कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगं छेँ पुनर्निर्माणमा बजेट अभाव

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको किलागल टोलको एउटा घर छ, आगं छेँ (आँगम घर) । इन्द्रजात्रामा देखाइने नाचको तयारीका लागि प्रयोग हुँदै आएको उक्त घरमा भूकम्पले क्षति पुर्‍यायो । देवी नाच प्रवर्द्धन तथा संरक्षण समितिले व्यक्तिको नाममा भएको पाँचतल्ले उक्त घर गुठीमा नाममा किनेको थियो । तर अहिले पुनर्निर्माणमा रकम अभाव भएको समितिले जनाएको छ । 

दी प्याँख (देवी नाच) का गुरू इन्द्र, मोहनकृष्ण, ब्रम्मु, मचाकाजीलगायतका महर्जनहरूले एक करोड ८५ लाख रूपैयाँ जुटाएर घर किनेका थिए । उक्त घरमा नाचको प्रशिक्षण र देवीदेवताको साधना हुँदै आएको छ । ‘घरधनीले आँगम घर बिक्री गर्न लागेका थिए । देवता साधन गर्न समस्या हुने भएकाले सम्पूर्ण गुठीयार जुट्यौं,’ समितिका अध्यक्ष इन्द्र महर्जनले भने, ‘चन्दा संकलन र ऋण सापटी गरी घर किन्यौं । तर, भूकम्पले चर्केको भवनको पुनर्निर्माण गर्न

पाँच करोड रूपैयाँ लाग्ने भएपछि हामी आत्तिएका छौं ।’


घर भत्किए पनि गुठीयारहरूले परम्परा जोगाउन गोरखाको मनकामना मन्दिर पुगेर समेत पूजाआजा गरी प्रसाद चढाए । ‘बेलैमा पुनर्निर्माण नसके इन्द्रजात्रामा पूजाआजा तथा नाच प्रशिक्षण दिन समस्या हुनेछ,’ उनले भने, ‘प्रत्येक वर्ष कच्चापदार्थको मूल्य बढ्दै जाने भएकाले समयमै पुनर्निर्माण गर्नुपर्ने चुनौती पनि छ ।’ पुनर्निर्माणका लागि उक्त घर गुठीयारको श्रमदानमा भत्काइसकिएको छ ।

आँगम घर तन्त्रमार्गीद्वारा देवता स्थापना गरिएको गुप्त कोठा हो । नाच मञ्चन गर्नुअघि देवगणहरूले अनिवार्य रूपमा देवता साधना गर्नुपर्छ । जुन आँगम घरमा गरिन्छ । तर, देवी नाचका गुठीयारले भने काठमाडौं महानगर–१८ स्थित एक व्यक्तिको स्वामित्वको पेगोडा शैलीको मन्दिरमा पूजा गर्दै आइरहेका थिए । अहिले नाचका बहुमूल्य मुकुट, गरगहना तथा पोसाक देवी नाचका कजी (व्यवस्थापक) नातिकाजी महर्जनको घरमा राखिएको छ । बाजागाजा भने ८६ वर्षीय गुरु इन्द्र महर्जनको घरमा व्यवस्थापन गरिएको छ । प्रत्येक वर्ष साउनमा चौथी पूजा गरेर एक महिना देवगण तालिम दिनुपर्ने चलन छ । त्यो पनि हाल गुरुकै घरमा सञ्चालन भइरहेको छ । उनीहरूले पारिश्रमिक भने पाउँदैनन् ।


आँगम घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको मेयर विद्यासुन्दर शाक्यले बताए । पुनर्निर्माणका लागि पाँच करोड खर्च हुने प्राविधिकले अनुमानित लागत निकालेका छन् । ‘सांस्कृतिक सम्पदा संरक्षण गर्न वडाबाट सक्दो सहयोग हुनेछ,’ काठमाडौं महानगर–१८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले भने ।

प्रकाशित : फाल्गुन १७, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?