कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा जाम हुने गरी चल्न थाले गाडी

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी भए पनि उपत्यकाका मुख्य सडकहरूमा मंगलबारदेखि सवारीसाधनको चाप बढेको हो ।
सीमा तामाङ

काठमाडौँ — ग्वार्कोका भीम श्रेष्ठ कानुन व्यवसायीलाई भेट्न बिहीबार काठमाडौंको न्यु प्लाजा जाँदै थिए । ट्राफिक प्रहरीले सिंहदरबार अगाडिको चेकिङमा उनको मोटरसाइकल रोकिदिए । पासबिनै बाहिर निस्केको भन्दै उनको मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

उपत्यकामा जाम हुने गरी चल्न थाले गाडी

ट्राफिक प्रहरीले उनलाई साँझ ६ बजेपछि सवारीसाधन लिन आउनू भन्दै उनको नाम, फोन र मोटरसाइकल नम्बर टिपे । मोटरसाइकल नियन्त्रणमा लिएपछि उनी हिँड्दै कानुन व्यवसायीलाई भेट्न गए ।

विवेककुमार शाहको मोटरसाइकल पनि ट्राफिक प्रहरीले सिंहदरबारअगाडि नै नियन्त्रणमा लिए । उनी अफिस जान लागेको बताउँदै थिए । ट्राफिक प्रहरीले अफिसको कार्ड वा पास लिएर आउनू भन्दै फर्काए । शाह ट्राफिक प्रहरीसँग प्रतिवाद नगरी हेल्मेट लिएर आफ्नो बाटो लागे । यसरी उनीहरू जस्तै लकडाउन उल्लंघन गरेर सवारी चलाउनेको संख्या अन्य दिनको तुलनामा बुधबारदेखि ह्वात्तै बढ्यो ।

लकडाउनको ७३ औं दिनमा सवारीसाधनदेखि पैदलयात्रुको समेत चहलपहल निकै बढ्यो । चोक चोकमामा लकडाउन उल्लंघन गर्ने सवारीसाधनको लाइन थियो । कार्यालय समयमा काठमाडौंको सुन्धारा र जडीबुटीमा त जाम नै भयो । जडीबुटीको जाम भक्तपुरको लोकन्थलीसम्म पुगेको थियो । यता न्युरोड गेटबाट सुन्धारासम्म गाडीको लाइन थियो । थापाथलीको जाम कुपन्डोल पुल कटेको थियो । ट्राफिक प्रहरी कुपन्डोलबाट आउने र माइतीघरबाट जाने दुवैतर्फ सवारीसाधनलाई जाँच गरिरहेका थिए । ट्राफिकले परिचयपत्र लगाएका, अतिआवश्यक खाद्यान्न ढुवानी गर्ने, प्रेस लगायतलाई छाडेका थिए भने अस्पताल जाने, औषधि किन्न जानेहरूलाई जाँच गरेर आकस्मिक भएको खण्डमा पठाउने गरेका थिए । अन्य सवारी साधनलाई रोकेका थिए । मोटरसाइकल र कार बाक्लै चले पनि ट्राफिक प्रहरीले मोटरसाइकललाई मात्रै नियन्त्रणमा लिइरहेका थिए ।

यसरी लकडाउन उल्लंघन गर्ने सवारी नियन्त्रणमा लिएर साँझ ६ बजेपछि हस्ताक्षर गराउँदै छाड्ने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले बताए । ट्राफिक प्रहरीका अनुसार मानिसहरू अफिस, बैंक, कर तिर्न तथा औषधि किन्न भन्दै बाहिर निस्किन थालेका हुन् । ‘लकडाउनको अवधिमा कुनै जरिवाना गरिएको छैन,’ उनले भने, ‘जतिखेर सवारीसाधन होल्ड गरे पनि साँझ ६ बजेपछि मात्र छाड्ने गरेका छौं ।’

उनका अनुसार लकडाउनको अवधिमा मंगलबारदेखि उल्लंघन गर्ने सवारीसाधनको संख्या बढ्दै गएको छ । मंगलबार १ हजार ५ सय ८४ दुई पाङ्ग्रे र २ सय २२ चार पाङ्ग्रे गरी १ हजार ८ सय ६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको उनले बताए । बुधबार २ हजार ४ सय र बिहीबार अपरान्हसम्म १ हजार ६ सय ७७ सवारी नियन्त्रणमा लिएको छ । ट्राफिक महाशाखाको तथ्यांकअनुसार लकडाउन अवधिमा ५० हजारभन्दा बढी सवारी नियन्त्रणमा लिइसकेको छ । जसमध्ये दुई पाङ्ग्रे ४५ हजारभन्दा बढी छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?