दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै- उपत्यका - कान्तिपुर समाचार

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । स्थानीय तहहरुले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गाईजात्रा पर्वलाई औपचारिक पूजाआजामा सीमित गर्न अनुरोध गरे पनि मंगलबार बिहानदेखि स्थानीय बासिन्दाले दिवंगत आफन्तको सम्झनामा ताहामचा बनाई नगर परिक्रमा गरेका छन् । गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी भने प्रर्दशन गरेका छैनन् ।

मृतात्माले मोक्ष प्राप्त गरून् भन्दै भदौ कृष्ण प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाउने परम्परा छ । हिन्दुधर्मग्रन्थमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्छ भन्ने मान्यतालाई अंगाल्दै गाईजात्रा मनाउने गरेको स्थानीय बताउँछन् ।

उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुने हुँदा यहाँको जात्रा बढी चर्चा हुने गर्दछ । जनैपूर्णिमाका दिन साँझ नै भक्तपुर तलेजुस्थानबाट ताहामचा बनाई देश परिक्रमा गरेपछि जात्रा सुरु हुने परम्परा छ ।

बालबालिकाको मृत्यु साँचा बनाई परिक्रमा गर्ने र पाका उमेरका व्यक्तिहरूको मृत्यु भएमा भने १५ हात लामो बाँसको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा छ ।

कतिपयले मृतक परिवारको घरबाट बालबालिकालाई शिव पार्वतीको प्रतीकका रुपमा सिँगारेर ल्याउने प्रचलन छ । यस्ता बालबालिका भने कर्म नचलिसकेका कलिला बालबालिका हुनुपर्ने मान्यता रहेको बुढापाकाहरु बताउँछन् । आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ ।

नगरको विभिन्न टोलबाट निकालिएको गाईजात्रा भक्तपुर दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वंशगोपाल, इताछें, खौमा परिक्रमा गर्ने प्रचलन छ ।

गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौथरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी बताउँछन् । दिवंगत भएका आफन्तहरूको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि रहिआएको छ ।

जात्रा समापनको क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिने प्रचलन छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमाचा, यसपछि सोही टोल भरिबाट निकालिएको अन्य ताहमाचा र सबभन्दा पछि नकिङजु अजिमाको ताहमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रमा गरेपछि पर्वको पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।

प्रकाशित : श्रावण २०, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

कोसी अस्पतालको ओपीडी पुन: सञ्‍चालन

जितेन्द्र साह

विराटनगर — चार दिनदेखि बन्द विराटनगरस्थित कोसी अस्पतालको बहिरंग सेवा (ओपीडी) मंगलबारदेखि पुन: सञ्चालन भएको छ । स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अस्पताल व्यवस्थापनले बिहीबारदेखि अनिश्चितकालकालागि ओपीडी बन्द गरेको थियो ।

स्वाब परीक्षणपछि आएको रिपोर्टमा ओपीडीका थप स्वास्थ्यकर्मीमा संक्रमण नदेखिएकोले बन्द सेवा पुन: सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले बताए ।

‘लकडाउनले यातायात बन्द रहेकाले सेवाग्राही त पक्कै पनि कमै आउलान्, त्यही पनि सरकारी अस्पतालको ओपीडी हो, लामो समयसम्म बन्द राख्दा आम नागरिक समुदायलाई मर्का पर्छ,’ उनले भने । कर्मचारी र स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि विराटनगरका अन्य प्राइभेट अस्पताल पनि बन्द भएकाले बिरामीले उपचार पाउन कठिन भइरहेको उनले बताए ।

गत शुक्रबारदेखि मंगलबारसम्म कोसी अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीसम्मको संख्या ११ पुगेको सूचना अधिकारी विष्णु बुढाथोकीले बताए । संक्रमित हुनेमा एक चिकित्सक, ६ नर्स र ४ सहयोगी कर्मचारी छन् ।

कोसी अस्पतालमा चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मी कार्यरत छन् भने सामान्य दिनमा औसत दिनहुँ १ हजार २ सय सेवाग्राही आउने गरेको अस्पतालले जनाएको छ । लकडाउन नभएको बेला ओपीडी खुल्ला हुँदा अहिलेको यो विषम परिस्थिति र खेतीपातीको समयमा समेत दिनहुँ ६ सय सेवाग्राहीसम्म आएको अस्पतालले जनाएको छ । ‘लकडाउन भएकाले कमै सेवाग्राही आउँछन् तर आउने जतिलाई सेवा दिन्छौं,’ उनले भने ।

शुक्रबारसम्म संक्रमण पुष्टि भएकाको प्रत्यक्ष सम्पर्कमा आएका १ सय ८४ जनाको स्वाब संकलन गरिएको र सबैको रिपोर्ट आइसकेको अस्पतालका डा. दासले बताए । उनले अस्पतालका अन्य विभागका संक्रमित र उनीहरुको सम्पर्कमा आएकाको स्वाब परीक्षण र क्वारेन्टाइनमा राख्ने क्रम अझै जारी रहेको बताए ।

संक्रमित सबैको कोभिड–१९ अस्पतालमा उपचार भइरहेको र अहिलेसम्म ३७ स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा रहेको उनले बताए ।

काठमाडौंको औषधि व्यवस्था विभागबाट यो अस्पतालमा सरुवा भएर आएका एक चिकित्सकमा गत शुक्रबार र उनको सम्पर्कमा आएका प्रसूतिका अर्का एक नर्समा गत सोमबार कोभिड–१९ को संक्रमणको पुष्टि भएको थियो । यसपछि विभिन्न चरणमा संकलन गरिएको स्वाब परीक्षणको रिपोर्टमा अस्पतालका संक्रमित हुने कर्मचारीको संख्या थपिएको थियो ।

‘अहिले सम्मको विश्लेषणमा हाम्रै एक चिकित्सक र यो अस्पताल बाहेक आंशिक रुपमा विराट नर्सिङ होममा कार्यरत एक स्टाफ नर्सबाट फैलिएको देखिन्छ,’ डा.दासले भने, ‘सेवाग्राहीबाट चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी संक्रमित भएको देखिएको छैन ।’

कोरोना भाइरसबाट उक्त नर्सिङ होमका सञ्चालक डा.ज्ञानेन्द्रमान सिंह कार्की संक्रमित भएको पुष्टि भएपछि उनको सम्पर्कमा आएकाको पनि स्वाब परीक्षण भएको थियो । थप परीक्षणपछि आएको रिपोर्टमा कोसीकै एक नर्समा समेत संक्रमणको पुष्टि भएको थियो ।

प्रकाशित : श्रावण २०, २०७७ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×