कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरमा पहिरो जाँदा घाइते भएकाको अझै उद्धार भएन

प्रशान्त माली

काठमाडौँ — बुधबार साँझ ५ बजे पहिरोमा परेर घाइते भएका ५ जनाको अझै उद्धार हुन सकेका छैनन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ कान्ति लोकपथ खण्ड, भट्टेडाँडास्थित पाङदुर गहिरोमा गएको पहिरोमा परेर उनीहरु घाइते भएका थिए ।

घाइतेमध्ये कुमार नगटकोटीको दाँया खुट्टा भाँच्चिएको र सुरेन्द्र थापा मगरको ढाडमा गम्भीर चोट लागेको छ । सरुख अलाम, सागर घले, केशव विक भने सामान्य घाइते भएका छन् । महानगरीय प्रहरी प्रभाग भट्टेडाँडा प्रमुख प्रहरी निरीक्षक सन्तोष बरालले घाइतेहरुको बगुवास्थित एक व्यक्तिको पसलमा राखेर सामान्य उपचार भइरहेको बताए ।

वाग्मती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले घाइतेको उद्धार हेलिकप्टरमार्फत गर्न गृहमन्त्रालयमा कुराकानी भइसकेको बताए । ‘बाक्लो कुहिरोको कारणले गर्दा हेलिकप्टर पुग्न सक्ने अवस्था छैन । निरन्तर वर्षाका कारण पहिरो पन्छाएर घाइतेको सडकमार्फत अस्पताल पुर्‍याउने सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘मौसम अनुकुल भएपछि हेलिकप्टर उद्धार तयारीमा छ ।’

पहिरोको कारणले दुईटा ट्रिपरको अगाडिको भाग र एउटा मोटरसाइकल पुरिएको छ । घाइते हुनेहरु भने पैदल यात्री हुन् । अविरल वर्षाका कारण वाग्मती, कोञ्ज्योसोम र महाकाल गाउँपालिकाका छोटो तथा लामो दूरीका सडकका विभिन्न खण्डमा पहिरो गएका कारण आवतजावत ठप्प भएको छ । कतै बिजुलीका पोल ढलेका कारण विद्युत आपूर्ति बन्द भएको छ भने गाउँबाट नियमित रुपमा बजार आउनुपर्ने दूध तथा तरकारीलगायत कृषिजन्य वस्तुहरु गाउँमै अड्किएका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?