कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचारमा खटिँदा मृत्यु भएमा परिवारलाई १० लाख 

सीमा तामाङ

(ललितपुर) — गोदावरी नगरपालिकाले कार्यक्षेत्रमा खट्ने क्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमित भएमा उपचार नि:शुल्क र मृत्यु भएमा तिनका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

उपचारमा खटिँदा मृत्यु भएमा परिवारलाई १० लाख 

गोदावरी नगर कार्यपालिकाको शनिबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । उपचारको क्रममा स्वास्थ्यकर्मी बिरामी तथा अंगभंग भए त्यसको उपचार खर्चसमेत नगरपालिकाले ब्यहोर्ने जनाएको छ । जोखिम मोलेर कोरोना संक्रमण फैलन नदिन आआफ्नो ठाउँबाट सहयोग गरिरहेकाहरुको मनोबल बढाउन यो निर्णय गरिएको नगरप्रमुख महर्जनले बताए । ‘उहाँहरुको योगदानको सम्मान गर्न हामीले यो निर्णय गरेका हौं,’ उनले भने, ‘नगरपालिकाको यस निर्णयबाट स्वास्थ्यकर्मीलाई मनोबल उच्च राख्न मद्दत पुग्नेछ ।’


बैठकले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन पाँच सय रुपैयाँका दरले प्रोत्साहन भत्ता दिनेसमेत दिने निर्णय गरेको नगरप्रमुख महर्जनले बताए । नगरपालिकाले कोरोना भाइरस जोखिम न्यूनीकरण गर्ने कामका लागि प्रत्येक वडालाई दुई लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ । नगरपालिकाभित्रका अपागंता भएका, एकल महिला, सुत्केरी (६ महिनासम्म) महिलाको विवरण संकलन गरी विशेष राहत प्याकेज तयार पार्ने निर्णय भएको उनले बताए ।


त्यसैगरी नगरपालिकाभित्र दैनिक ज्याला मजदुरीबाट जीवन निर्वाह गर्नेहरुको विवरण संकलन गरी राहत प्याकेज ल्याउने उनले जानकारी दिए । उनका अनुसार लकडाउनको अवधिभर स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीलाई एक महिनामा २५ लिटरका दरले इन्धन दिने निर्णयसमेत बैठकले गरेको छ ।

नगरपालिकाले बज्रबाराही अस्पतालमा कोरोना संक्रमित बिरामी आएमा उनीहरुलाई राख्न १० बेडको ‘आइसोलेसन वार्ड’को व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७६ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?