कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठमेलमा निस्किन थाले रिक्सा

लकडाउनकै बीच यात्रुको खोजीमा निस्किएका रिक्सा चालक भन्छन्, ‘हातमुख जोर्नै मुस्किल भएपछि बाध्य भइयो ।’
अब्दुल्लाह मियाँ

काठमाडौँ — मध्यरातसम्मै मान्छेको चहलपहल हुने ठमेल करिब ७५ दिनदेखि सुनसान छ । लकडाउनअघि नै यहाँका सबैजसो व्यवसाय लगभग बन्द भइसकेका थिए । 

ठमेलमा निस्किन थाले रिक्सा

हातमुख जोर्न ठमेललाई केन्द्रविन्दु बनाएर खटिने मजदुर यति बेला घर–डेराभित्रै थुनिन बाध्य छन् । तर, नुवाकोटका विशाल तामाङलाई लकडाउनले पनि छेक्न सकेको छैन । खर्च अभावमा दैनिकी चलाउनै नसक्ने अवस्था आएपछि केही दिनदेखि उनी रिक्सा लिएर बिहान ६ बजे नै ठमेल पुग्ने गरेका छन् ।

यही रिक्सा चलाएर विशालले दस वर्षदेखि ४ जनाको परिवार पाल्दै आएका थिए । ‘हातमुख जोर्न मुस्किल भएपछि बाध्य भएर सडकमा फर्किएँ हजुर,’ उनले सुनाए, ‘लकडाउनअघि जेनतेन चलेको जीवन अहिले धकेल्नै गाह्रो भयो, मागेर खानुभन्दा परिश्रम गरौं भन्ने सोचेर फर्केको ।’

ठमेलका सबैजसो चोक र गल्ली सुनसान छन् । एकाध प्रहरी र ट्राफिकबाहेक सडकमा कोही छैनन् । तैपनि विशाललाई दुई पैसा कमाइ हुने आशा मरेको छैन । ‘कमाइ हुँदैन भन्ने थाहा छ तर काम गर्ने ठाउँ नै यही सडक भएपछि कहाँ जाने ?,’ रिक्सा पुछ्दै उनले भने । लकडाउनअघिसम्म दैनिक २ हजारदेखि २५ सयसम्म कमाइ हुने गरेकोमा अहिले डेढ सय रुपैयाँ हात पर्दा पनि खुसी हुनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

रिक्सा चलाएरै गुजारा चलाउँदै आएका मंगल तामाङको पीडा पनि उस्तै छ । लकडाउनले ५० दिनजति घरभित्र बसेका उनले पनि केही दिनअघि रिक्सा सडकमा निकालेका हुन् । ‘कोठामा बसेर ज्यान धान्न नसकेपछि कर्मक्षेत्रमा फर्किएँ,’ मंगलबार ठमेल, पीपलबोटमा सुस्ताइरहेका उनले भने, ‘तर के गर्नु, यात्रु पाउनै मुस्किल छ ।’

एक दिन रिक्सा चलाएबापत साहुलाई १ सय ५० रुपैयाँ अनिवार्य बुझाउनुपर्छ । ‘अहिलेको कमाइ साहूलाई बुझाउनै ठिक्क छ,’ मंगलको गुनासो छ, ‘दुई छाक टार्न सकिएला भनेर रिक्सा निकालेको, मान्छे नभएपछि केही सीप लाग्दो रहेनछ ।’

ठमेलमा रिक्साका मुख्य यात्रु पर्यटक हुन् । लकडाउनअघि नै सबैजसो पर्यटक आआफ्ना देश फर्किसकेका छन् । त्यसमाथि लकडाउन थपिएको थपियै भएपछि अन्य यात्रु पनि बाहिर निस्किने अवस्था छैन । त्यसैले लकडाउनकै बीच यात्रुको खोजीमा सडकमा निस्किएका २०–२५ वटा रिक्सा खाली छन् । सामान्य अवस्थामा ठमेलमा दैनिक करिब ४ सय रिक्सा चल्थे ।

‘कहिलेकाहीँ तरकारी ओसार्नबाहेक अरू काम पाएको छैन,’ चार दशकदेखि ठमेलमा रिक्सा चलाउँदै आएका मानबहादुर तामाङले भने, ‘हिजो ५० रुपैयाँ कमाएँ, आज के हुन्छ थाहा छैन ।’ उनीहरूलाई थाहा छ, अप्रिलदेखि जुन महिनासम्म पर्यटक खचाखच हुने समय हो । तर कोरोनाले यो वर्ष तहसनहस पारेको गोरखाका रामबहादुर सार्कीले सुनाए । ‘अब पहिलाजस्तो पर्यटक देख्न कहिले पाइने हो थाहा छैन, पर्यटक नआए हाम्रो व्यापार के होला र ?,’ २० वर्षदेखि ठमेलमा रिक्सा चलाउँदै आएका उनले भने ।

ठमेल आएका पर्यटक रिक्सा चढ्न निकै हौसिन्छन् । उनीहरू रिक्सामै ठमेलबाट स्वयम्भू, वसन्तपुर दरबार स्क्वायर, न्युरोड, दरबारमार्गलगायत स्थान घुम्छन् । सबै रिक्सा चालकमा अहिले एउटै चिन्ता थपिएको छ– पर्यटक नै नभए जीवन कसरी धकेल्ने ?

कमाइ शून्यप्रायः भएपछि जीवन धान्न धौधौ परेका रिक्सा चालकलाई केही मनकारीले लकडाउन सुरु भएदेखि नै दिनहुँ निःशुल्क खाना खुवाइरहेका छन् । ‘बिहानको खाना ठमेलमै खान पाइने भएकाले पनि दिनहुँ रिक्सा लिएर आउने गरेको छु,’ ठमेल सातघुम्तीमा मिन्हाज खानकहाँ बिरयानी खाने गरेका रमेश कार्कीले भने, ‘अहिलेको जस्तो अवस्था विगतमा कहिल्यै बेहोर्नुपरेको थिएन ।’

हुन पनि १० वर्षे द्वन्द्व, विभिन्न राजनीतिक आन्दोलन, राजाको शासन, भूकम्पका बेला समेत बजार अहिलेजस्तो सुनसान थिएन । पर्यटकको आउजाउ संख्यात्मक हिसाबले घटे पनि ठप्प थिएन ।

ठमेल पर्यटन व्यवसायी परिषद्का महासचिव ध्रुव अधिकारीका अनुसार कोरोनाका कारण प्रत्यक्ष–अप्रत्यक्ष रूपमा १० लाख मान्छेले रोजगारी गुमाएका छन् । ‘रिक्सा चालकदेखि होटल, मजदुर, रेस्टुरेन्ट, ट्रेकिङमा गरी १० लाखजतिको आर्थिक स्रोत चौपट भएको छ,’ उनले भने ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का सचिव दामोदर ढकालले कोरोनाको महामारीका कारण पर्यटन क्षेत्र वर्षौं पछि धकेलिएको र लाखौंले रोजगारी गुमाउन पुगेको बताए । ‘नेपालको पर्यटन क्षेत्र लयमा फर्किन वर्षौं समय लाग्ने हाम्रो अनुमान छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २३, २०७७ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?