कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रातो मस्त्येन्द्रनाथको रथ निर्माण धमाधम

प्रशान्त माली

काठमाडौँ — पुल्चोकमा अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ निर्माण धमाधम भइरहेको छ । रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी हुन्छन् ।

रातो मस्त्येन्द्रनाथको रथ निर्माण धमाधम

परम्पराअनुसार १५ दिन भित्र बनाउनुपर्ने रथ बैशाख १३ गते प्रतिपदाको दिनमा निर्माण सुरु गरेको थियो । रथमा ञवा गुठीयारले लःसी, खम्बा, गलःसी र दाँयाबाँया काठ नहल्लियोस् भनेर चिरुवाको बेत र गोलो बेत नागको आकारमा कस्ने गर्दछन् भने बाराही गुठीयारले काठको काम गर्ने गर्छन् ।

गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आर्चायका अनुसार रथ बनाउन १५ सय फिट महाबेत, १ सय ५० चिरुवाको बोट (पानी बेत), दुई–दुई हजार मिटर मोटो र मसिनो डोरी चाहिन्छ । ‘देवता राख्ने चारकुनामा लाकुरी जातको काठ र खटमा फलाटको काठ र धकु (ब्रेक) का लागि मयल जातको काठ र धकुको बिहका लागि आरूको बोट आवश्यक पर्छ,’ उनले भने, ‘सबै बन्दोबस्त भइसकेको छ ।’

उनले अन्तमा रथ निर्माण सम्पन्न भइसकेपछि धूपीले सजाई तानिने बताए । रातो मस्त्येन्द्रनाथको रथारोहण साइत भने बैशाख २७ गते परेको छ । रथ निर्माण सफल होस् भनी ञवा गुठीयारले कुलदेवता र विश्वकर्माको पूजा गरेका थिए ।

रथमा बोसी खलकले रूख काट्ने, धकुले जात्रामा भक्तजनले रथ अनियन्त्रित ढंगले ताने त्यसलाई ब्रेक लगाउने, कुमालेले भाडाकुँडा बनाउने, कौले फलामको, चित्रकारले पाङग्रालगायत रथमा रंगाउने, पनेजुले पुजारीको र नेकुले सुनको कोदालो प्रयोग गरेर स्वयम्भूबाट ल्याएको माटोबाट मत्स्येन्द्रनाथको मूर्ति बनाउने र सिंगार्ने अनि स्नान गराउने काम गर्दछन् ।

प्रकाशित : वैशाख १७, २०८१ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?