कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिको ढोका खोल्न ढिलाइ

कीरा परेको चामल खुवाउने, दूषित पानीमा खाना पकाउनुपर्ने, बस्ने घर, शौचालय, नुहाउने ठाउँ नभएपछि पशुपतिका भण्डारीहरू आन्दोलनमा उत्रिएर मन्दिरको ढोका एक घण्टा ढिला खोल्न थालेका छन् 
दामोदर न्यौपाने

काठमाडौँ — पशुपति विकास कोषले गुणस्तरहीन खानेकुरा र सुत्ने ठाउँको व्यवस्थापन नगरेको भन्दै भण्डारीहरूले विरोध गरेर मन्दिरको ढोका एक घण्टा ढिला खोल्न थालेका छन् । शिवरात्रिपछि बिहान ४ बजे खोल्नुपर्ने ढोका पाँच बजे मात्रै खोल्न थालिएको पशुपतिनाथका भण्डारी केदारमान भण्डारीले बताए । 

पशुपतिको ढोका खोल्न ढिलाइ

भण्डारीको अनुसार वाग्मतीको फोहोर मिसिएको इनारको पानीमा पशुपतिनाथलाई भोग लगाउने खाना बनाइन्छ । पशुपतिनाथलाई हरेक दिन भात, दाल, तरकारी, अचार, हलुवालगायत भोग लगाउनुपर्ने हुन्छ । ‘पालो बस्ने भण्डारीले पनि पशुपतिनाथलाई भोग लगाएको खाना नै खानुपर्छ । भट्टले खाना पकाउँछन्,’ केदार भण्डारीले भने, ‘भट्टले बनाएर कुकुर बाँदर लगायतलाई गरी ९ भाग लगाउँछन् । ९ भागमध्ये एक भाग भण्डारीले खानुपर्छ ।’

भण्डारीका अनुसार पशुपतिमा पकाइने चामल मार्सी वा बासमती हुनुपर्ने लालमोहरमै उल्लेख छ । तर, पशुपतिमा मनसुली चामलको भात पकाइने गरेको केदार भण्डारीले बताए । ‘यो चामल पनि कीरा परेका हुन्छन् । कीरा टिपेर पकाइन्छ । दाल पनि उस्तै हुन्छ,’ उनले भने, ‘हामीले यस्तै चामल र दालको खाना खाइरहेका छौं ।’


पशुपतिनाथको आन्तरिक व्यवस्थापनमा पशुपति क्षेत्र विकास कोषले लापरबाही गरेको भन्दै सुधार्न माग राखेर भण्डारीहरू आन्दोलनमा उत्रिएका हुन् । भोग खान बस्ने ठाउँसमेत नभएको भण्डारीको गुनासो छ । पालो बस्ने भण्डारीको घर पनि भूकम्पले भत्किएको छ । केही समय भण्डारी भत्केकै घरमा बसेका थिए । पहिला मन्दिरको चारैवटा ढोकामा भण्डारी सुत्ने गरेका थिए । मन्दिरको सुरक्षामा प्रहरी खटिएपछि भने मन्दिरसँगै घरमा बस्ने गरेका थिए । ‘बिहान ३ बजे उठेपछि साँझको आरती सकिएपछि भण्डारीको काम सकिन्छ,’ केदार भण्डारीले भने, ‘चौबिसै घण्टा खटिनुपर्ने भण्डारीलाई सुत्ने ठाउँसमेत छैन ।’ कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भान्साघर निर्माणको जिम्मेवारी पाएको ठेकेदारले काम रोकेकाले समस्या भएको बताए । ‘ठेकेदारले असारसम्म सक्छु भनेका छन,’ खतिवडाले भने, ‘भान्साघर निर्माण सकिएपछि भण्डारीलाई सुत्ने ठाउँ, शौचालयलगायतका समस्या समाधान हुन्छ ।’


कोषले माग पूरा नगरे मन्दिरको ढोका खोल्ने समय बढाउँदै लैजाने केदारमान भण्डारीले बताए । भण्डारीले शिवरात्रि अघि नै कोषलाई जानकारी दिएर विरोधस्वरूप ढोका एक घण्टा ढिला खोल्ने जानकारीसमेत दिएका थिए । ‘कोषले समस्या समाधान गर्छौं भनेको थियो,’ भण्डारीले भने, ‘हामीले शिवरात्रिदेखि नै मन्दिरको ढोका एक घण्टा ढिला खोल्दै आएको हौं । तैपनि कोषले अहिलेसम्म समस्या सुनवाइ गरेको छैन ।’


कोषका कार्यकारी निर्देशक खतिवडाले भण्डारीले उठाएका माग पूरा गर्न लागिरेहेको बताए । ‘दुई/तीन दिनमै माग सम्बोधन हुन्छ,’ खतिवडाले भने, ‘केही माग अहिले पूरा हुन्छ । केही माग पशुपतिनाथको भान्साघर निर्माण भएपछि पूरा हुन्छ ।’ पशुतिनाथको मन्दिर खोल्ने र बन्द गर्ने जिम्मेवारी भण्डारीको हुन्छ । यहाँ भण्डारीको चारवटा कवल छन् । ती चारै कवलका भण्डारीले पालैसँगै पशुपतिनाथमा खट्नुपर्छ । मन्दिरको सम्पूर्ण जिम्मेवारी नै भण्डारीको हुन्छ । मन्दिरभित्रको गरगहनाको रेखदेख गर्ने, नित्य पूजाको तयारी गर्ने, चन्दन घोट्ने, भट्टलाई नित्यपूजा गर्न सहयोग गर्ने, मन्दिरको गर्भगृहको सरसफाई गर्नेलगायतका जिम्मा भण्डारीले पाएको छ ।


बिहान ३ बजे नै उठेर शौच, नुहाइधुवाइलगायत नित्य कर्म गरेर मन्दिर खोल्नुपर्ने परम्परा छ । तर नुहाउने ठाउँसमेत नभएको भण्डारीले गुनासो छ । भण्डारीका लागि भण्डारमा र गेट नजिकै शौचालय गरी दुईवटा शौचालय थिए । ती दुवै शौचालय २०७२ सालको भुइँचालोले भत्काइदियो । भण्डारको छेउमै माटोको घ्याम्पोमा पानी राखिएको हुन्थ्यो । ‘मान्छेले नै भरेर पानी राखिएको हुन्थ्यो,’ भण्डारीले भने, ‘अहिले यो कुनै पनि व्यवस्था छैन ।’

२०७२ सालदेखि नै व्यवस्था गर्न कोषलाई आग्रह गरे पनि वास्ता नगरेको भण्डारीको गुनासो छ । मन्दिरभित्र दरबन्दीअनुसारको भण्डारीसमेत नभएको उनीहरूको आरोप छ ।


पशुपतिमा भण्डारीको दरबन्दी

– मूल भण्डारी : ४ जना

– पालोवाला भण्डारी : १ जना

– कोटवाल : ४ जना

– ढोकापाले : ४ जना

– बाादर धपाउने पाकापिवा : २ जना (एक जना मात्रै)

– घडीवाल : २ जना (खाली)

– टहलुवा : २ जना

(एक जना मात्रै)

– ब्राम्हण : २ जना


प्रकाशित : फाल्गुन २७, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?