सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका एकको मृत्यु- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका एकको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित एक होटलमा गत आइतबार सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

होटल सञ्चालक दोलखको सैलुङ गाउँपालिका–६ घरभई सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिवलाल कस्पालको घरमा सञ्चालित होटलमा खाजा बनाउने क्रममा ग्यास सिलिन्डर पड्केर बस्नेतसहित ६ जना घाइते भएका थिए । बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।

आगलागीमा घाइते भएका सैलुङ गाउँपालिका–१ घर भई कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की, झापा बुद्धशान्ति गाउँपालिका–२ घर भई भक्तपुर सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक नगरपालिका–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापाको सोही अस्पतालमा उपचार भइरहेको डीएसपी गिरीले जानकारी दिए ।

प्रकाशित : चैत्र १३, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्

राणा दरबारमा के पाक्थे ?

रोहिणी राणाद्वारा लिखित पाककलाको पुस्तकले राणाकालीन दरबारको खान्की मात्रै चिनाउँदैन, त्यो समयको परम्परा र संस्कृति पनि बुझ्न सघाउँछ ।
जनकराज सापकोटा

काठमाडौँ — राजस्थानको अजमेरस्थित सोफिया कलेजमा स्नातक पढ्दै गर्दा रोहिणी सिंहको बिहे राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति गौरवशमशेर राणासँग हुने पक्का भयो । त्यतिबेला उनकी आमाको एउटै चिन्ता थियो, छोरीको बिहे हुने भइसक्यो तर यसलाई पकाउनै आउन्न !

पाककलाबारे रुचि भए पनि सन् १९७७ मा इन्गेजमेन्टदेखि बिहेबीचका आठ महिनामा रोहिणीले घरमै कन्टिनेन्टल र भारतीय परिकार पकाउन सिकिन् ।

उत्तरप्रदेशको आग्रामा जन्मेकी रोहिणीको हालै ‘द राणा कुक बुक, रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ नामक पुस्तक पेन्गुइन र्‍याडम हाउस भारतबाट प्रकाशित भएको छ । राणा प्रधानमन्त्रीका दरबारमा के पाक्थे ? १०४ वर्ष नेपालमा शासन गरेका राणा खलक के खान्थे ? पकाउने विधि के थियो ? कसले पकाउँथ्यो, कसरी खाइन्थ्यो ? पुस्तकमा जंगबहादुरदेखि मोहनशमशेरसम्मका ९ प्रधानमन्त्रीको दरबारमा पाक्ने १४० परिकार र पाक विधिको वर्णन छ ।

पाककलाप्रति रोहिणीको रुचि बाल्यकालदेखि नै थियो । यो रुचि र सीप बिहेपछिका वर्षमा थप निखारियो । ‘जहाँ गए पनि त्यहाँको खानासम्बन्धी कुक बुक जम्मा गर्ने, फुर्सदमा पढ्ने र नयाँनयाँ परिकार पकाउन सिक्ने मेरो सौख नै भइसक्यो,’ उनले सुनाइन् । पाककलाको यही सौख र अध्ययन अनुसन्धानपछि पुस्तककै रूपमा निकाल्ने योजना भने २८ वर्षअघि जन्मियो । त्यतिबेला उनका श्रीमान् गौरवशमशेर हेटौंडाको सुपारेटार ब्यारेकका गणपति थिए । छोरीहरू भारतमा पढ्थे । परम्परागत राणाकालीन बंगलामा बस्दा उनलाई के गरौं र कसो गरौंको छटपटी हुन्थ्यो । त्यही बेला उनले पाककलासम्बन्धी पुस्तक निकाल्ने योजना बनाइन् । ‘सोच बनाएको वर्षौंपछि मात्रै काम सुरु गर्ने समय मिल्यो,’ उनले भनिन् । कैयन् परिकार यस्ता थिए, ती हराउन लागिसकेका थिए । कति परिकारबारे उनले सुनेकी मात्रै थिइन्, पकाउने विधि थाहा थिएन ।

उनले राणा प्रधानमन्त्री खलकका विभिन्न आफन्तसँग सम्पर्क बढाइन् । दरबारमा पाक्ने खानेकुराको नाम संकलन गरिन् । पकाउने भान्से को थिए भनेर बुझिन् । रोहिणीका अनुसार नेपाली राणा दरबारको खान्कीमा भारतीय पकवानको धेरथोर प्रभाव देखिए पनि यसको बेग्लै स्वाद छ । सन् १८५७ मा भारतमा तत्कालीन ब्रिटिस शासकहरूविरुद्ध बंगाल रेजिमेन्टका सिपाहीले विद्रोह सुरु गरेको इतिहास छ । अंग्रेज सेनामा आबद्ध भारतीय सैनिकले थालेको यो विद्रोह अन्य राज्यमा पनि विस्तारै देखिन थालेपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर नौ हजार सेनाको फौज लिएर सोझै लखनउमा चलिरहेको विद्रोह दबाउन पुगेका थिए । रोहिणीले यही समयपछि काठमाडौंका दरबारमा मुगल कुकहरू भित्रिएको उल्लेख गरेकी छन् ।

‘भारतीय परिकारमा बढी चिल्लो, बढी मसला देखिन्छ जबकि नेपाली राणाकालीन खाना कम चिल्लो र कम मसलेदार छ,’ उनले भनिन्, ‘पोषणको मात्रा मिलाउने गरी खाना पस्किने शैली देखिन्छ ।’ उनका अनुसार भारतीय पकावनमा नभेटिने जिम्मु र टिम्मुरको नयाँ स्वाद भने नेपाली राणाकालीन परिकारमा भेटिन्छ । पुस्तक लेख्नुअघि उनले सबै परिकार घरमै अनेक पटक पकाउँदै चाख्दै र चखाउँदै गरिन् ।

कुराकानीका क्रममा छेवैमा रहेका उनका श्रीमान् एवं पूर्वप्रधानसेनापति गौरवशमशेर राणाले मुसुक्क हाँस्दै भने, ‘उनले किताब लेख्ने क्रममा पकाएको खानेकुरा चाख्दाचाख्दै मेरो पनि तौल बढ्यो ।’ उनी खानेकुरा बुझ्न धेरै राणा खलकको घरमै पुगिन् । कतिपयलाई भने पकाउने सबै सरसामग्री जम्मा पारेर घरमै बोलाएर पकाउन लगाइन् । यसरी पाककलाको सबै विधि र प्रक्रिया सिक्दै, आफैंले पकाएर खाँदै गरेपछि मात्र उनलाई कसरी पकाउने, कुन सामग्री कति तौलमा कतिबेला राख्ने भन्ने जानकारी मिल्यो । त्यही जानकारीलाई उनले प्रक्रियासम्मत तरिकाले पुस्तकमा लेखिन् ।

उनका अनुसार केही परम्परागत परिकार पकाउने विधि पुस्तान्तरमा सर्दै गएको थियो भने केही परिकार हराउँदै थिए । ती परिकारमा कति मात्रामा के–के मिसाउने भन्ने पनि अनुमानका भरमा चल्दै आइरहेको थियो । रोहिणीले पुस्तक लेखनअघिको पाककलामा प्रत्येक सामान तौलिँदै पकाउन थालिन् । ‘कुन चिज कति हाल्ने भनेर कतै लेखिएको थिएन,’ उनले भनिन्, ‘अनुमानका भरमा तौलिँदै राख्दै गरेर अथेन्टिक स्वाद निकाल्न खुबै मिहिनेत गरियो ।’

उनको पछिल्लो २ वर्ष पाककलाको अध्ययन, पकाउने, चाख्ने र फेरि पकाउँदै त्यसको मात्रा मिलाउने काममै बित्यो । पुस्तक लेखनका सबै काम सकिएपछि प्रत्येक खानाको फोटो खिच्ने बेलामा फेरि ती परिकार पकाइन् । सकेसम्म प्रत्येक परिकार पहिले जसरी पकाइन्थ्यो त्यही शैलीमा, तिनै भाँडामा पकाइन्, राणाकालीन दरबारकै शैलीमा थालीमा राखेर सजाइन् । यसका लागि पुराना दरबारका भण्डार कोठा चहार्दै क्लासिक शैलीका पुराना भाँडा जम्मा गर्दै हिँडेको उनले बताइन् ।

उनका अनुसार राणाकालीन समयको खानपिन शैलीले त्यतिबेलाको भोजन संस्कार र परम्परा मात्रै बुझाउँदैन, हाम्रो पुर्खाको खाना कति स्वादिष्ट र हाइजिनयुक्त थियो भन्ने पनि बुझाउँछ । गुन्द्रुक, तामाको टुसा, जाम जस्ता सीमित खानेकुरा मात्रै दरबारका घाम नछिर्ने र चिसो भण्डार कोठामा स्टोर गरेर राखिन्थ्यो । ‘पश्चिमेली जस्तो फ्रिजमा राखेर, कैयन् दिनअघि बारीबाट टिपेको खानेकुरा हाम्रोमा देखिन्न,’ उनले भनिन्, ‘जे पनि तुरुन्तै टिप्ने पकाउने गरेको देखिन्छ । घ्युदेखि, मासुसम्म र सागसब्जीदेखि अनाजसम्म सबै फ्रेस देखिन्छ ।’

पुस्तकमा भएका केही परिकार पकाउने तरिका सिक्न भने उनलाई त्यति सजिलो भएन । राणा प्रधानमन्त्री चन्द्रशमशेरका सन्तान नन्दशमशेरबाट उनले चराको काँचो बरीबारे थाहा पाएकी थिइन् । पित्तलको खलमा कुखुराको मासुलाई कुटेर किमाजस्तो बनाउन केही घण्टा खर्चिनुपर्ने र त्यसपछि मरमसला हालेर तोरीको तेल वा घ्युमा राखेर पकाउँदा स्पोन्ज जस्तो भएर फुल्छ । उनको अनुमानमा धेरै समय र मिहिनेत लाग्ने यो परिकार करिबकरिब हराइसकेको छ । अर्को एउटा परिकार थियो, मटन पाई । सिंहमहलमा मुस्लिम समुदायका फ्रान्सिस नामक कुक थिए । यिनै कुकबाट चन्द्रशमशेरकी पनातिनी जया शाहले यो परिकार पकाउन सिकेकी थिइन् । यिनै जयाले रोहणीलाई पकाउन सिकाइन् ।

राणा दरबारमा पाक्ने परिकार समयक्रममा हराउँदै गएको र केही परिकार भने नेपालबाट बसाइँ सरी जानेसँगै भारतका विभिन्न सहर पुगेको उनको निष्कर्ष छ । खसीको मासुको पुलाउ बनाउने तरिका थाहा पाउन उनले बीसौं शताब्दीका सुरुवातमा नेपालबाट भारतको मध्य प्रदेश सरेका जनरल खड्गशमशेरको परिवारसम्म पुग्नुपर्‍यो । खड्ककी पनातिनी खेम राज्यलक्ष्मीका दिल्ली बस्ने छोरा राजेन्द्र सिंह चिनमनबाट उनले यो परिकारबारे थाहा पाइन् । उनकै सहयोगमा खसीको मासुको पुलाउ बनाउन सिकिन् । पुस्तक लेखनका क्रममा रोहिणीले राणाकालीन दरबारमा पाक्ने परिकार मात्रै खोजिनन्, ती परिकार कसरी आए होलान् भन्नेबारे पनि धेरथोर भेउ पाइन् ।

पुस्तकले पुर्खाको खानाको स्वाद अब आउने कैयौं पुस्ताले चाख्न सजिलो बनाउने उनी बताउँछिन् । पहिलो कुकबुकपछि आएको प्रतिक्रियाले उनलाई अब दरबारबाहिर विभिन्न सांस्कृतिक समुदायमा पाक्ने परिकारबारे पनि पुस्तक लेख्ने हुटहुटी जगाएको छ । छेवैका रहेका श्रीमान् गौरवशमशेरले भने, ‘तिमी काम मात्रै सुरु गर । म छँदै छु नि मोटर हाँकेर देशभर घुमाउने । अनेकन स्वाद चाख्ने यात्रामा लैजाने ।’

तस्बिरहरू : बिजु महर्जन/कान्तिपुर

प्रकाशित : चैत्र १३, २०७७ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×