कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमै छैनन् तोकिएजति क्वारेन्टाइन

अहिलेसम्म केही नगरपालिकाले मात्र थोरै संख्यामा क्वारेन्टाइन र आइसोलेसन कक्ष तयार पारे पनि ती विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छैनन् ।
सीमा तामाङ

काठमाडौँ — कोरोना संक्रमणको जोखिम बढिरहे पनि काठमाडौं उपत्यकाकै स्थानीय तहले अझै आवश्यक तयारी गरिसकेका छैनन् । अहिलेसम्म केही नगरपालिकाले मात्र सामान्य क्वारेन्टाइन र आइसोलेसन बनाएका छन् । ती पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छैनन् ।

काठमाडौंमै छैनन् तोकिएजति क्वारेन्टाइन

काठमाडौंमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ । बाहिरी जिल्लाका १४ संक्रमित पनि यहीँ छन् । भारतबाट र अन्य जिल्लाहरूबाट आएकाको चाप यहाँ पनि बढ्दै छ ।

भारतबाट फर्केकालाई राख्न क्वारेन्टाइन नै नपाएको प्रहरीले जनाएको छ । ‘क्वारेन्टाइन नभएकाले ठाउँ खोजिरहेका छौं,’ काठमाडौंका प्रहरीप्रमुख श्यामलाल ज्ञवालीले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी शंकास्पद बिरामी तथा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि पनि क्वारेन्टाइन आवश्यक पर्ने बताउँछन् । ‘संक्रमित र शंकास्पद दुवैलाई अस्पतालमा व्यवस्थापन गर्न सकिँदैन,’ उनले भने, ‘त्यस कारण संक्रमितका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ ।’

काठमाडौं महानगरले नै अहिलेसम्म छुट्टै क्वारेन्टाइन तयार गरेको छैन । केही वडाले आफ्नै तरिकाले व्यवस्थापन गरिरहेको प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘वडाले केही दिन राख्न सामान्य क्वारेन्टाइन तयार गरेका छन् तर ती मापदण्डअनुसार छैनन्,’ उनले भने, ‘मेरो वडा नम्बर १५ मा १५ शय्याको क्वारेन्टाइन तयार छ ।’

कागेश्वरी मनोहरा नगरपालिकाले अहिलेसम्म ४ शय्याको आइसोलेसनसहित ५८ शय्याको क्वारेन्टाइन मात्र तयार गरेको छ । जबकि संघीय सरकारले हरेक स्थानीय तहलाई २ हजार शय्याको क्वारेन्टाइन बनाउन गर्न निर्देशन दिएको थियो ।

नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार बाहिरी जिल्लाबाट आएकालाई क्वारेन्टाइनमा राख्दै केहीलाई आरडीटी र केहीलाई पीसीआर विधिबाट परीक्षण गरी घर पठाइएको छ । सरकारले नै होम क्वारेन्टाइनलाई जोड दिनुपर्ने उनको भनाइ छ ।

बूढानीलकण्ठ नगरपालिकाले छहारी भवनमा ७० शय्याको क्वारेन्टाइन तयार पारिएको जनाएको छ । त्यहाँका १३ वटै वडामा २५ देखि ३० शय्याको क्वारेन्टाइन निर्माण अन्तिम चरणमा रहेको नगरप्रवक्ता नवराज भट्टराईले बताए । नगरपालिकाले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेवीलगायत १ सय १ जनाको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो ।

दक्षिणकाली नगरपालिकाले हालसम्म १२ शय्याको क्वारेन्टाइन बनाएको छ । चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र र मनमोहन मेमोरियल अस्पतालमा क्वारेन्टाइन तयार गरिएको उपमेयर वसन्ती तामाङ (डंगोल) ले बताइन् । ‘क्वारेन्टाइनको मापदण्ड छुट्टै रहेछ,’ उनले भनिन्, ‘मनमोहन अस्पतालसँगको समन्वयमा थप बनाउने योजना छ ।’ नगरमा बाहिरी जिल्लाबाट आएकालाई आरडीटी अनिवार्य गरिएको उनले बताइन् ।

टोखा नगरपालिकाले ३८ शय्याको क्वारेन्टाइन तयार गरेको छ । क्वारेन्टाइन थप्ने योजना बनाइरहेको उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । नागार्जुन नगरपालिकाले ९ शय्याको आइसोलेसन र ३० शय्याको क्वारेन्टाइन तयार गरेको छ । कीर्तिपुर नगरपालिकाले ५०/५० शय्याको क्वारेन्टाइन र आइसोलेसन बनाइएको जनाएको छ ।

शंखरापुर नगरपालिकाले ३४ शय्याको क्वारेन्टाइन तयार गरे पनि मापदण्डअनुसार नभएको उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले बताइन् । ‘आपत्कालीन अवस्थाका लागि तयार गरेका छौं,’ उनले भनिन् ।

गोकर्णेश्वर नगरपालिकाले जोरपाटी चोकमै स्थापना हुन लागेको अस्पतालसँग समन्वय गरेर ६ शय्याको भेन्टिलेटर र ५ शय्याको आईसीयूसहितको आइसोलेसन कक्ष तयार पार्दै छ । नेपाल मेडिकल कलेजमा ७ शय्या र शंखरापुर अस्पतालमा ५ शय्याको आइसोलेसन कक्षसमेत तयार गरिसकेको नगरप्रमुख सन्तोष चालिसेले बताए । कोरोना संक्रमित नगरवासीको उपचार खर्च पनि नगरले नै बेहोर्ने घोषणा गरेको छ ।

चन्द्रागिरि नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको सामान्य आइसोलेसन तयार गरेको छ । ५० जनाको क्षमताको क्वारेन्टाइनसमेत तयार रहेको नगरप्रवक्ता हरिभक्त महर्जनले बताए ।

प्रकाशित : जेष्ठ १८, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?