२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

त्रिविमा पत्रकारिता तथा आमसञ्चार विभाग अब आफ्नै भवनमा

न्युज एजेन्सी नेपाल

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको आफ्नै भवन बनेको छ । बल्खुस्थित नवनिर्मित भवनको बुधबार विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा. शिवलाल भुसालले उद्घाटन गरे । लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित विभागले आफ्नै नयाँ भवनबाट सेवा प्रवाह थालेको छ ।

त्रिविमा पत्रकारिता तथा आमसञ्चार विभाग अब आफ्नै भवनमा

भवन उद्घाटन गर्दै कार्यवाहक उपकुलपति भुसालले पत्रकारिता तथा आमसञ्चार विभागको सुविधासम्पन्न संरचना बनेसँगै विभागलाई चुनौती पनि थपिएको बताए । विश्वमा दिन प्रतिदिन हुने नयाँ परिवर्तन, नयाँ विकास र उपलब्धिहरुलाई समेटेर देशभित्र भित्र्याउन सक्नुपर्ने भन्दै उनले त्यसको लागि नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा विभागका प्रमुख प्रा.चिरञ्जीवी खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा सानो ठाँउबाट कक्षा सञ्चालन गर्न असहज भएपछि मागबमोजिम सुविधासम्पन्न भवन तयार भएको बताए । उनले विभागले अब नयाँ भवनबाट नयाँ व्यवस्थापनका साथ थप गुणस्तरीय जनशक्ति निर्माणमा योगदान पुर्‍याउने बताए ।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गर्ने सम्झौता गरेको थियो । नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास लगायत रहेका छन् ।

त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन २, २०८० १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?