२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उपत्यकामा दुई हजार बढी चालक कारबाहीमा

रासस

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारबाही गरेको छ । होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारबाही गरेको महाशाखाले जनाएको छ ।

उपत्यकामा दुई हजार बढी चालक कारबाहीमा

सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको जनाइएको छ । ट्राफिक व्यवस्थापनको योजना तयार गरी होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि साँझसम्मै सुरक्षा कडा पारी जाँच गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए ।

होली मनाउन उच्छ्रङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्रगति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी हुँईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालक उपर निगरानी बढाई कारबाही गरिएको उनले बताए । महाशाखाले आइतबार मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई कारबाही गरेको छ । बिना हेल्मेट र तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६०९ सवारी चालकलाई कारबाही गरिएको र होहल्ला गरी सवारी चलाउने, जबरजस्ती रङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पाङ्ग्रे र ४६८ वटा दुई पाङ्ग्रे सवारी साधन होल्ड गरी कारबाही गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा आज २१ वटा सामान्य दुर्घटनाहरू भएको महाशाखाले जनाएको छ । एयरपोर्टमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको काठमाडौँ मेडिकल कलेजमा र बुढानीलकण्ठमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा घाईते चालकको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनारहित होली बनाउने विशेष योजना सहितको जाँचको क्रममा मोडिफाइ गरेको मोटरसाइकललाई कारबाही गर्दा ५०० रुपैयाँ दिने चाबहिलका मन्दिल श्रेष्ठलाई पक्राउ गरी कारबाहीका लागि मालीगाँउ वृत्तमा पठाएको छ भने मादक पदार्थ सेवन गरी होहल्ला गर्ने मोटरसाइकललाई कारवाही गर्न खोज्दा एक हजार दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारबाहीका लागि सातदोबाटो वृत्तमा पठाएको महाशाखाले जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७७ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?