले दाउरा खोज्न जंगल गएकी श्रीमती जनु गुरुङलाई दुर्गाप्रसादले निर्ममतापूर्वक हत्या गरेको उल्लेख गरेका छन् । ‘जंगलमा नांगो, टाउको छिनेको, हात काटिएको अवस्थामा शव भेटियो । हत्यामा इलामबाट आएको नेपाली केटाको संलग्नता छ,’ जाहेरीमा भनिएको छ ।

४० वर्षअघि दुर्गाप्रसादविरुद्ध दार्जिलिङ पुलिसमा दिइएको जाहेरी । तस्बिर सौजन्य : कुमार बस्नेत

प्रकाशचन्द्रका अनुसार मुद्दा दर्तापछि पीडक पक्ष सम्पर्कविहीन छ । ‘यो केसको फलोअपमा पीडक पक्ष कहिल्यै पुगेको छैन, तसर्थ यो फर्जी जाहेरी थियो भन्ने हाम्रो दाबी हो,’ उनले भने । २०१७ साउनमा जन्मेका दुर्गाप्रसाद २०३७ माघमा परिवारलाई खबरै नगरी दार्जिलिङ पुगेका थिए ।

कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होममा राखिएका दाइलाई गत महिना भेट्न जाँदा प्रकाशचन्द्रलाई जेलरले दुर्गाप्रसादको कालो डायरी देखाए । डायरीमा दुर्गाप्रसादले लेखेका छन्, ‘रक्सी खाएर मातेका पुलिसले खुकुरी देखाउँदै मलाई कुटे, म निर्दोष छु आमा मलाई बचाउनू ।’ दुर्गाप्रसादलाई जेलमा रहँदा चरम मानसिक र शारीरिक यातना दिइएको परिवारको आरोप छ । उनलाई दार्जिलिङ, आलिपुरद्वार जेल हुँदै सन् २००५ मा दमदम सेन्ट्रल पुर्‍याइएको थियो ।

कोलकाता उच्च अदालतले बुधबार छाड्ने आदेश दिएपछि उनलाई लिन प्रकाशचन्द्र बिहीबार त्यहाँ पुगेका छन् । शुक्रबार अदालती प्रक्रिया पूरा गरेर उनलाई भाइको जिम्मा लगाइनेछ ।

सम्बन्धित समाचार

दुर्गाप्रसाद घर फर्किने भएपछि आमाको खुसी

४० वर्षदेखि भारतीय जेलमा रहेका नेपाली छाड्न अदालतको आदेश

प्रकाशित : चैत्र ६, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?