कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाराजको आवरणमा ठगी

अमेरिका लैजाने भन्दै करिब सय जनाबाट रकम असुली 
अदालतको आदेशबाट छुटेपछि ‘विष्णु प्रपन्नाचार्यजी महाराज’ को नाम फेरेर ‘स्वामी बालयोगेश्वर’
संकलन हुने रकमको प्रतिशत नै तोकेर पुराण र महायज्ञ
जनकराज सापकोटा, रमेशकुमार पौडेल, घनश्याम गौतम

(काठमाडौं), (चितवन) र (गुल्मी) — उपराष्ट्र्रपति नन्दबहादुर पुन शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी– विजय भण्डारी । उपराष्ट्रपति शनिबारदेखि नारायणी नदी किनारमा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’को उद्घाटन गर्न चितवन पुगेका हुन् । 

आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीले धार्मिक आवरणमा आफ्नो ठगी र जालझेलको विगत लुकाउँदै आएको कान्तिपुरले फेला पारेको छ । कान्तिपुरकै सहप्रकाशन नेपाल सप्ताहिकले विजयको ठगी धन्दाबारे ‘महाठग महाराज’ शीर्षकमा २४ भदौ २०६९ मा खोज समाचार प्रकाशन गरेको थियो । त्यसताका उनले आफूलाई सार्वजनिक वृत्तमा श्री विष्णु प्रपन्नाचार्यजी महाराजको नाममा चिनाउँदै आएका थिए ।


२०६८ भदौ दोस्रो साता नवलपरासी घर भई बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका विद्यार्थी केशव भुसाल, गोकुल खनाल, बनारसस्थित मंगलागौरी संस्कृत महाविद्यालयमा पढ्ने गोविन्द आचार्यलगायत कैयन् उनलाई खोज्दै काठमाडौं आएका थिए । त्यतिबेला नेपालका चर्चित गुरु भन्दै बनारस पुगेर भण्डारीले आफूले अमेरिकामा हुने वर्ल्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन लगायत कार्यक्रममा नेपाल र भारतबाट १०८ जनालाई प्रवचन गर्न लैजान लागेको भन्दै करिब एक सय जना विद्यार्थीबाट जनही एक लाख रुपैयाँ उठाएर ठगी गरेका थिए ।


उनले अमेरिका जान आयोजक संस्थाको सदस्यतासहित कुल खर्च ५ लाख ५० हजार लाग्ने र सुरुमा पेस्कीबापत एक लाख रुपैयाँ दिनुपर्ने सर्त राखेर करोड रुपैयाँभन्दा धेरै उठाएका थिए । उनले पेस्की लिएकालाई विश्वप्रसिद्ध धार्मिक र सामाजिक संस्था वर्ल्ड वेलफेयर भागवत ट्रस्ट, इन्टरनेसनल एजुकेसनल कन्फरेन्स, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सिएसनेस (इस्कन) लगायत संस्थाहरू कार्यक्रमको आयोजक रहेको बताएका थिए । जबकि त्यतिबेलै इस्कनको नेपालस्थित कार्यालयले अमेरिकामा त्यस्तो कार्यक्रम नरहेको र कथित महाराजसँग संस्थाको कुनै सम्बन्ध नरहेको भन्दै आधिकारिक प्रतिक्रिया दिएको थियो ।


अमेरिकामा हुने धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै सयौं व्यक्तिसँग रकम उठाएपछि विवादमा तानिएका भण्डारी पीडितले खोजी गर्न थालेपछि सम्पर्कबाहिर रहँदै आएका थिए । केही पीडितलाई धम्क्याएर, केहीलाई प्रलोभनमा पारेर र केहीलाई आधा रकम दिएर उनले ठगी धन्दाको केही हिसाब मिलाएका थिए । त्यतिबेला कान्तिपुरको सम्पर्कमा आएकामध्ये उनीबाट ठगिनेहरूमा कलेजका शिक्षक, ज्योतिष परिषद् नेपालका पदाधिकारी, होटल व्यवसायीदेखि योगगुरुसम्म थिए । सोही प्रकरणमा ठगिएका तीन पीडितले अमेरिका लैजाने भन्दै चार लाख ठगेको भनेर वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि उनीसहित उनका तीनर सहयोगी अनुसन्धानमा तानिएका थिए । बुटवल उपमहानगरपालिका बस्दै आएका रमेश खनाल, काठमाडौंका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोगपत्र दायर गरेका थिए ।


विजय भण्डारीका सम्बन्धमा नेपाल साप्ताहिकमा २०६९ भदौ २४ मा प्रकाशित समाचार




धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका भण्डारीबारे नेपाल साप्ताहिकमा प्रकाशित भएलगत्तै २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले दसैं मनाएर घरबाट फर्कने क्रममा उनलाई पक्राउ गरेको थियो ।


उनीविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा र वैदेशिक रोजगार विभागमा छुट्टाछुट्टै उजुरी परेको थियो । पीडितलाई रकम नभएको चेक दिएर झुक्याएपछि बुटवल घर भएका गोकुल खनालले उनीविरुद्ध चेक बाउन्सको मुद्दा पनि दर्ता गराएका थिए ।


२०७० माघ दोस्रो साता न्यायाधिकरणले तीन लाख धरौटीमा उनलाई छोड्न आदेश दिएको थियो । लगत्तै उनले सार्वजनिक वृत्तमा आफ्नो नाम बदलेर ‘स्वामी बालयोगेश्वर महाराज’ प्रयोग गर्न थालेका थिए । न्यायाधिकरण कार्यालयले भण्डारीविरुद्धको आदेश कार्यान्वयन गर्नका निम्ति जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र पनि लेखेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्र सिंह खड्काले न्यायाधिकरणको कार्यालयबाट पत्र आएका बेला महाराज भनिने भण्डारी रिडीमा रुरु महायज्ञ लगाइरहेका थिए । एसपी खड्काले भने, ‘त्यतिबेला महायज्ञ बिथोलिएला भनेर हामीले तत्काल पक्राउ गरेनौं ।’ उनका अनुसार पछि बुझ्दा न्यायाधिकरणको आदेशविरुद्ध भण्डारी सर्वोच्च अदालत गइसकेको र सर्वोच्चको तारेखबाट उनी छुटेका रहेछन् भन्ने बुझियो ।


ठगी अभियोगमा गुल्मीमा पक्राउ परेकाविजय भण्डारीबारे नेपाल साप्ताहिकमा छापिएको समाचार


‘त्यतिबेला जिल्ला अदालतकै न्यायाधीशले पनि यसबारे बुझ्नुभएको थियो,’ उनले भने । त्यतिबेला भण्डारीबाट ठगिएका पीडितहरू अझै छन् । भण्डारीले अमेरिका लगिदिने भन्दै योग प्रशिक्षक चिन्तामणि गौतमसँग पनि ५० हजार उछिट्याएका थिए । गौतमसहित नौ जनाले समूहगत रूपमा अमेरिका जाने भन्दै लिखित कागज गरेरै ‘महाराज’लाई नौ लाख रुपैयाँ बुझाएका थिए । कान्तिपुरसँगको कुराकानीमा गौतमले धर्मको आवरणमा आफूलाई ठगिएको र फसेको रकम उठाउन केही दौडधुप गरे पनि पैसा नपाएको बताए । उनका फुपूका छोरा महाधन पौडेलले पनि ५० हजार नै फसाएका थिए । उनले भने, ‘कति दौडधुप गर्ने भनेर माया मारेजस्तै भयो ।’


ठगीको पुरानो परिचय बदल्नकै लागि उनले पछिल्ला वर्षमा आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउँदै आएको देखिन्छ । कान्तिपुरसँगको टेलिफोन कुराकानीमा ‘महाराज’ले आफ्नो पुरानो नाम विष्णु प्रपन्नाचार्य नै भए पनि पछि आफूले दीक्षा पाएपछि नाम बदलेको तर्क गरे । उनले भने, ‘श्रीमद्भागवत कथा वाचनमा लागेर दीक्षित भएपछि मेरो पद थपिएको हो ।’ नामको अघि यस्तो पदवी कसले दियो र किन उनलाई नाम फेर्नुपर्‍यो भन्नेबारे भने उनले

प्रस्ट बताएनन् ।


पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डनले धर्मको आवरण भिरेर आफूले आफैंलाई पदवी दिने परम्परा शास्त्रसम्मत नरहेको बताए । यस्तो अभ्यासले असली साधु र सन्तका नाममा वितृष्णा फैलाउने काम भएको उनले बताए । ‘स्वार्थरहित कर्मभन्दा बाहिर गएर धर्मका नाममा अनेकन गर्नाले कालान्तरमा धर्म र संस्कृतिप्रति नै आम मानिसमा वितृष्णा फैलाउँछ,’ टन्डनले भने ।


ठगीको लहरो

अमेरिका लैजाने भन्दै सयौंसँग अवैध रूपमा रकम उठाएपछि उनले २०६९ पछि कलंकीस्थित आश्रममा नियमित बस्न छोडेका थिए । २०६९ चैतमा उक्त आश्रममा पुग्दा उनले तत्कालीन राष्ट्रपति रामवरण यादवदेखि कांग्रेस सभापति सुशील कोइरालासँग बसेको तस्बिर टाँगेका थिए । राजनीतिक दलका उच्च नेताहरूसँगको तस्बिर भित्ताभरि टाँग्ने र त्यसैका आधारमा आफ्नो कनेक्सन देखाएर उनले ठगी धन्दा चलाएको देखिन्थ्यो ।


उनले एक समय आफूलाई नवलपरासीको कावासोतीस्थित राधाकृष्ण धामको पिठाधीशसमेत बताउँथे । स्थानीय नर्मदेश्वर शिवालय मन्दिरको व्यवस्थापन समितिलाई फकाएर आफूलाई पिठाधीश घोषणा गरेका थिए । तत्कालीन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ बस्ताकोटीले कान्तिपुरसँगको कुराकानीमा महाराजले अमेरिका लैजाने भन्दै ठगेको सूचना आएपछि आफूहरूले व्यवस्थापन समितिको बैठक डाकेर उनलाई पिठाधीशबाट निष्कासन गरेको बताए । उनले भने, ‘महाराजले आफूबारे बताएका धेरै कुरा फर्जी देखिए अनि हामीले बैठक गरेर निकाल्ने निर्णय गर्‍यौं ।’


पिठाधीशबाट निकालिए पनि भण्डारीले विभिन्न ठाउँमा यज्ञ, होम र धान्याचल कार्यक्रम सञ्चालन गर्दै आएका छन् । धार्मिक कार्यक्रम सञ्चालन गर्ने र दानबाट संकलित रकम प्रतिशतका आधारमा लिने भएका कारण पनि उनी बारम्बार विवादमा तानिएको देखिन्छ । गुल्मीको गुल्मी दरबार गाउँपालिका–४ रुन्खादह माविका पूर्वप्रधानाध्यापक ठाकुरप्रसाद शर्माले ‘महाराज महा कहलिएको ठग भएको’ बताए ।


२०७५ चैत २३–३० सम्म विद्यालयले आयोजना गरेको महायज्ञमा उठेको रकम एक्लैले कुम्ल्याएर हिँडेको भन्दै उनले महाराजका नाममा ठगी भइरहेको दाबी गरे । ‘सुरुमा ५० लाख मात्र नगद उठे आफूले कुनै रकम नलिने बताए । तर यज्ञ सकिएपछि जम्मा उठेको ५० लाखमध्ये २ लाख मात्र विद्यालयलाई दिएर ४८ लाख नगदै लिएर गए ।’ धर्म र यज्ञका नाममा ठगी भएको बताउँदै उनले महायज्ञमा बाँकी कबोल भएको १ करोड २८ लाख रकममध्ये धेरै रकम अहिलेसम्म पनि उठ्न नसकेको बताए ।

स्वघोषित महाराज भण्डारीको छवि गाउँलेमाझ पनि राम्रो छैन । गुल्मी नागरिक समाजका अध्यक्ष पदम पाण्डेले उनले विभिन्न विद्यालयमा महायज्ञ गर्दै हिँड्ने र उठेको नगद रकम विभिन्न बहानामा जबरजस्ती असुल्ने गरेको बताए । भने, ‘उनको ठगीको कुरा उठेपछि रिडीमा सञ्चालन गरेको धार्मिक महायज्ञ पनि घाटामा गएको थियो ।’


चितवन कनेक्सन !

२०७५ पुसमा चितवनको पार्वतीपुरस्थित भानु माविले आयोजना गरेको धनधान्याचल महायज्ञमा ‘महाराज’ मुख्य बाचक थिए । त्यतिबेला उनी हेलिकप्टर चढेर कार्यक्रम आयोजना स्थल पुगेका थिए । विद्यालय व्यवस्थपन समितिका अध्यक्ष दिलीप न्यौपानेका अनुसार ‘महाराज’ ले धान्याचल लगाउने प्रस्ताव ल्याएपछि विद्यालयको आर्थिक अवस्था सुधार हुने ठानेर स्विकारेको बताए । उनले त्यतिबेला ‘महाराज’ सहित ५० जनाको टोली कार्यक्रमभर बसेको उल्लेख गर्दै भने, ‘हामीले २५ लाख रुपैयाँ दक्षिणा दिएका थियौं ।’


विद्यालयका निम्ति रकम उठाएको भन्दै तिनै महाराजलाई अहिले महायज्ञको मुख्य वक्ता बनाइएको छ । चितवनमै पहिलो आयुर्वेदिक शिक्षालय खोल्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिका प्रवक्तासमेत रहेका न्यौपानेले बताए । उनका अनुसार ३० दिनसम्म चल्ने यो धार्मिक अनुष्ठान सफल पार्न २१ सय जनाको मूल समारोह समिति, १२१ जनाको पूर्ण कमिटी, ३३ जनाको कार्यसम्पादन समिति र ११ जनाको सचिवालय छ । आयोजक समितिले एक महिने यज्ञबाट २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ । प्रवक्ता न्यौपानेले यज्ञको उद्घाटनमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई ल्याउने काममा ‘महाराज’ समेत संलग्न भएको बताए । उनले भने, ‘महाराजको पनि उपराष्ट्रपतिसँग चिनजानी भएकाले कार्यक्रम उद्घाटनमा ल्याउन सफल भइयो ।’ यसअघि जस्तै यो महायज्ञबाट उठेको रकममध्ये कति प्रतिशत ‘महाराज’लाई दिने भन्ने चाहिँ तय भइनसकेको उनले बताए ।


आयोजक समितिका अनुसार महायज्ञमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापासहितका नेतासमेत विभिन्न दिनमा उपस्थित हुने तय भएको छ । ‘काठमाडौं पुगेरै सबै नेतालाई निम्ता दिएका छौं, उहाँहरू आउने पक्का भइसकेको छ,’ उनले भने ।


को हुन् ‘महाराजॅ ?

गुल्मी धुर्कोटबस्तु घर भएका भण्डारी जनयुद्धकालमा तत्कालीन माओवादीको भ्रातृसंगठन अखिल क्रान्तिकारीमा लागेका थिए । स्थानीयका अनुसार उनका बाबु मनिराम पनि त्यतिबेला माओवादीको एरिया कमिटी सचिव बनेका थिए ।


माओवादीमा आबद्ध भएको भन्दै प्रहरीले खोजी सूचीमा राखेपछि भण्डारीले स्थानीय हिमालय उच्च माविको आठ कक्षा पास गर्नेबित्तिकै आफन्तको सहयोगमा काठमाडौं आएर थानकोटस्थित अरबिन्दो योगा मन्दिर आश्रममा बसेर आश्रमकै सहयोगमा माउन्ट भ्याली स्कुलबाट एसएलसी पास गरेका थिए । उनीसँगै आश्रममा बसेका विद्यार्थीहरूका अनुसार आश्रममा रहेका बेला गाडीको टायर चोरेको आरोप प्रमाणित भएपछि उनी स्कुलबाट निकालिएका थिए । आश्रमबाट निकालिएकै समयमा उनका बाबु मनिराम पनि आर्थिक अपचलन आरोपमा पार्टीबाट निष्कासनमा परेका थिए ।


‘५/७ वर्षअघि संस्थासँग अनुमति नलिई संस्थाका नाममा भिजिटिङ कार्ड छापेर विदेश लैजान्छु भन्दै रकम असुलेको थाहा पाएपछि उनलाई मौखिक खबरदारी गरिएको थियो,’ आश्रमका प्रमुख रामचन्द्र दास भनिने चन्द्रमणि भुसालले भने, ‘ठगी गरेको थाहा पाएपछि उनलाई आश्रममा कहिल्यै छिर्न नपाउने गरी निषेध गर्ने निर्णय गर्‍यौं ।’


गेरुवस्त्र धारण गरेलगत्तै विजयले २०६८ वैशाखमा आफैंले पाँच लाख खर्चेर कलंकीमा भागवत पुराण लगाएका थिए । त्यसपछिका वर्षमा उनले विभिन्न स्थानमा प्रतिशत नै तोकर महायज्ञ र धान्यान्चल गर्दै आएका छन् । प्रकाशित : माघ ११, २०७६ ०७:२६

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सहिद थरीथरीका : 'टंकप्रसादले ‘जिउँदो सहिद’ को भत्ता माग्नुभयो'

दलीय स्वार्थका आन्दोलन, अज्ञात समूहका आक्रमण तथा हत्या, सवारी दुर्घटनालगायतमा ज्यान गुमाएकालाई पनि सहिद घोषणा गरिँदा देश र जनताका हकअधिकारका लागि लडेका वास्तविक सहिदको अवमूल्यन
मातृका दाहाल

काठमाडौँ — कुरा ०२५ सालको हो, तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले ‘जिउँदो सहिद’ का रूपमा मासिक जीवन निर्वाह भत्ता मागे । तत्कालीन राजा महेन्द्रलाई समस्या पर्‍यो– ‘कस्ता व्यक्तिलाई कुन श्रेणीको सहिदको सूचीमा राख्ने ?’ यसबारे टुंगो लगाउन उनले नवराज सुवेदीको अध्यक्षतामा कार्यदल गठन गरे तर त्यसको प्रतिवेदन कार्यान्वयन भएन ।

०६७ सालमा पूर्वमन्त्री मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित कार्यदलले सहिदलाई तीन प्रकारका सूचीमा राख्न सुझायो । पहिलो, आफू मर्छु भन्ने जान्दाजान्दै होमिएका । अर्को, मर्छु भन्ने नलागी होमिएका । तेस्रो, आर्थिक लाभकेन्द्रित । उक्त कार्यदलले बुझाएको प्रतिवेदन पनि गुपचुप छ ।

०६२/०६३ अघिसम्म वास्तविक सहिद भनेर १९९७ माघमा राणाशासकद्वारा मारिएका चार जना शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई चिनिन्थ्यो । राणाशासनको विरोध गरेका कारण माघ १० गते शुक्रराजलाई टेकुको खरीको रुखमा र १२ गते धर्मभक्तलाई सिफलमा झुन्ड्याएर मारिएको थियो भने दशरथ र गंगालाललाई माघ १६ गते शोभाभगवती मन्दिर किनारमा गोली हानेर मारिएको थियो । उनीहरूकै सम्मानमा माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाइँदै आएको छ ।

सहिद दिवस औपचारिक रूपमा ०१२ माघ १६ गतेबाट मनाउन थालिएको हो । ‘जिउँदा सहिद’ टंकप्रसाद आचार्य ०१२ माघ १३ मा नेपालको १९ औं प्रधानमन्त्री बने । त्यसै दिन मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर उनले माघ १६ मा ‘सहिद दिवस’ मनाउने घोषणा गरे । १९९७ सालमा मृत्युदण्डको घोषणा गरिएकामा चार सहिदबाहेक आचार्यको पनि नाम थियो तर राणाहरूले आचार्यलाई फाँसी दिएनन्, चारपाटा मुडेर जेल हालिदिए । त्यसपछि उनलाई जिउँदो सहिदका रूपमा चिनिन थाल्यो ।

डेढ दशकयता सहिदको सूचीमा धेरै नाम थपिएका छन् । नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । पल्टनका लाहुरे थापालाई जंगबहादुर राणाविरुद्ध प्रचारबाजी गरेको आरोपमा वि.सं. १९३३ मा गोरखाको मनकामना मन्दिरअगाडि रूखमा झुन्ड्याएर मारिएको इतिहासमा उल्लेख छ । ०७२ असोज ३ को मन्त्रिपरिषद् बैठकले उनलाई औपचारिक रूपमा पहिलो सहिद घोषणा गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा राष्ट्र र जनताका लागि योगदान गर्दागर्दै सहादत गरेका व्यक्तिलाई मात्रै सहिदको सूचीमा समावेश गरिनुपर्ने बताउँछन् । ‘जथाभावी सहिद घोषणा गर्नुपर्छ भन्नेमा छैनौं, यसमा करेक्सन हुनुपर्छ,’ शर्माले भने, ‘देशका लागि बलिदान दिएका बाहेकलाई सहिद बनाउँदा वास्तविक सहिदकै अवमूल्यन हुन्छ ।’ शर्माले अहिलेसम्म सहिद घोषणा गरिएका व्यक्तिको एकीकृत अभिलेख मन्त्रालयसँग नभएको बताए । उनका अनुसार मन्त्रालयले यस्तो अभिलेख तयार गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

दलीय स्वार्थका आन्दोलन, अज्ञात समूहका आक्रमण तथा हत्या, सवारी दुर्घटनालगायतबाट ज्यान गुमाएकालाई पनि सहिद घोषणा गरिँदा देश र जनताका हकअधिकारका लागि लडेका वास्तविक सहिदको अवमूल्यन भएको जानकारहरू बताउँछन् ।

यस वर्ष पनि देशभर शुक्रबारदेखि सहिद सप्ताह सुरु भइसकेको छ । यही मेसोमा सक्कली र वास्तविक सहिद को–को हुन्, सहिदको सूची कति छ भन्ने तथ्यांक खोजबिन हुनुपर्ने बहस हरेक वर्ष चल्ने गर्छ । ०२५ सालमै तत्कालीन राजा महेन्द्रले सहिदको व्याख्या र सूची कसरी तयार पार्ने भन्नेबारे त्यसबेलाका गृहराज्यमन्त्री नवराज सुवेदीको अध्यक्षतामा कार्यदल गठन गरेका थिए । प्रधानमन्त्री सूर्यबहादुर थापालाई महेन्द्रले कार्यदल गठनको प्रक्रिया थाल्न निर्देशन दिएका थिए । जिउँदा सहिद टंकप्रसाद आचार्यले ‘मासिक जीवन निर्वाह भत्ता मागेपछि सहिदको परिभाषा गर्न महेन्द्रले प्रधानमन्त्री थापामार्फत कस्तालाई कुन किसिमको सहिद मान्ने भन्ने निर्देशिका बनाउन कार्यदल गठन गरेका थिए । ‘म गृहराज्यमन्त्री हुँदा ०२५ सालमै सहिदको व्याख्या र परिभाषासहित एउटा कार्यविधि बनाउन मेरै अध्यक्षतामा कार्यदल गठन भएको थियो,’ ५२ वर्षअघिको प्रसंग स्मरण गर्दै सुवेदीले कान्तिपुरसँग भने, ‘प्रतिवेदन बुझाए पनि कार्यान्वयनमा आएन, पछिल्लो अवस्था के छ भन्नेबारे म अनभिज्ञ छु ।’

पूर्वमन्त्री प्रश्रितको अध्यक्षतामा गठित कार्यदलले पनि सहिदलाई आफू मर्छु भन्ने जान्दाजान्दै होमिएका, मर्छु भन्ने नलागी होमिएका र आर्थिक लाभकेन्द्रित भएका गरी सहिदलाई तीन प्रकारको सूचीमा राख्नुपर्ने सुझावसहित प्रतिवेदन बुझायो । प्रश्रित कार्यदलको प्रतिवेदन पनि अझै गुपचुप छ । कार्यदलले जथाभावी सहिद घोषणा रोक्नुपर्ने सुझाव पनि दियो । सरकारले सुझावको पालना गरेको छैन ।

कार्यकर्तादेखि ‘अपराधी’ सम्म ०७५ असोज ४ मा अज्ञात समूहको गोली प्रहारबाट मारिएका सुनसरी हरिनगर गाउँपालिका–२ भुटाहाका मौलाना खुर्सिद अन्सारीलाई सरकारले असोज ५ मा सहिद घोषणा गरी राहतस्वरूप १० लाख दिने निर्णय गर्‍यो । ०७३ फागुन २३ मा मेची–महाकाली अभियानमा रहेका एमाले कार्यकर्ता र मधेसवादी दलसम्बद्ध प्रदर्शनकारीबीच झडप हुँदा पाँच प्रदर्शनकारीको मृत्यु भयो । प्रहरीको गोलीबाट मारिएका सञ्जन मेहता, पीताम्बर मण्डल, वीरेन्द्र महतो, आनन्द साह र इन्द्रदेव यादवलाई लगत्तै सहिद घोषणा र मृतकका परिवारलाई १० लाखका दरले क्षतिपूर्ति दिइयो ।

तत्कालीन एमालेसम्बद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी ०७४ पुस ४ गते आपराधिक समूहको गोली प्रहारबाट देवदहमा मारिए । पुस २१ गते देवदहमै फर्निचर व्यापारी वसन्त पौडेलको अज्ञात समूहले हत्या गर्‍यो । दुवै जनालाई पुस २८ गते सहिद घोषणा गरियो । दलीय आन्दोलनमा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गर्ने क्रम पनि रोकिएको छैन । तत्कालीन सरकारले ‘आतंककारी’ घोषणा गरेका र ०५२ देखि ०६२/०६३ को बीचमा मारिएका करिब ७ हजार माओवादी कार्यकर्ता पुष्पकमल दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सहिद घोषित भए । एकैपटक सात हजारलाई सहिद घोषणा गर्न दाहाल र भट्टराई प्रधानमन्त्री हुँदा गृहमा सूची आएको थियो । नाम/ठेगाना नखुलेका र सरकारले आपराधिक गतिविधि गरेको कसुर लागेका व्यक्तिलाई पनि सहिदको सूचीमा परेपछि गृहसचिव गोविन्द कुसुमले रोकिदिएको गृहका एक सहसचिवको भनाइ छ ।

कुसुमले अवकाश पाएपछि तत्कालीन प्रधानमन्त्री भट्टराईले सूचीमा समेटिएकालाई एकमुष्ट सहिद घोषणा गरेका थिए । ती सबैका परिवारलाई १० लाखका दरले रकम बाँडियो । दोस्रो जनआन्दोलनमा मारिएका २५ जनालाई सहिद घोषणा र परिवारलाई १० लाखका दरले राहत दिने निर्णय भयो । त्यसपछि जसलाई पनि सहिद घोषणा गर्ने र १० लाख राहत दिने क्रम झन् बढ्यो । अवस्थामा सहिद घोषणालाई चुनाव जित्ने अस्त्रका रूपमा प्रयोग गरिएका तथ्य पनि थुप्रै छन् । ०७४ पुस २८ मा तत्कालीन मन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले ०३६ कात्तिक २७ मा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गर्‍यो । नेकपा मालेका भूमिगत कार्यकर्तालाई प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा सुरक्षाकर्मीले गोली हानी मारेको आरोप लाग्दै आएको छ । आफ्नै बाबुको आदेशमा मारिएका भनिएका १६ जनालाई छोराको प्रस्तावमा सरकारले सहिद घोषणा गर्‍यो । सुनीलले सहिदको सम्मानका लागि नभई धनकुटामा आफ्नो ‘राजनीतिक फाइदा’ का लागि सहिद घोषणा गरेको विश्लेषकहरूको टिप्पणी छ ।

दोस्रो जनआन्दोलन ०६२ चैत २२ देखि वैशाख ११ सम्म चल्यो । १९ दिने उक्त आन्दोलनमा सुरक्षाकर्मीबाट मारिएका २५ जनालाई ०६३ जेठ २१ को मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा सहिद घोषणा गर्‍यो ।

०६४ असारदेखि माघसम्म विभिन्न पक्षबाट मारिएका आठ जना निजामती कर्मचारी पनि सहिदको सूचीमा परे । ०६५ जेठदेखि कात्तिकसम्म थप ८ जना कर्मचारी सहिद घोषित भए । ०६४ फागुन २१ देखि चैत २० सम्म मधेस आन्दोलनमा २६ जना मारिए । उनीहरू पनि सहिदकै सूचीमा छन् ।

०७३ भदौ २ गते थरुहट/मधेस आन्दोलनमा मारिएका ४१ प्रदर्शनकारी र ११ सुरक्षाकर्मी गरी ५२ जनालाई एकमुष्ट सहिद घोषणा गरियो । माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी कुल २ हजार ८ सय ७ जनालाई ०७५ माघ १४ मा एकमुष्ट सहिद घोषणा गरियो । कस्ता व्यक्ति कुन–कुन समयमा सहिद घोषित भए भन्नेबारे पत्ता लगाउन गृह मन्त्रालयले एउटा कार्यदल नै गठन गर्न लागेको छ । यसबाहेक पछिल्लो डेढ दशकमा अन्य थुप्रै व्यक्ति सहिद घोषित र मृतकका परिवारलाई आर्थिक सहायता बाँड्ने क्रम चलेको थियो । ‘पूर्वमन्त्री मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित कार्यदलको प्रतिवेदन अक्षरशः पालना हुने हो भने जथाभावी सहिद घोषणा गर्ने गलत प्रवृत्ति रोकिन्छ,’ पूर्वसचिव कुसुमले कान्तिपुरसँग भने, ‘पछिल्लो डेढ दशकमा जघन्य अपराधमा जेल परेर मृत्यु भएका कैयौं व्यक्तिलाई पनिसहिद घोषित गरिएको छ, यो सहिद शब्दकै अवमूल्यन हो, यसप्रति सरकार गम्भीर र संवेदनशील हुनुपर्छ ।’


टंकप्रसादले ‘जिउँदो सहिद’ को भत्ता माग्नुभयो
सहिदको परिभाषा र श्रेणी छुट्याउन ०२५ सालमा मेरो अध्यक्षतामा कार्यदल गठन भएको थियो । त्यसबेला म गृहराज्यमन्त्री थिएँ । प्रधानमन्त्री सूर्यबहादुर थापाजी हुनुहुन्थ्यो । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यजीले जीवन निर्वाहका लागि भन्दै ‘जिउँदो सहिद भत्ता’ माग्नुभयो । त्यसपछि राजा महेन्द्रले कार्यविधिबिनै भत्ता दिन नमिल्ने भएर कसलाई सहिद भन्ने, कसलाई जिउँदो सहिद भन्ने, सरकारले सहिदका परिवारलाई कस्तो किसिमको राहत उपलब्ध गराउने भन्नेबारे कानुनी प्रावधान बनाउन कार्यदल गठन गरेका थिए ।


नवराज सुवेदी, पूर्वमन्त्री

सबै कुरा कार्यविधिमा समेट्न भनिएको थियो । पछि प्रतिवेदन कहाँ गयो, के भयो भन्नेमा म अनभिज्ञ छु । अहिले त जो पनि सहिद, जसलाई पनि सहिदको सम्मान र राहत वितरण गर्ने गरिएको छ भन्छन् । वास्तविक सहिदलाई यस किसिमको प्रवृत्तिले अवमूल्यन भएको छ । देशका लागि आफ्ना प्रियजन गुमाएका सहिद परिवारलाई यस किसिमका गतिविधिले त झन् झन् पीडा दिन्छ ।

प्रकाशित : माघ ११, २०७६ ०७:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×