कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तापक्रम नाप्दै, बस चढाउँदै

सीमा तामाङ

काठमाडौँ — बबरमहलबाट शुक्रबार विद्युतीय बसमा तीन जना चढे । बसकी कर्मचारी निकिता सिवाकोटी यात्रुको तापक्रम नाप्न तयार थिइन् । तापक्रम जाँचेपछि कोरोना भाइरससम्बन्धी चेतनामूलक ब्रोसर लिएर उनीहरू सिटमा बसे । 

बस कोटेश्वर चोक पुग्दासम्म कुनै यात्रु चढेनन् । बसमा भइरहेको गतिविधि नियाल्दै यात्रु सुशीला सुुवेदीले भनिन्, ‘सबै सार्वजनिक यातायातमा यस्तो सुविधा हुनुपर्छ । तर सधैं यही बस भेटिँदैन ।’ बालकुमारी चोकबाट सोही बसमा तीन र ग्वार्कोबाट पाँच जना चढे । ‘विद्युतीय गाडीमा ज्वारो नापेर मात्रै यात्रा भनेर समाचार पढेको थिएँ, संयोगले त्यही गाडी चढ्न पाएँ,’ सातदोबाटोबाट चढेकी सरला सुवेदीले भनिन् ।


महालक्ष्मीस्थानबाट चढेका एक जना भने आक्रोशमा थिए, ‘चीनबाट आएका मानिससँगै हरेक सामान चेक गर्नुपर्छ । यहीँ बसेका मानिसलाई चेक गरेर के हुन्छ ?’ अर्का यात्रुले थपे, ‘नेपालीलाई आफ्नै सुरक्षाको लागि तापक्रम चेक गर्दा पनि पच्दैन ।’ केहीले सहजै तापक्रम जाँच्न दिन्थे भने केही नसुनेझैं गर्थे । कलंकी, स्वयम्भू पुग्दासम्म यात्रु चढ्ने र ओर्लने क्रम जारी थियो । केही यात्रु कोरोनाबाट बच्ने उपायबारे जिज्ञासा राखिरहेका थिए ।


बस वनस्थलीमा पुग्यो । त्यहाँबाट चढेका दुईमध्ये एक जनाले भने, ‘सरकारले केही गरेन, तपाईंले नापेर के हुन्छ ? केही समयको लागि मात्र त होला ।’ बसन्धुराबाट तीन जना चढे । एक यात्रुले भने नाप्न दिएनन् । उनी घरबाट निस्कँदा परीक्षण गरेर निस्केको बताइरहेका थिए । यात्रुको तापक्रम जाँच गरिरहेकी सिवाकोटीले समेत चित्त बुझाउन सकिनन् । बसन्धुरादेखि महाराजगन्ज, चावाहिल, गौशाला, सिनामंगल हुँदै तीनकुनेसम्म आइपुग्दा ३४ जना यात्रु चढे । चक्रपथ परिक्रमा गरेर तीनकुने आइपुग्दा दिउँसो ४ बजेर २० मिनेट गएको थियो ।


सुन्दर यातायात प्रालिका दुई वटा विद्युतीय बसमा बिहीबारदेखि यात्रुको तापक्रम परीक्षण गरेर मात्र चढाउन थालिएको छ । बसमा चालक, सहचालकसहित अन्य दुई जना कर्मचारी पनि थिए । एक जना तापक्रम जाँच्ने, अर्का चेतनामूलक ब्रोसर बाँड्ने । प्रालिका अध्यक्ष भेषबहादुर थापाले सार्वजनिक उत्तरदायित्व भएकाले जनचेतना अभियान थालिएको बताए । ‘हामीले सुरु गर्‍यौं, अब अन्य सार्वजनिक सवारीसाधनले पनि सुरु गरून् भन्ने चाहना हो,’ उनले भने ।

प्रकाशित : फाल्गुन २५, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?