कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्राफिक प्रहरीको  ‘सांगीतिक डमी अभियान’ सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ । सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु भएको हो ।

ट्राफिक प्रहरीको  ‘सांगीतिक डमी अभियान’ सुरु

उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियमसम्बन्धी विभिन्न गीतहरु बजाएर ट्राफिक नियमको बारेमा जानकारी दिइने छ । ट्राफिक नियमबारे नागरिकलाई सूचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए।

विश्वका अन्य देशहरुमा जस्तो विद्यालयमा शिक्षामा ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम नसमेटिएको अवस्थामा ट्राफिक प्रहरीले आफ्नो पहलमा विभिन्न कार्यक्रम गर्दै सचेतना फैलाइरहेको उनले बताए । ट्राफिक उज्यालो अभियान, जथाभाबी बाटो काट्नेलाई २० मिनेट कक्षा लिने अभियान, ठाउँ ठाउँमा सारङ्गी टोली घुमाउने र स्वयमसेवक समेत परिचालन गरी ट्राफिक नियमसम्बन्धी जनचेतना फलाउने काम भइरहेको उनले बताए ।


पहिलो चरणमा काठमाडौं उपत्यकामा ५ स्थानहरु रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको सुरु गरिएको छ । अभियानबाट प्रतिदिन तीन हजार र एक महिनामा तीन लाखलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने लक्ष्य ट्राफिक प्रहरीले लिएको छ । अहिले एक जना ट्राफिक प्रहरीले प्रतिदिन ११ सय सवारी हेर्नुपर्ने बाध्यता रहेको छ ।

करिब १२ लाख सवारी रहेको उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि १५ सय ट्राफिक प्रहरी कार्यरत रहेका छन् । केही समयअघि जनचेतनामूलक सन्देश सहित ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक डमी राखिएको थियो । त्यो अभियानले सकारात्मक सन्देश दिएको ट्राफिक प्रहरीको भनाई छ ।

प्रकाशित : कार्तिक २२, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?