कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तिम विश्वास  ‘घाट वैद्य’

उपचार सम्भव नभएपछि अस्पतालले अन्तिम अवस्थामा पुगेका बिरामीलाई घर फर्काउँछ । विश्वास हुनेहरू पशुपतिस्थित वैद्यकहाँ जान्छन् । यहाँ पुर्‍याइएका केही भने निको भएर खुसी हुँदै घर फिर्ता हुन्छन् । 
दामोदर न्यौपाने

काठमाडौँ — राजधानीको एक अस्पतालले ललितपुरका मिठाबहादुर खड्काको उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएपछि परिवारले पशुपतिस्थित आर्यघाट सेवा केन्द्र पुर्‍याए । केन्द्रका वैद्यसँग केही दिन उपचार गरेपछि २०७४ कात्तिक १७ गते घर फर्काइयो । अस्पतालले उपचार गर्न नसक्ने भन्दै फर्काइएका खड्का अहिले स्वस्थ छन् । 

अन्तिम विश्वास  ‘घाट वैद्य’

घाट वैद्यकहाँ उपचार गराउँदा खड्का ८९ वर्षका थिए । ‘त्यति वृद्ध उमेरकालाई पनि हामीले सफल उपचार गर्‍यौं,’ घाट सेवाका प्रमुख सुवर्ण वैद्यले भने, ‘अन्त उपचार गरेर केही नलागेपछि यहाँ आउँछन् । आएका मध्ये केही निको भएर फर्कन्छन् ।’


अस्पतालले घरमा फिर्ता गरिदिएको दुई दिनपछि खड्कालाई घाट वैद्यकहाँ लगिएको थियो । ‘आईसीयूमा राखेर उपचार गर्दा पनि ठिक नभएपछि परिवारको सल्लाहमा हामीले आर्यघाट सेवा केन्द्रमा ल्याएका थियौं,’ छोरा मनोहरले घाट सेवाको आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘यहाँ ल्याएपछि सुवर्ण वैद्य बाको हेरचाह र धेरै औषधिसम्बन्धी जानकारी पाइयो । बुबालाई क्रमिक सुधार भएको र वैद्य बाको सल्लाहअनुसार घर लैजाने निर्णय गरियो ।’


नेपालगन्ज उपमहानगरपालिकाका आशा शाहलाई पनि अस्पतालले घर पठाइदिएपछि घाट सेवा लगियो । आइसीयूमा सात दिन र वार्डमा पाँच दिन राखेपछि उनलाई अस्पतालले घर लैजान सुझाव दिएको थियो । २०७५ साउन १६ मा अस्पतालले उनलाई घर पठाइदियो । परिवारको सल्लाहपछि भदौ २ गते ६८ वर्षीय शाहलाई घाट सेवा पुर्‍याइयो । केही दिनको उपचारपछि उनी घरै फर्किए । वैद्य सुवर्णका अनुसार माया मारेरआएकाहरू आफ्ना मान्छे घर फर्काएर लैजाँदा निकै खुसी हुन्छन् ।


केन्द्रका अनुसार २०६८ मा अन्तिम अवस्थाका ५ सय ७८ जना ल्याइएको थियो । त्यसमध्ये ४ सय ८१ को मृत्यु भयो भने ९७ जना घर फर्के । २०७२ वैशाखमा ३५ जना आएकोमा २८ जनाको मृत्यु भयो, ७ जना फर्किएका थिए । यस्तै, २०७५ चैतदेखि २०७६ माघसम्म यहाँ आउनेको संख्या ३ सय १२ थियो । २ सय ४२ जनाको पशुपतिमै दाहसंस्कार गरियो, ७० जना घरै फर्किए । आएका मध्ये कमैमात्र फिर्ता हुने गरेका छन् ।


कसरी हुन्छ उपचार ?

मन्दिरको पूर्वीगेटसँगै रहेको घाट सेवामा तीन चरणमा बिरामीको सेवा गरिने वैद्य सुवर्णले जानकारी दिए । चारतले भवनमध्ये तीन तला बिरामीका लागि छुट्याइएको छ । केन्द्रमा ल्याइएका बिरामीलाई सुरुमा तल्लो तलामा राखिन्छ । तल्लो तला आर्यघाटसँगै जोडिएको छ । यो तलामा विशेष सुविधा छ । ‘यो आइसीयूजस्तै हो,’ उनले भने, ‘बिरामीको रोगअनुसारको यहाँ विशेष औषधि उपचार गरिन्छ ।’


बिरामीको अवस्था अलि सुधार भएपछि दोस्रो तलामा सारिन्छ । त्यहाँ पनि थप सुधार भए तेस्रो तलामा लगिन्छ । त्यहाँ उपचार सकेर घर पठाइन्छ । ‘घर पठाउने बेलामा माथिल्लो तलाबाट पशुपतिको पूर्वीगेट हुँदै पशुपतिनाथको दर्शन गराइन्छ,’ वैद्य सुवर्णले भने । बिरामीमा निको हुन्छु भन्ने विश्वास भए आत्मबल बढ्ने उनी बताउँछन् । ‘मलाई निको हुन्छ भनेर विश्वास गर्नुपर्छ,’ उनले भने, ‘आत्मविश्वासले रोगसँग लड्ने क्षमता बढाउँछ । विश्वास गरेपछि खानपिनमा ध्यान दिनुपर्छ ।’ आयुर्वेदिक औषधि हरेक घरको भान्सामा हुने भएकाले त्यो चिनेर प्रयोग गर्न उनले सल्लाह दिए । ‘आधुनिक विज्ञानले बनाएका एन्टिबायोटिकमा बेसारको प्रयोग भएको हुन्छ, यो हामीलाई ज्ञान छैन । नुन हामी जिब्रोको स्वादका लागि खाने गर्छौं तर नुन खाना पचाउन हो,’ उनले भने, ‘भान्छामा भएका मेथी, ज्वानो, टिम्बुर सबै औषधि हुन् ।’


खानासहित नि:शुल्क उपचार

यहाँ आउने बिरामीको उपचार नि:शुल्क हुन्छ । बिरामी र कुरुवालाई समेत खानाको व्यवस्था नि:शुल्क गरिएको छ । ‘अस्पतालमा पैसा सकेर आएका हुन्छन्,’ वैद्य सुवर्णले भने, ‘यहाँ आएर नि:शुल्क सेवा, खानेबस्ने व्यवस्थासमेत हुँदा बिरामीले आनन्द महसुस गरिरहेको पाउँछु । त्यतिबेला मलाई पनि अति आनन्द लाग्छ ।’ खाना बनाउन छुट्टै भान्छेको समेत व्यवस्था गरिएको छ ।


बिरामीको आफन्तलाई ध्यान दिएर भवनको माथिल्लो तलामा ‘रिफ्रेस’ हुने ठाउँको व्यवस्था पनि छ । त्यहाँबाट पशुपतिनाथ मन्दिरको माथिल्लो तला देखिन्छ । पूर्वतिर मृगस्थली र पारि लस्करै देवालय देखिन्छन् ।


‘अन्तिम अवस्थामा पुगेका हुनाले कतिपय आफन्त त मलामी जाने मुडमा हुल बाँधेर आएका हुन्छन्,’ उनले भने, ‘कोहीलाई चुरोट तान्न मन लाग्ला, माथि नै गएर खाऊन् । टहलिऊन् भनेर यहाँ व्यवस्था गरिएको हो ।’ यसका लागि ६० हजार खर्च गरेको उनले जानकारी दिए । कुरुवालाई समेत सुत्न छुट्टै बेडको व्यवस्था गरिएको छ ।


क्षमता विस्तार

परापूर्वकालदेखि आर्यघाटको छेउमै फलेक राखेर सुरु भएको वैद्य सेवालाई सुवर्णले नै केन्द्रको रूपमा विकास गरे । संस्कृतिविद् गोविन्द टण्डनका अनुसार १८७० माघ १० मा राजा गिर्वाणयुद्ध विक्रम शाहले गुठी राखेर घाट वैद्यको व्यवस्था गरेका थिए । अन्तिम अवस्थाका बिरामीको हेरचाह गर्न घाटैपिच्छे वैद्यको व्यवस्था गरिएको थियो । गुठी संस्थानले वैद्यको खान्गी हटाएपछि वैद्य परम्परा हराउँदै गयो । पछि २०५२ सालमा सुवर्णले नै सुविधाजनक घाट सेवा केन्द्रको रूपमा विस्तार गरे । सेवालाई ३५ शय्यामा विस्तार गरे । नर्सहरू राखियो । अहिले भान्छामा काम गर्नेसहित पाँच जना कर्मचारी छन् ।


कसरी जुट्छ आर्थिक स्रोत ?

सेवा केन्द्रका लागि बजेटको व्यवस्था छैन । वैद्य सुवर्णले आफ्नो सम्पत्ति खर्च गरेका छन् । त्यसबाहेक कोही दाताले पनि सहयोग गर्छन् । ‘म दिनमा एक छाक खान्छु,’ ७० वर्षीय सुवर्ण भन्छन्, ‘मलाई सम्पत्ति किन चाहिएको छ र ? सेवामै खर्च गरेको छु ।’ गुठी संस्थानले न्यून पारिश्रमिक दिएर उनीसहित दुई जना वैद्यको व्यवस्था गरेको छ । उनीहरूले मासिक दुई सय रुपैयाँमा लामो समय सेवा गरे । अहिलेचाहिँ बढाएर मासिक पाँच हजार रुपैयाँ पुर्‍याएको उनले जानकारी दिए । महिनामा हुने खर्च र आउने बिरामीको हिसाबकिताब उनैलाई थाहा छैन ।


गिर्वाणयुद्ध विक्रमले नै घाट वैद्यका लागि १० रोपनी ८ आना जग्गा गुठी राखिदिएका थिए । टण्डनका अनुसार त्यसबाट वैद्यलाई १० मुरी, ४ पाथी, ४ माना कुत तोकिएको थियो । त्यसबेला कुतको तिर्जा उठाएर खानुपर्ने चलन थियो । २०१८ मा गुठी संस्थान स्थापना भएपछि जग्गा संस्थान मातहत गयो । गुठीले त्यही जग्गा रैकर गरिदियो । गुठीले घाटका खान्गी हटाएपछि सेवा बन्द भयो । कुत उठ्न छाडेपछि गुठीले महिनामा दुई सय रुपैयाँ तोकेर काम लगाउँदै आएको थियो । वैद्य सुवर्ण भन्छन्, ‘पुर्खाले गरेको सेवाका कामलाई हराउन दिनु हुँदैन भनेर लागिरहेकै छु ।’

प्रकाशित : फाल्गुन २८, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?