कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

काठमाडौं उपत्यकामा बढ्यो चहलपहल

रासस

काठमाडौँ — सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् । 

काठमाडौं उपत्यकामा बढ्यो चहलपहल

सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लकडाउन’ खुकुलो भएको भन्ने बुझाइका कारण काम नपरी पनि घर बाहिर निस्कन थालेको पाइन्छ । पहिले बिहान, साँझमात्रै खुल्ने खाद्यान्न पसल जुनसुकै समय खोल्ने प्रशासनको निर्णयका कारण पनि उपत्यकाका विभिन्न भागमा दिनभरजसो मानिसको आवतजावत देखिएको छ । कतिपयले सवारी साधन बाक्लो हुँदा सडकमा जाँच हुँदैन भनेर पनि निस्केको पाइएको छ ।

कतिपय व्यक्ति अब त लकडाउन खुकुलो छ भन्दै घुम्न निस्केको पनि भेटियो । सीमित क्षेत्रमा मात्रै खुकुलो बनाइए पनि धेरैमा पहिलेजस्तै पालना गर्नुपर्छ भन्ने थाहा नभएको वा थाहा भए पनि प्रहरी कम परिचालन हुन्छन् भन्ने सोचेर बाहिर निस्केको पाइएको छ । उपत्यकामा निर्माणका लागि आवश्यक हार्डवेयर पसल खुल्ने भनिए पनि कतिपय स्थानमा चिया पसल, क्याफे, कस्मेटिक्सलगायत पसलसमेत खुलेको देखिन्थ्यो ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले भने कार्यालय र उद्योग खुलेपछि आवतजावत बढ्नु स्वाभाविक भएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) जीवन श्रेष्ठले चहलपहल बढ्दा सवारी पासको दुरुपयोग बढ्न सक्ने भएकाले जाँच बढाइएको बताए । लकडाउनको सुरुको साताभन्दा पछिल्लो समय पासको दुरुपयोग बढिरहेको उनले बताए । ट्राफिक प्रहरीले विभिन्न स्थानमा जाँच पनि बढाएको उनको भनाइ छ ।

आइतबार दिउँसोसम्म सवारी पासको दुरुपयोग गर्ने चार पाङ्ग्रे १०२ र दुई पाङ्ग्रे ४५८ गरी ५६० सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । दैनिक ७०० देखि ८०० सम्म सवारी साधन कारवाहीमा परिरहेको उनले बताए । अहिले खुलेका कार्यालयमा जनशक्ति र सवारी साधनको प्रयोग सहीरुपमा भइरहेको छ/छैन भनी नियमनको जिम्मेवारी सम्बन्धित मन्त्रालयको सचिवलाई दिइएको छ । त्यससँगै ट्राफिक प्रहरीले पनि जाँच गरिरहेको छ ।

उपत्यकामा भीडभाड हुन नदिन कस्ता सवारी साधन कुन समयमा चल्न दिने भनी समय निर्धारण गरिएको छ । विकास निर्माणसम्बन्धी सामग्री बोकेका हेभी सवारी राति ८:०० देखि बिहान ६:०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९:०० देखि १९:३० सम्म तथा बेलुका ३:३० देखि ५:०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रमा भने पहिलेदेखि नै लकडाउनको समयमा समेत अत्यावश्यकबाहेकका पसल खुल्ने गरेकामा अहिले त्यो अझै बढेको छ । अत्यावश्यकबाहेकका पसल खुल्दा ती स्थानमा जुनसुकै समयमा मानिसको आवतजावत देखिन्छ । काँठ क्षेत्रमा प्रहरीको उपस्थिति कम हुँदा मानिस छोटो दूरीमा सवारी साधनको प्रयोग गरिरहेका छन् । यस क्षेत्रमा बिहान र साँझको समयमा घुम्न निस्कनेको भीड देख्न सकिन्छ । धेरै ठाउँमा चाडपर्वको समयमा जस्तै समूहमा बसेर खेल खेल्ने गरेको देखिन्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञवालीले अहिले खुल्ला भएका विभिन्न कार्यालय र निर्माण क्षेत्रका कारण चहलपहल बढ्नु स्वाभाविक भएको बताए । उनका अनुसार खाद्यान्न र औषधिका पसल पहिले निश्चित समयमात्रै खुल्ने भए पनि अहिले दिनभर खुल्दा पनि मानिसहरु सडकमा बढी देखिएका छन् । लकडाउन उल्लङ्घन गर्नेलाई भने कारबाही भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख २८, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?