भारतीय रक्षामन्त्री सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय रक्षामन्त्री सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

सुरेशराज न्यौपाने

नयाँदिल्ली — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन् ।

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित छन् । भेट बिहान साढे नौ बजेदेखि सुरु भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षामन्त्री सिंहले बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेखेका छन्, 'भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।'

भारतीय रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए । त्यसपछि नै नेपाल-भारत सम्बन्धमा तिक्तता देखिएको थियो । त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो ।

साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो । नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको थियो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।

सडक उद्घाटन गरेको केही समयपछि रक्षामन्त्री सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भएको बताएका थिए । असार १ गते उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला–लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएको बताएका थिए । साथै उनले वार्ताबाटै नेपाल-भारतबीच देखिएका सीमा विवाद हल गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार ज्ञवाली स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास भइरहेको छ । मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमान बाट स्वदेश फर्कने कार्यक्रम छ ।

शनिबार बिहान ज्ञवालीले नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत एतिहासिक प्रमाण का आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।

त्यस्तै शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत स‌ंयुक्त आयोगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गरेका थिए ।

सम्बन्धित समाचार

सीमा विषय नेपालले उठायो, छलफल भएन

प्रकाशित : माघ ३, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्

सर्वज्ञानी, अर्थात् सर्व–अज्ञानी

‘तपाईं नै भन्नोस्, अरूले गर्नुपर्ने सबै कुरा जान्ने, आफूले गर्नुपर्नेचाहिं नजान्नेलाई म के भनौं ?’
शरच्चन्द्र वस्ती

चिया सुरुप्प पार्दै हारुकी नाकामुराले भन्यो, ‘नेपालीहरू सर्वज्ञानी हुँदा रहेछन् । कति धेरै कुरा जानेका, बुझेका, थाहा पाएका !’

एक महीना नेपाल बसेर जापान फर्कन लागेको हारुकीले यसो भन्दा रामदाइ फुलेल भए । ऊ भनिरहेको थियो, ‘हामीलाई त आफ्नो काम बाहेक केही थाहा हुँदैन । हेर्नोस् न, म ३२ वर्षदेखि चश्मा कारखानामा काम गरिरहेको छु । अब त म्यानेजर नै भइसकें । तर चश्मा बनाउन बाहेक अरू केही आउँदैन । अरू क्षेत्रमा मानिसले कसरी काम गर्छन्, थाहै छैन ।’

ऊ भन्दै गयो, ‘नेपालमा त सामान्य मानिसलाई पनि अरूले गर्नुपर्ने सारा कुरा थाहा हुँदो रहेछ । कसले के गरेन र के गर्नुपर्छ भनेर जसले पनि ढुक्कै भन्न सक्तो रहेछ । कति प्रतिभाशाली मान्छेहरू !’

हेर्दा ४० वर्षको जस्तो लाग्ने तर ५८ वर्षको हारुकी नाकामुरा यति भनेर मुसुक्क हाँस्यो । र थप्यो, ‘नेपालीले थाहा नपाएको कुरा चाहिं एउटा मात्र रहेछ ।’

‘के कुरा ?’ रामदाइले हतारहतार सोधे ।

‘आफूले के गर्नुपर्छ भन्ने कुरा,’ हारुकीले भन्यो र फेरि मुसुक्क हाँस्यो । अलिकति दाँत पनि देखाएर ।

हारुकीसँग रामदाइको पुरानो चिनजान थियो, १५ वर्ष अघि जापानमा काम गर्न जाँदादेखिको । हामी ठमेलको एउटा रेस्टुराँमा चिया खाइरहेका थियौं । ‘नेपालीहरू तपाईंलाई कस्ता लागे ?’ भनेर रामदाइले सोधेपछि उसले यो प्रसंग उठाएको थियो । झन्डै एक वर्ष अघिको कुरा हो यो, जुनवेला कोरोना शुरू भइसकेको थिएन । ठमेल गुलजार थियो ।

उसको कुराले रामदाइ खिस्रिक्क परे । तर मलाई रमाइलो लाग्यो । मैले उसलाई कोट्याएँ, ‘भोलि त जापान फर्किहाल्नुहुन्छ । आज अलिक विस्तारपूर्वक बताउनोस् न, तपाईंलाई किन यस्तो लाग्यो ?’

हारुकी नाकामुराले अर्को कप चिया मगायो र भन्न थाल्यो :

नेपाल आइपुगेको भोलिपल्ट म गैंडा हेर्न भनेर चितवन गएँ । म बसेको होटल ठिकठिकै खालको थियो । राति राम्ररी सुत्न सकिनँ, किन भने कोठामा साङ्ला घुमिरहेका थिए । भोलिपल्ट म्यानेजरलाई भेट्न गएको, ऊ फोनमा कसैसँग ठूलठूलो स्वरमा भन्दैथियो, ‘पर्यटन मन्त्रीले कुरै बुझ्या छैन । निकुञ्ज भित्रै होटल राख्न दिए पो पर्यटक आउँछन् । नत्र पर्यटन वर्ष कसरी सफल हुन्छ ?’

मैले साङ्लाको कुरा गरेपछि उसले आफ्नै अफिसमा पनि साङ्लाले दुःख दिएको बतायो । अनि कामदारलाई बोलाएर साङ्ला मार्न अह्रायो र ढुकुटी खेल्न पुग्नु छ भन्दै मोटरसाइकल चढेर हुइँकियो । कामदार चाहिं एउटा कुचो लिएर कोठामा पस्यो र साङ्ला खोज्न थाल्यो । तर, भनेका वेला साङ्ला किन बाहिर निस्कन्थे ? मैले ‘साङ्ला मार्ने औषधि छैन ? त्यो हाल न’ भन्दा कामदारले सुनायो, ‘नचाहिने खर्च किन गर्ने भनेर म्यानेजरले दुई महीनादेखि औषधि किन्न दिएको छैन ।’ त्यो रात पनि निद्रा नपर्ने छाँट देखेपछि म अलिक बढी पैसा तिरेर अर्को होटलमा सरें ।

अर्को दिन गाउँतिर घुम्न निस्केको, एउटा चिया पसलमा पुगें । मानिसहरू चिया खाँदै गफ गरिरहेका थिए । एउटा मानिस मन्दिरमा ढुंगा छाप्ता वडा अध्यक्षले भ्रष्टाचार गर्‍यो भनेर चर्को स्वरमा कराउँदै थियो । गाउँको कुनै बाटो पीच हुँदै रहेछ, चाहिने जति गिट्टी हालेन भनेर ठेकेदारलाई गाली गर्दैथियो ।

जापानमा १५ वर्षदेखि नेपालीसँग हिमचिम भएकाले म नेपाली बुझ्थें र अलिअलि बोल्न पनि आउँथ्यो । त्यो मानिस ‘पार्टीको मीटिङ छ’ भन्दै हिंडेपछि मैले सोधें, ‘को हो त्यो ?’ एक जनाले भन्यो, ‘स्कूलको शिक्षक हो, तर पढाउन कहिल्यै जाँदैन । प्रमाणपत्र पनि नकली हो । सत्तारूढ पार्टीको गाउँ समितिको सचिव छ, त्यसैले प्रधान अध्यापकलाई धम्क्याएर जागीर खाइरहेको छ ।’

अर्काले थप्यो, ‘अहिले वडा अध्यक्ष र ठेकेदारलाई गाली गर्दै थियो नि, सब हामीलाई देखाउने नाटक हो । बेलुका भट्टीमा तिनीहरूसँगै हुन्छ ।’

‘तपाईं चितवन तीन दिन बस्नुभो, होइन ?’ रामदाइले सोधे । ‘हो’, हारुकीले भन्यो :

त्यसपछि म पोखरा गएँ । घुम्दै जाँदा एउटा थोत्रो घरमा बालगृहको साइनबोर्ड देखें । के रहेछ भनेर गेटबाट च्याएको, मैला लुगा लगाएका चार जना ख्याउटे बच्चा एउटा चमचमाउँदो कार सफा गर्दे रहेछन् । तिनलाई हतारहतार भित्र पठाएर, महँगा लुगामा सजिएकी एउटी महिलाले मलाई अफिस–कोठामा लगिन् र चन्दा माग्न थालिन् । उनी भन्दै थिइन्, ‘यहाँ कसैमा नैतिकता छैन । व्यापारीहरू कालोबजार गर्छन् । नगर प्रमुख घुस्याहा छ । सांसदहरू भ्रष्ट छन् । अनाथ केटाकेटीलाई कसैले वास्ता गर्दैन ।’

जसैतसै त्यहाँबाट उम्केर बाहिर आएको, सडकपारिको पसलेले भन्यो, ‘तपाईं पनि फन्दामा पर्नुभो कि क्या हो ? यिनको त धन्दा नै यही हो । दुई जना केटाकेटी राम्ररी खान नपाएर मरिसके, यिनले चाहिं अनाथ केटाकेटीकै नाममा पैसा उठाएर गाडी किनेकी छन्, घर बनाएकी छन् ।’

भोलिपल्ट म बसेको होटलमा बुद्धिजीवीहरूको कार्यक्रम थियो । एउटा प्रोफेसर भन्दै थियो, ‘शिक्षामन्त्रीले शिक्षा नीति नै बुझेको छैन । परराष्ट्र मन्त्रीको हालत त्यस्तै छ । प्रधानमन्त्रीलाई केही थाहा छैन । हामीजस्ताको मूल्यांकन छैन । यस्तो अवस्थामा देश कसरी अघि बढ्छ ?’

पछाडिको लहरमा बसेको एक जनाले मलाई भन्यो, ‘यिनले नयाँ किताब नपढेको २० वर्ष भयो । अनुसन्धानको त कुरै छाड्नोस्, आजसम्म एउटा लेख पनि लेखेका छैनन् । कक्षा कोठामा नछिरेको १२ वर्ष नाघिसक्यो । तैपनि बुद्धिजीवी कहलाएका छन् ।’

‘पढ्न लेख्न मात्र छोडेका हुन्, अरू त सबै थोक गरिराखेकै छन् नि’, अर्काले खुलासा गर्‍यो, ‘चार पटक राजनीतिक नियुक्ति पाइसके, फेरि कोशिश गर्दैछन् ।’

यसैबीच मलाई रुघा लाग्यो । डाक्टरलाई देखाऊँ न त भनेर गएको, खतरा मोल्न हुँदैन भनेर भर्ना गरिहाल्यो । केही नगरे पनि एक हप्तामा निको हुन्थ्यो, पाँच दिन सिटामोल ख्वाएर राख्यो र तीन लाखको बिल दियो । धन्न हेल्थ इन्स्योरेन्स गरेको थिएँ र मैले पैसा तिर्नुपरेन । नर्स भन्थिन्, ‘महँगो भयो नभन्नुहोला । यसमा एक लाख त डाक्टरकै कमीशन हो ।’

‘त्यसो भए पोखरामा निकै दिन पो अलमलिनुभएछ,’ मैले सोधें, ‘त्यहाँबाट कता जानुभो नि ?’

‘सीधै काठमाडौं आएँ,’ हारुकीले भन्यो :

यहाँ आएपछि त झन् जिल्लै परें । कस्तो पारदर्शी राजनीति रहेछ तपाईंहरूको १ एउटा नेता बीच सडकमा उभिएर अर्को नेतालाई उसको कर्तव्य सम्झाउँदै थियो, ‘मैले जे भन्छु त्यो तपाईंले मान्नुपर्छ । तर मान्नुभएन । त्यसैले तपाईं अराजक ।’

अर्को नेता जवाफ फर्काउँदै थियो, ‘मैले जे भन्छु त्यो चाहिं तपाईंले मान्नुपर्ने हो । तर मान्नुभएन । त्यसैले तपाईं अनुशासनहीन ।’

‘तपाईं धोखेबाज, तपाईं चरित्रहीन, तपाईं पदलोलुप ।’

‘तपाईं डबल धोखेबाज, डबल चरित्रहीन, डबल पदलोलुप ।’

‘जहिले पनि कुर्सीको कुरा गर्नुहुन्छ । एकपल्ट पनि जनताको कुरा गर्नुभो तपाईंले ?’

‘कुर्सी भनेपछि मरिहत्ते गर्ने त तपाईं हो । तपाईंले चाहिं एकपल्ट पनि जनतालाई सम्झिनुभो ?’

नेताहरूले नै यति छर्लंगसँग एक–अर्कालाई चिनाइदिएपछि जनताले उनीहरूलाई नचिन्ने कुरै भएन । त्यही भएर होला, अनामनगरको एउटा कफी शपमा हिजो एक जना टेबुल ठोक्तैथियो, ‘नेताहरू सबै भ्रष्ट, घूसखोर र सिद्धान्तहीन हुन् । हामीले यिनीहरूलाई हटाउनुपर्छ ।’

अर्को थप्तै थियो, ‘यी अनैतिक, अरूका दलाल र राष्ट्रघाती हुन् । यिनीहरूलाई लखेट्नुपर्छ ।’

त्यो तमाशा हेरिरहेको एक जनाले मेरो कानमा खुसुक्क भन्यो, ‘तपाईंलाई थाहा छ ? एउटा घूस खाँदाखाँदै पक्राउ परेर छ महीना अघि जागीर खोसिएको मान्छे हो, अर्को अमेरिका जान भनेर डीभी भरेर बस्या छ । यस्ताले भ्रष्टाचार र राष्ट्रघातको विरोध गर्न थालेपछि के होला ?’

यसैबीच अर्काले उनीहरूलाई हकार्‍यो, ‘चूप लाग । भोलि चुनाव भयो भने फेरि यिनै नेतालाई भोट हाल्छौ । आज बढ्ता गफ दिने ? गर्नुपर्ने काम कहिले पो गर्‍या छौ र !’

सारा कथा सुनाइसकेपछि हारुकी नाकामुराले भन्यो, ‘अब तपाईंहरू नै भन्नोस्, अरूले गर्नुपर्ने सबै कुरा जान्ने, आफूले गर्नुपर्ने चाहिं नजान्नेलाई म के भनौं, सर्वज्ञानी कि सर्व–अज्ञानी ?’

रामदाइ बोले, ‘जान्नुपर्ने कुरा नजानेपछि अरू कुरा जति जाने पनि त्यसको के अर्थ भयो र ?’

मैले भनें, ‘त्यसो होइन । यसवेला दुवै शब्दको अर्थ हाम्रा लागि एउटै भएको छ । सर्वज्ञानी, अर्थात् सर्व–अज्ञानी ।’

हारुकीलाई घत लागेछ । ‘ठीक हो’ भन्दै ताली बजाउन थाल्यो ।

रामदाइ मतिर फर्के, ‘अनि यो महान गुण चाहिं नेताबाट जनतामा सरेको हो कि जनताबाट नेतामा ?’

मसँग जवाफ थिएन । प्रश्नलाई अनुत्तरित छोडेर हारुकीलाई सम्बोधन गरें, ‘अन्तिममा एउटा कुरा भन्नोस् न । नेपालीलाई ज्ञानी बनाउन के गर्ने ?’

‘उसको काम खोस्ने ।’

‘के भन्या त्यस्तो ? भएको काम पनि खोसेपछि उसले के गर्छ ?’

‘जे गरे पनि भो नि,’ हारुकी मुस्कुरायो, ‘आफ्नो काम पो उसलाई आउँदैन त । अरूको त जुन काम पनि आइहाल्छ नि ? कि कसो ?’

तीनै जना उठ्यौं, हात मिलायौं र सायोनारा भन्दै विदा भयौं ।

प्रकाशित : माघ ३, २०७७ १०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×