रातो मत्स्येन्द्रनाथ रथ निर्माण सुरु

प्रशान्त माली

काठमाडौँ — अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरेर बुधबारबाट रथ निर्माण सुरू भएको छ । परम्पराअनुसार रथ मस्त्येन्द्रनाथ महास्नानको भोलिपल्टदेखि बनाउने चलन छ । 


यसपटक कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारणले रोकियो । महास्नान भने लकडाउनकै बेला चैत २७ गते पुजारी, नाइके, गुठीयारलगायत सीमित व्यक्तिहरुले सम्पन्न गरेका थिए । मत्स्येन्द्रनाथका पुजारी विनोद बज्रचार्यले विशेष प्रकृतिको जात्रा भएकाले रोक्न नमिल्ने बताए । ‘राष्ट्रप्रमुख उपस्थित भएर भोटो जात्रा नजर गर्नुपर्ने र प्रत्येक वर्ष रथमा बस्ने दुई जना पानेजु (पुजारी) को पालो फेर्नुपर्ने चलन छ,’ उनले भने, ‘पानेजुहरुले रथ जात्राको लागि ८ महिनाअघिदेखि बुङ्‌मतीस्थित जीवित देवीकुमारी पूजादेखि लिएर विभिन्न पर्वपूजा सम्पन्न गर्दै आइरहेका छन् । त्यसैले पनि जात्रा रोक्न मिल्दैन ।’

रथ निर्माण थाल्न गुठियारहरुले सोमबार ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दूरी कायम गरेर भीडभाड नहुने गरी काम थाल्न सकिने बताए । ‘मत्स्येन्द्रनाथको रथारोहण गर्ने र रथ तान्ने बारेमा छलफल भएको छैन,’ उनले भने ।

रथ बनाउन चैतमा बुङ्‌मतीका बोसी गुठीयारले फलाट जातको काठ र देवता राख्ने चारकुनामा लाकुरी जातको काठ र धकु (ब्रेक) मा मयल जातको काठ ललितपुरको लाकुरी भञ्ज्याङबाट ल्याइएको थियो । रथमा बाराही गुठीले काठ र यावल गुठीले बेतको काम गर्छन् । रथ बनाउन बाराही गुठीका २४ जना र यावलका १२ जना गुठीयार खटिएका छन् । बाराही गुठीका नाइके दिलकुमार बाराहीका अनुसार परम्पराअनुसार रथ १५ दिनभित्र निर्माण सम्पन्न गर्नुपर्दछ । ‘तर, यसपालि त्योभन्दा पनि चाँडै नै सम्पन्न गर्ने लक्ष्यअनुसार काम थालेका छौं,’ उनले भने, ‘शुक्रबारसम्म दुई तलेमा काठको काम सक्ने लक्ष्य छ ।’

उनका अनुसार रथारोहण र रथ तान्ने, नरिवल खसाल्ने र भोटो जात्रा गर्ने साइत तय भएको छैन । ‘यस विषयमा पुजारी, गुठीयार र सरोकारवालासँग थप छलफल गर्न बाँकी छ,’ उनले भने । रथारोहणको भोलिपल्ट रथ तानेर पहिलो दिन पुल्चोकबाट गा:बहाल, दोस्रो दिन मंगलबजार, तेस्रो दिन सुन्धारा र चौथो दिन चक्रबहिलमा रोक्ने चलन छ । चक्रबहिलबाट लगनखेल पुर्‍याई नरिवल खसाल्ने र जावलाखेल पुर्‍याई भोटो जात्रा गर्ने चलन छ । भोटो जात्रा सकेपछि खटमा बोकेर बुङ्‌मतीस्थित मन्दिरमा पुर्‍याइन्छ । मीननाथको रथ निर्माण गर्न पनि धमा: बनाउने काम थालेको छ । अहिले मत्स्येन्द्रनाथको मूर्ति पाटन तह:बहालस्थित उनकै मन्दिरमा राखिएको छ । प्राय: जात्रा जेठको सिथी नख: आसपासमा सकिन्थ्यो ।

जात्राका लागि वैशाख कृष्ण त्रियोदशीका दिन बौद्ध परम्पराअनुसार पुरुष र नारी दुवैलाई गरिने जातकर्म, नामकर्म, अन्नप्राशन, उपनयन, चूडाकर्म, इही (बेल विवाह) र गुफा राख्ने दसकर्म सम्पन्न भइसकेको छ । नेपालमा १२ वर्षसम्म अनिकाल परेकाले वृष्टि गराउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ललित ज्यापूले भारत असमको कामरुपकामाक्ष पर्वतबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको लोक कथन छ ।

नेपालको सर्वप्राचीन गोपाल राजवंशावलीमा पनि नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको यात्रा चलाए भन्ने उल्लेख छ । जात्रामा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्ल, भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव राजाको खड्गको ऐतिहासिक खड्ग सहभागी गराउने चलन छ ।

प्रकाशित : असार १०, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्

१० वर्षअघिको बम बिस्फोटका आरोपी पक्राउ

शिव पुरी

रौतहट — एकदशक अघि सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको बसमा बम विस्फोट गराई १३ जनालाई घाइते बनाएको अभियोग लागेका दुई जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ । दुवै तत्कालीन भूमिगत संगठनका जिल्ला नेता रहेको जनाइएको छ । 

इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई बम बिरुफोटको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ । २०६७ चैत ११ गते जिल्लाको हजमिनियामा सदरमुकाम गौरबाट आउँदै गरेको ना २ ख ५७२१ गुडिरहेको बसमा बम विस्फोट हुँदा १३ यात्रु घाइते भएका थिए । विस्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो । त्यस बेला शेख गुलाम मोर्चाका जिल्ला नेता थिए । घटनामा उनीहरुको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

घटनापछि फरार दुबैलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरको विशेष र रौतहट प्रहरीको संयुक्त टोलीले ईशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो । प्रदेशका डिआईजी धिरजप्रताप सिंहले दुबै जनालाई पक्राउ गरिएको पुष्टि गरे । त्यहीबेला घटनामा ७ जना संलग्न रहेको खुलेको थियो । ५ जना अझै फरार छन् । ‘गुलाम र साहलाई प्रदेश टोलीले एक सातादेखि पिछा गर्दै आएको थियो,’ डिआईजी सिंहले भने,‘अपराध गर्नेहरु कानुनको फन्दाबाट उम्कन पाउँदैन ।’

तराईमा भूमिगत समूहको गतिविधि उत्कर्षमा पुगेको बेला गुलाम र साह बम विस्फोट, चन्दा आतंकमा पनि संलग्नता रँहदै आएको प्रहरीको दाबी छ । अन्य फरारको खोजी भइरहेको जिल्ला प्रहरी गौरका डिएसपि भरत श्रेष्ठले जनाए । पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरु गरेका छौ,’ डिएसपी श्रेष्ठले भने,‘घटना एक दशक अघिको भए पनि सोधपुछ र अनुसन्धानलाई तिब्रता दिन्छौं । दुवै जना विरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता गरेरको अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : असार १०, २०७७ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×