कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

४० वर्षदेखि भारतीय जेलमा रहेका नेपाली छाड्न अदालतको आदेश

पर्वत पोर्तेल

काँकडभिट्टा — करिब ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइरहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई कोलकाताको उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।  

४० वर्षदेखि भारतीय जेलमा रहेका नेपाली छाड्न अदालतको आदेश

अधिवक्ता हिरक सिन्हाले अदालतले बुधबार साँझ उनलाई ‘तत्काल छाड्न’ फैसला गरेको जनाए । ‘अदालतले उनको दिमागी हालतलाई मध्यनजर गर्दै छाड्न आदेश दिएको हो’, सिन्हाले फोनमा भने,‘तर, अरु केही कानुनी प्रक्रिया बाँकी रहेकाले ६, ६ महिनामा तारेख भने धाउनु पर्ने छ ।’

उनी सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेका थिए । उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पुर्‍याइएको थियो । उनीसँग १० वर्ष जेल बसेका राधेश्याम दास भन्ने व्यक्तिले सञ्‍चारमाध्यमहरुमा खबर गरेपछि यो खुलासा भएको थियो । समाचार सार्वजनिकलगत्तै मानवअधिकारीवादी तथा सामाजिक अभियन्ताहरुले जेलमा हुने गरेका चरम लापर्बाही र प्रशासनिक निष्क्रियताको तीव्र विरोध जनाएका थिए । अधिवक्ता सिन्हाले जेल प्रशासनको लापर्बाहीका कारण लामो समयदेखि कैदीको सुनुवाइ हुन नसकेको र उनले न्याय नभएको जनाए । ‘यो प्रहरी र जेल प्रशासनको चरम लापर्बाही हो यस किसिमको लापर्बाहीप्रति हामी खेद व्यक्त गर्छौं ।’

कोलकाता अदालतले उनलाई सोमबारै छाड्ने जनाएको थियो । तर, सुनुवाइ गरे पनि अदालतले ‘प्राविधिक’ कारण देखाएर फैसला गर्न ढिलाई गरेकाले दीपक जैसी नामले चिनिने तिम्सिनाको मुद्दा बुधबारसम्म सरेको थियो । कोलकातास्थित दमदम सेन्ट्रल जेलमा रहेका ६० वर्षीय जैसीसँग परिवारका सदस्यले एक महिनाअघि भेटेर आफन्त भएको पुष्टि गरेका थिए । कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार नामक गैरसरकारी संस्थाको पहलमा परिवारसँग उनको भेट भएको बताइएको थियो ।

विश्व सेवा विस्तार संस्थाका कर्मचारी इन्द्र बस्नेतले भतिज गोपाल तिम्सिनासँग जैसीको भेट गराइएको जनाए । उनले भने,‘४० वर्षपछि दाजु इ भेटपछि रुवावासी भएको थियो ।’

इलामको एकतप्पाबाट २०३७ सालतिर कामको खोजीमा उनी दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा त्यो समय गोर्खाल्यान्ड आन्दोलन जारी थियो । पश्चिम बंगाल सरकारले उनलाई हत्या अभियोगमा जेल पठाएको थियो । उनी पक्राउ पर्दा करिब २० वर्षका थिए ।

जेल भित्रको चरम यातनाका कारण उनी मानसिक र शारीरिक रुपमा असक्त रहेको विश्व सेवा विस्तार नाम संस्थाले जनाएको छ । उनी छुटेपछि कोलकातास्थित दूतावास, विश्व सेवा विस्तारको पहलमा परिवारको जिम्मा लगाइने तयारी भइरहेको छ । ‘लामो समयदेखि भारतीय जेलमा नारकिय जीवन बिताएका जैसीलाई अदालतको फैसला पछि परिवारको जम्मा लगाउने छौं’, विश्व सेवा विस्तार संस्थाकी काँकडभिट्टा शाखा प्रमुख प्रमिला दुरालले जनाइन् ।

प्रकाशित : चैत्र ४, २०७७ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?