१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

एकै ठाउँ १ सय २६ बुद्ध

कान्तिपुर संवाददाता

ललितपुर — झल्लरसहित छत्रमणि, माणिक्य, हिरामोती र रत्नजडित मुकुट । लस्करै हातमा कमलको फूल लिएर बसेका लोकेश्वर, आर्यतारा, बसुन्धरादेवी, दीपंकरलगायतका बुद्ध मूर्ति । पाटन नागबहालमा बिहीबार बुद्ध मूर्तिहरूको पूजाआजाले माहोल भव्य बन्यो ।

एकै ठाउँ १ सय २६ बुद्ध

प्रत्येक पाँच वर्षमा मनाइने ‘सम्यक् महादान’ पर्वका अवसरमा कीर्तिपुर, चोभार र भक्तपुरका विहार तथा महाविहारका १ सय २६ प्राचीन बुद्ध मूर्ति एकै ठाउँमा राखियो ।


श्रीलंका, भुटान, मालदिभ्सलगायत मुलुकबाट समेत भिक्षुहरू सहभागी भए । भारतको कर्णाटकबाट आएका भिक्षु तेन्जिङ शेरप लामाले बोधित्व प्राप्त गर्ने विभिन्न चरणमध्ये सम्यक् महादान एक भएको बताए । ‘धेरै बुद्ध मूर्तिलाई एकै ठाउँमा भेला गराउँदा अनौठो शक्ति उत्पन्न हुन्छ,’ उनले भने, ‘हिजोआज बनाएका मूर्तिमा भने शुद्ध तामा र सुन प्रयोग गरिएको हुँदैन ।’


पर्वको अवसरमा शंखमुलस्थित यम्पी विहारका आजु (थकाली) हरूलाई ठकुरीवंश राजा भाष्करदेवका सन्ततिहरूले पाउ धोएर स्वागत गरेका थिए । बौद्ध धर्म संघका महासचिव दिनेश शाक्यका अनुसार ठकुरीवंश राजा भाष्करदेवका सन्तति भरिभारो नाम गरेका व्यक्ति दरिद्रता लुकाउन गोबर जम्मा गर्थे । धर्मप्रति उनको आस्था र समर्पणले संकलित गोबर सुनमा परिणत भयो । यही सुनबाट सात सय वर्षअघि सम्यक् महादान पर्व आयोजना गरिएको हो । वंशावलीअनुसार यो पर्व १८६१ सालसम्म प्रत्येक वर्ष हुन्थ्यो । त्यसयता प्रत्येक पाँच वर्षमा आयोजना हुन थालेको इतिल्हने सम्यक् महादान आयोजक समितिले जनाएको छ ।


पर्वमा भक्तजनहरूले दक्षिणा, अक्षता, धान, गहुँ, मकै, कालो भटमास, मास, फलफूल, मिठाई दान गरेका थिए । बुधबार उपत्यकाका देवीदेवताका मूर्ति पाटन दरबार क्षेत्रमा एकै ठाउँ भेला गरिएको थियो । ललितपुर–१६ का अध्यक्ष निर्मलरत्न शाक्यले ६० जना स्वयंसेवक खटाइएको बताए । पर्वका लागि १६ नम्बर वडा कार्यालयले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?