‘महाराज’ को ठगी धन्दा : यसपल्टको लक्ष्य २५ करोड - समाचार - कान्तिपुर समाचार

‘महाराज’ को ठगी धन्दा : यसपल्टको लक्ष्य २५ करोड 

रमेशकुमार पौडेल, सन्जु पौडेल, कृष्ण थापा, जनकराज सापकोटा

(चितवन), (रूपन्देही) र (नुवाकोट) — आफूलाई बालयोगेश्वर महाराज बताउँदै ठगी धन्दा चलाएका विजय भण्डारीबारे कान्तिपुरमा समाचार प्रकाशन भएपछि प्रमुख अतिथिको हैसियतमा महायज्ञको उद्घाटन गर्न चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा सहभागी नभई शनिबार काठमाडौं फर्किएका छन् ।

२५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेर आयोजना गरिएको एक महिने यज्ञका मुख्य वक्ता नै ठगी पृष्ठभूमिका भएको खबर सार्वजनिक भएपछि उपराष्ट्रपति विवादमा तानिने भन्दै फिर्ता भएका हुन् । उपराष्ट्रपति फिर्ता भएपछि निर्धारित समयभन्दा ढिलो गरी यज्ञ सुरु गरिएको थियो । चितवन जिल्ला समन्वय समितिकी उपाध्यक्ष मुनाकुमारी श्रेष्ठले महायज्ञ उद्घाटन गरिन् । उपाध्यक्ष श्रेष्ठले उपराष्ट्रपति आउने भनेर पत्राचार गरिएको कार्यक्रममा समिति प्रमुखले नभ्याउने भएपछि आफू पुगेको बताइन् ।

महाराजको आवरणमा ठगी

उनले अचम्म मान्दै सुनाइन्, ‘प्रतीक्षा गर्दागर्दा उपराष्ट्रपति नआएपछि मलाई नै प्रमुख अतिथि बनाइयो ।’ कार्यक्रममा बसुन्जेल महानगरका प्रतिनिधि र जिल्लास्थित पार्टीका प्रतिनिधि कोही नदेखेपछि के भयो, कसो भयो भन्ने आफूलाई खुल्दुली लागेको उनले सुनाइन् । उनले भनिन्, ‘मैले म प्रमुख अतिथि बन्नका लागि आएकै हैन भनें तर उद्घोषकले मलाई नै प्रमुख अतिथि भनेर नाम घोषणा गरिहाल्नुभयो । भएको यही हो ।’


उद्घाटन कार्यक्रममा बालयोगेश्वर महाराज बताउने विजयले ऐतिहासिक कोटीहोम महायज्ञलाई नजरअन्दाज गरेर, कमजोर सम्झेर असफल पार्ने प्रयासलाई निर्मूल पारिने बताए । उद्घाटन भाषणको अधिकांश समय उनले सञ्चारमाध्यममा आफ्नाबारेमा आएका समाचारको घुमाउरो भाषामा खण्डन गर्दै त्यसलाई धर्ममाथिको प्रहारका रूपमा अर्थ्याए ।


उनले चितवन आएका उपराष्ट्रपति किन उद्घाटन नगरी फर्किए भन्नेबारे महायज्ञ समारोह समापनका बेला प्रस्ट पार्ने र विज्ञप्ति निकाल्ने पनि बताए । ‘कोटीहोम महायज्ञलाई असर पार्ने प्रयास जसले गर्छ, त्यसको परिणाम भगवान्ले देख्नुहुनेछ, हामीले केही गर्नुपर्दैन,’ उनले भने, ‘बाटामा हिँडदै गर्दा धेरै कुकुर भुक्ने गर्छन् । प्रत्येक कुकुरलाई हान्दै गयौं भने पन्छाउँदै हिँड्दा वास्तविक गन्तव्यमा पुग्न सकिँदैन । तसर्थ हामी आफ्नो यात्रा गरिराख्छौं । हाम्रो महायज्ञ चलिराख्छ ।’


आफूकेन्द्रित समाचारहरूलाई संकेत गर्दै उनले धर्ममाथिको प्रहारका रूपमा लिएर खबरदारी गर्ने बताए । उनले चितवनमा अर्को काण्ड नदोहरियोस् भनेर भगवान्सँग प्रार्थना गरेको बताए । ‘यसअघि चितवनमा धेरै काण्ड भए, तिनले कस्ता परिणाम ल्याए ? फेरि अर्को काण्ड भए हामी भ्रममा पर्ने छौं । धर्मका लागि ठूलो हानि हुनेछ,’ उनको भनाइ थियो । कान्तिपुरसँग कुरा गर्दै यज्ञ आयोजक समितिका प्रवक्ता दिलीप न्यौपानेले ‘महाराज’ विरुद्ध कसले र किन समाचार लेखाएको हो भन्नेबारे आफूलाई राम्रोसँग थाहा भएको बताए । उनले पुरानो घटनाको विषयमा किन समाचार लेखिएको भन्ने प्रश्न गर्दै यज्ञ असफल पार्ने षड्यन्त्र भएको दाबी गरे । यस्तो षड्यन्त्र कसरी र कसले गरायो भन्नेबारे उनले बताउन मानेनन् ।


भरतपुर महानगरपालिका–२३ मा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले शनिबारदेखि नारायणगढस्थित नारायणी नदी किनारमा एक महिने महायज्ञ आयोजना गरेको हो । ऐतिहासिक १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरसत (१०८) श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ नाम दिइएको महायज्ञका प्रवक्ता दिलीप न्यौपानेका अनुसार महायज्ञबाट २५ करोड रुपैयाँ उठाउने योजना छ । उनले भने, ‘भरतपुर–२३ को पशुपतिनाथ मन्दिरलाई बृहत् धामका रूपमा विकास गर्ने, चितवनमै पहिलो आयुर्वेदिक शिक्षालय खोल्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्न यज्ञ आयोजना भएको हो ।’


नुवाकोट र रसुवाबाट लाखौं ठगी

रसुवा र नुवाकोटको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा २०७० चैत २१–२९ मा श्रीमद्भागवत स्थल नवाह ज्ञान महायज्ञ लगाइएको थियो । सोही यज्ञको मुख्य वक्ता बनेर नुवाकोट पुगेका बेला विजयले आफूलाई विष्णु प्रपन्नाचार्य महाराजको नामले चिनाउँथे । त्यतिबेला ‘महाराज’ ले अमेरिकामा हुने गीता प्रवचनका लागि मान्छे चाहिएको भन्दै नुवाकोटको बेत्रावती र रसुवाको कालिकास्थानका आधा दर्जनभन्दा धेरैसँग एक लाखदेखि दस लाखसम्म रकम उठाएका थिए ।


‘महाराज’ गोसाइँकुण्ड पुगेका बेला बेत्रावतीका गणेश श्रेष्ठको ‘महाराज’ सँग चिनाजानी भयो । कान्तिपुरको सम्पर्कमा आएका गणेशले त्यही बेला ‘महाराज’ ले अमेरिका लैजाने प्रलोभन सुनाएपछि आफूले तीन लाख रुपैयाँ दिएको सुनाए । उनले त्यतिबेलै पासपोर्ट बनाए, ‘महाराज’ ले भनेअनुसार मेडिकल रिपोर्ट पनि तयार पारे तर भनिएअनुसार काम भएन । त्यसपछि उनी आफू ठगिएको निष्कर्षमा पुगे र ‘महाराज’ को खोजी सुरु गरे । ‘पछि पो थाहा पाएँ बेत्रावतीकै शशि डंगोल र सोमलाल लवट पनि उनीबाट ठगिएका रहेछन्,’ उनले भने ।


आफ्नो रकम फिर्ता लिनका निम्ति गणेशले काठमाडौं प्रहरीमा उजुरीसमेत दिएका थिए । उजुरी गर्दा पनि पैसा फिर्ता नपाएपछि उनले ‘महाराज’ को पिछा गरिरहेका थिए । उनले भने, ‘६ महिनाअघि पनि चितवन पुगेर पैसा फिर्ता माग्याथें ।’ उनका अनुसार लामो समय पछ्याएपछि ‘महाराज’ ले राजेन्द्र चालिसेमार्फत ५० हजार रुपैयाँ फिर्ता गरे । उनले भने, ‘अझै २ लाख ५० हजार उठाउन बाँकी छ ।’ कान्तिपुरसँग सम्पर्कमा आएका केही पीडितले घर सल्लाह नगरी ‘महाराज’ लाई रकम दिएका कारण आफ्नो नाम खुलाउन चाहेनन् । सम्पर्कमा आएका पीडितहरूले रसुवा र नुवाकोटबाट मात्रै ‘महाराज’ ले अमेरिकाको लोभ देखाएर ५० लाखभन्दा धेरै उठाएको बताए । रसुवा बेत्रावतीका शशि डंगोलले पनि महाराजले दिएको आश्वासनमा परेर सात लाख गुमाएको बताए । उनले कलंकीस्थित आश्रममै पुगेर आफूले सुरुमा दुई र पछि पाँच लाख नगद दिए पनि काम नभएपछि फिर्ता लिन पहल थालेको सुनाए ।


२०७१ भदौ १६ मा शशिसहित पाँच पीडितले सामूहिक रूपमा ‘महाराज’ विरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेका थिए, जसमा उनीहरूले २५ लाख रुपैयाँ ठगिएको उल्लेख गरेका थिए । डंगोलका अनुसार त्यतिबेला ‘महाराज’ विरुद्ध ३४ जना पीडितले मुद्दा दर्ता गरेका थिए । उनले काभ्रे, रामेछाप र पोखराका पीडितले लाखौं रुपैयाँ फसाएको बताए । ‘धर्मको आवरणमा हामी ठगियौं,’ उनले भने, ‘अरू कोही यसरी ठगीएर आपत्मा नपरून् ।’


कान्तिपुरसँग सम्पर्कमा आएका रेडियो त्रिशूलीका अध्यक्ष कपिलदेव खनालका अनुसार महायज्ञका बेला ‘महाराज’ को ठगी धन्दाबारे समाचार बजाइएपछि उनी विरोधमा उत्रिएका थिए । उनले सुनाए, ‘त्यतिबेला महाराजले समाचार रोक्न डेढ/दुई लाखसम्म दिने प्रलोभन देखाएका थिए ।’ उनका अनुसार ‘महाराज’ बाट रसुवा र नुवाकोटका दर्जन बढी ठगिएका छन् ।


महाराजको आवरणमा भइरहेको ठगी धन्दाको विषय चितवन पार्वतीपुरस्थित भानु माविमा आयोजित धान्याचलमा पनि नउठेको होइन । धान्याचल अवधिभर ‘महाराज’ भरतपुर–२१ का वडाध्यक्ष एवं कांग्रेसका जिल्ला कार्यसमिति सदस्य चित्रसेन अधिकारीको घरमै बसेका थिए । गत वर्ष पुसको कुरा सम्झिँदै अधिकारीले त्यतिबेला ‘महाराज’ लाई खोज्दै धादिङका दुई/तीन जना मान्छे घरमै आएको बताए । ती मान्छेले ‘महाराज’ सँग आफ्नो लेनदेनको विवाद रहेको बताएको उनलाई सम्झना छ । कान्तिपुरसँगको कुराकानीमा अधिकारीले त्यतिबेलाको समय सम्झँदै सुनाए, ‘विदेश लैजाने मामिलाको कुरा थियो । महाराजले मेरो बेइज्जत नगरिदिनुस्, म हिसाब मिलाउँछु भनेपछि उनीहरू फर्केका थिए । अरू कुरा मलाई थाहा भएन ।’

प्रकाशित : माघ १२, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

यी हुन् ललिता निवास प्रकरणमा कारबाही सिफारिसमा परेकाहरु

सीआईबीको ललिता निवास प्रतिवेदन
मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा तीन जना पूर्वसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

अख्तियारको प्रमुख आयुक्तबाट अवकाश पाएका तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात तथा भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारीमाथि सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न ब्युरोले सिफारिस गरेको हो । कारबाहीको सिफारिस गरिएका पूर्वसचिव पन्त खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारका मन्त्री हुन् भने अर्का पूर्वसचिव अधिकारी वरिष्ठ साहित्यकार पनि हुन् ।

ललिता निवासका तत्कालीन भोगाधिकारीहरू रुक्मशमशेर राणा तथा उनका दुई भतिजा हाटकशमशेर र हेमाद्रीशमशेर राणा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, भूमिसुधार विभाग, मालपोत र नापी कार्यालय, गुठी संस्थान र समरजंग कम्पनीका कर्मचारीमाथि पनि ब्युरोले थप अनुसन्धान गरी कारबाहीको सिफारिस गरेको छ ।

सरकारी जग्गा हडप्ने नियतसहित भूमाफियालाई सट्टाभर्ना र नक्कली मोही कायम गर्न मन्त्रालयबाट आएका राय र टिप्पणी मन्त्रिपरिषद् बैठकमा पठाउन तथा मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न लिखित निर्देशन लिखित दिएको आरोपमा तत्कालीन मुख्यसचिव एवं हाल चीनका निम्ति नेपाली राजदूत लीलामणि पौडेललाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ ।

मुख्यसचिवको भूमिका कार्यकारी नभए पनि सचिवबाट टिप्पणी उठाइएका राय तथा प्रस्ताव थप अध्ययन गरेर मन्त्रिपरिषद्मा पेस गर्न सक्ने अधिकार भए पनि पौडेलले त्यसो नगरेको ब्युरोको प्रतिवेदनमा उल्लेख छ ।

स्रोतका अनुसार ब्युरोले भूमाफियाले जग्गा हडप्नकै लागि खडा गरेको पशुपति टिकिन्छा गुठीका नाममा जग्गा लगेर नक्कली मोही कायम गर्ने निर्णय पूर्वमुख्यसचिव पौडेलले रोक्न सक्ने अवस्था हुँदाहुँदै नरोकेको उल्लेख गरेको छ ।

ब्युरोले करिब १० महिना लगाएर तयार पारेको ललिता निवास जग्गा हिनामिना प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेस गर्ने सरकारको तयारी छ । २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद्ले बालुवाटारको जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धान गर्न ब्युरोलाई जिम्मा दिएको थियो । सोही बैठकले जग्गा हिनामिनामा संलग्नमाथि भ्रष्टाचार मुद्दामा कारबाही गर्न आयोगलाई पत्राचार गरेको थियो । जग्गा हिनामिना गर्नेलाई भ्रष्टाचारबाहेक साविक मुलुकी ऐनको किर्ते र ठगी महलका दफा १ र २ तथा मुलुकी अपराध (संहिता) ऐन २०७४ को किर्ते र ठगीको कसुरमा कारबाही गर्न ब्युरोले सिफारिस गरेको हो । कारबाही सिफारिसमा परेका गुरुङ, ढकाल र सुवेदी भाटभटेनी डेभलपर्स प्रालिका साझेदार पनि हुन् । ललिता निवासको जग्गा उनीहरूले उक्त कम्पनीमार्फत पनि बैंकमा धितो राखेर कर्जा निकालेका थिए । ललिता निवासको जग्गा धितो राखेर विभिन्न व्यक्तिले २ अर्ब ३१ करोडभन्दा बढी रकम कर्जा लिएको पनि अनुसन्धानबाट खुलेको छ ।

स्रोतबाट प्राप्त विवरणअनुसार निर्वाचन आयोगका पूर्वआयुक्त तथा अवकाश प्राप्त सहसचिव सुधीरकुमार शाह, उनकी पत्नी उर्मिला शाह, पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापागाईंलाई पनि कसुरदार देखाइएको छ । यसैगरी काठमाडौंका तत्कालीन भूमिसुधार अधिकारी कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत (सहसचिव) द्वय टीकाराम घिमिरे र हरिकृष्ण तिमल्सिना, डिल्लीबजारका मालपोत अधिकृत हुपेन्द्रमणि केसी, नापी काार्यलय काठमाडौंका अधिकृत साविर हुसेनलाई पनि भ्रष्टाचार निवारण ऐनसहित किर्ते र ठगीमा मुद्दा चलाउन सिफारिस गरिएको छ । यसैगरी गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका नाममा रहेको जग्गा भूमाफियालाई दिने निर्णयमा संलग्न भएको आरोपमा उक्त कम्पनीका तत्कालीन अधिकृतहरू अर्जुनप्रसाद भण्डारी, चिरञ्जीवी अधिकारी, लोकहरि घिमिरे र रमेशकुमार पोखरेललाई पनि कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ । जग्गा हडप्न खडा गरिएका नक्कली मोहीहरूलाई पनि किर्ते र ठगीमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

उच्च प्रहरी स्रोतले कान्तिपुरसँग भन्यो, ‘तत्कालीन भोगाधिकारी रहेका राणा परिवार, राणा परिवारबाट जग्गा बकस पाउने पक्ष, त्यसपछि जग्गा हडप्न योजना बनाउने भूमाफिया/नक्कली मोही र जग्गा हडप्ने योजनामा कागजात तयार पार्ने कर्मचारी गरी चार तहसम्मलाई कारबाहीको सिफारिस गरिएको छ ।’ जग्गा हडप्न मन्त्रालयका सचिवदेखि मालपोत काार्यलयका खरिदारसम्मको संलग्नता देखिएको पनि प्रतिवेदनमा रहेको प्रहरी स्रोतले बतायो । ललिता निवासको जग्गा हिनामिना प्रकरणको छानबिन गर्न गठित शारदाप्रसाद त्रितालको समितिले पनि ब्युरोले औंल्याएका धेरैजसो व्यक्तिलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

२०२१ मंसिर १७ गते मन्त्रिपरिषद् बैठकले ललिताको जग्गा त्यसबेलाका भोगाधिकारीहरूलाई मुआब्जा दिएर राष्ट्रियकरण गरेको थियो । २०२१ सालमा तुलसी गिरीको मन्त्रिपरिषद्ले ललिता निवासको सबै सम्पत्ति राष्ट्रियकरण गरेको थियो । तत्कालीन वन, कृषि तथा भूमिसुधारमन्त्री खड््गबहादुर सिंहको प्रस्तावमा ६ वटा राणाकालीन भवन/संरचना राष्ट्रियकरण ललिता निवास पनि त्यसमा समेटिएको थियो । राष्ट्रियकरण गरिएकोबाहेक राजकाज मुद्दा लागेका तत्कालीन मन्त्री सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरका नाममा भएको करिब १२ रोपनी जग्गामात्रै जफत भएको थियो । तर २०४६ सालपछि बनेको सरकारले जफत भएको जग्गा फिर्ता दिने निर्णय गरेकोमा त्यसलाई अपव्याख्या गरेर भूमाफिया र तत्कालीन भोगाधिकारीको मिलेमतोमा सबै जग्गा व्यक्तिका नाममा लगिएको थियो ।

२०४७ भदौ ३ मा सरकारले जफत गरिएको जग्गामात्रै फिर्ता गर्ने भने पनि २०४९ कात्तिक २५ र पुस २३ को निर्णयले करिब १ सय १४ रोपनी जग्गा नै कञ्चनशमशेरकी पत्नी शैलजा राणा, कनकशमशेरकी पत्नी सुनीति राणा, कञ्चनका छोरा हेमन र हाटक तथा सुवर्णशमशेरका छोरा रुक्मशमशेर राणाका नाममा कायम गरिएको थियो । राणा परिवारले सरकारी जग्गा फिर्ता ल्याउन केहीलाई जग्गा नै बकस नै दिएका थिए । आफ्नो नाममा जग्गा ल्याएपछि उनीहरूले भूमाफियाद्वय ढकाल र सुवेदी तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई कागज मिलाएर बिक्री गरेका थिए । उक्त जग्गा गुरुङ, ढकाल र सुवेदीले प्लटिङ गरेर आफन्त, नातागोता, व्यापारिक घराना, गैरआवासीय नेपाली संघ (एनआरएन) नेतालगायत एक सय जनाभन्दा बढीलाई बिक्री गरिसकेका छन् ।


प्रकाशित : माघ १२, २०७६ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×