कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरका मेयर सोल्टीको आइसोलेसनमा

काठमाडौँ — काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य पत्नी र छोरासहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा बसेका छन् । गत १५ गते संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्ने बताएका मेयर शाक्य केही दिन घरमा बसेर परिवारसहित तारे होटलमा सरेका हुन् ।

महानगरका मेयर सोल्टीको आइसोलेसनमा

होटल स्रोतका अनुसार झन्डै २० हजार रुपैयाँ शुल्क लाग्ने कोठामा चिकित्सकीय सुविधासहित बसेका शाक्यले प्रतिदिन २५ हजारभन्दा बढी शुल्क तिर्नुपर्छ । यद्यपि महानगरपालिकाले नागरिक स्तरबाट आलोचना हुने भन्दै शाक्यको होटल बासबारे बताउन चाहेन । स्रोतका अनुसार मेयर शाक्यको परिवारले लिएको तीनवटा कोठा र चिकित्सकीय सुविधासहित औसतमा दिनको ७५ हजार हाराहारीमा खर्च हुन्छ ।

पछिल्ला १२ दिनयताको होटल खर्च मात्रै ९ लाख हाराहारी पुगिसकेको छ । त्यतिका धेरै खर्च महानगरपालिकाले बेहोर्छ कि मेयर शाक्य आफैंले तिर्छन् भन्ने प्रश्नको उत्तर भने प्राप्त हुन सकेन । उपमेयर हरिप्रभा खड्कीले मेयर घरमै बसेको मात्रै आफूलाई जानकारी रहेको बताइन् । उनले भनिन, ‘होटलमा रहेकोबारे मलाई जानकारी भएन ।’ महानगरपालिकाका सूचना अधिकारी नमराज ढकालले पनि मेयर होटलको आइसोलेसनमा बसेको भन्नेबारे आफूलाई जानकारी नभएको बताए । मेयर शाक्यसँग कुराकानी गर्न कान्तिपुरले सोल्टी क्राउन प्लाजामा पनि सम्पर्क गरेको थियो । फोन रिसिभ गरेका रिसेप्सनिस्टले सुरुमा एकैछिन कुराएर शाक्यसँग सोधेर सम्पर्क गराइदिने बताए । तर उनले शाक्यले सम्पर्क गर्न नचाहेको जानकारी गराए ।

प्रकाशित : भाद्र २८, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?