कलंकी दुर्घटना : श्रीमतीको झोलामा लाइसेन्स छुटेपछि...

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी वृत्त थानकोटको क्यान्टिनमा एउटा समूह मलिन आवाजमा कुरा गरिरहेका थिए । एक जना पुरुष भने नेपाली कागजमा घटना विवरण लेखिरहेका थिए । एउटी महिला हातमा पानीको बोतल लिएर सुक सुकाइरहेकी थिइन् ।

अरू दुई महिलाचाहिँ उनलाई सम्झाइरहेकी थिइन् । कलंकीमा सोमबार भएको दुर्घटनामा श्रीमान् शम्शेर गुरुङको मृत्यु भएपछि रिता गुरुङ बहिनी र आफन्तसहित प्रहरी कार्यालयमा उजुरी गर्न पुगेकी थिइन् । जुन दुर्घटनाले ११ वर्षदेखिको रिता र शम्शेरको सम्बन्ध टुटाएको छ । शम्शेर ट्रक चालक थिए ।


झापाबाट सिमेन्टको कच्चा पदार्थ हेटौंडामा झारे अनि त्यहाँबाट सिमेन्ट लिएर सोमबार अपराह्न काठमाडौं आइपुगे । उनीसँगै रिता पनि गएकी थिइन् । बालकुमारीमा सामान झारेर शम्शेर थानकोटको ग्यारेजतिर लागे । रिता भने कलंकी झरेर गोंगबुस्थित कोठातिर । शम्शेरले गाडी ग्यारेजमा राखेर फर्कने बताएका थिए । तर, नवलपरासीमा सिमेन्ट लिने ट्रिप पाएको भन्दै शम्शेरले रितालाई फोन गरे । उनी गाडी लिएर नागढुंगा पुगेपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) त रिताको झोलामा परेको थाहा पाए । झापाबाट फर्कंदा हेटौंडामा शम्शेरले आफ्नो लाइसेन्स रितालाई राख्न दिएका थिए ।


ब्लुबुक पनि ट्राफिक प्रहरीले लिएपछि उनी कागजपत्रविहीन भएका थिए । अनि गाडी फर्काएर ग्यारेजमा थन्क्याए । ‘ब्लुबुक लिए पनि चिट नदिएपछि ट्राफिक प्रहरी खोज्दै नागढुंगातिर गएका थिए । ब्लुबुक लिने ट्राफिक प्रहरी नभेटेपछि फकिएर ग्यारेजमै आए,’ ट्रक धनी निरनकुमार प्रधानले भने, ‘मेरो एउटा सामान छुटेको छ । सामान लिन घर जानुपर्ने भयो भनेर मेरो स्कुटर लिएर कलंकीतिर आएको थियो । दुर्घटनामा परेछ ।’


शम्शेरले श्रीमती रितालाई लाइसेन्स लिएर कलंकीसम्म आउन अर्‍हाएका रहेछन् । थानकोट–कलंकी साँझको जाममा बा४४प १८१० नम्बरको स्कुटर लिएर उनी कलंकीतिर आउँदै थिए । रिता पनि चिनजानको दाइको मोटरसाइकलमा कलंकीतिर आइरहेकी थिइन् । गंगबुबाट नयाँबसपार्क आएदेखि रिताले शम्शेरलाई फोन गर्न थालिन् । तर, फोन उठेन । ‘कति पटक फोन गरेँ । कहिले लागेन । कहिले घण्टी जान्थ्यो उठ्दैन्थ्यो,’ रिताले भनिन्, ‘बाफल आएर फेरि फोन गरे तर, फोन अर्कै मान्छेले उठाएर उहाँ दुर्घटनामा पर्नुभएको छ तपाईं वीर अस्पताल आउनुस् भन्दा त होसहवास उड्यो ।’ फोनमा कुरा हुँदा शम्शेर र रिताबीच कलंकीमा भेट्ने कुरा भएको थियो । तर, कलंकी पुग्न करिब ५०० मिटर मात्रै बाँकी छँदा ढुंगेअड्डाको ओरालोबाट खडकुले पुल नपुग्दै पछाडिबाट ना ६ ख २८७१ नम्बरको अनियन्त्रित ट्रकले शम्शेर चढेको स्कुटरलाई ठक्कर दियो । उनीभन्दा अघिअघि बा १५ ख ४५४३ नम्बरको स्कारपियो जिप अमृतबहादुर थापामगरले चलाइरहेका थिए । त्यही जिप र ट्रकको बीचमा च्यापिएर उनले ज्यान गुमाए ।


घटना भएको आधा घण्टापछि मात्रै रिताले शम्शेरको दुर्घटना भएको थाहा पाइन् । अस्पतालमा पुगेपछि जब उनलाई भेट्न दिइएन, त्यसपछि उनको मनमा चिसो पस्यो । आफन्तलाई फोन गर्न थालिन् । ५ कक्षामा अध्ययन गर्ने १० वर्षे छोरा पनि अस्पताल आइपुगे । शम्सेरको भने अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो । ‘हामी कलंकीबाट छुटेको डेढ घण्टा पनि नभई यस्तो घटना भयो,’ उनले रुँदै भनिन्, ‘अब हाम्रो विजोग हुन्छ ।’


उनी शम्शेरकी दोस्रो श्रीमती हुन् । चितवन कालिका नगरपालिका ४ शक्तिखोरमा जेठी श्रीमती र दुई सन्तान छन् । बिहे गरेको ५ वर्षमा मात्रै रिताले शम्शेरको अर्कीे पनि श्रीमती भएको थाहा पाइन् । शम्शेरका दाजुभाइ र अर्कीे श्रीमतीसमेत गाउँमा भएपछि रिता प्रहरीमा चालकविरुद्ध जाहेरी दिन पनि डराएकी हुन् । आउन सक्ने अबगालबाट जोगिन गाउँबाट कोही नआएसम्म प्रहरीमा जोहरी दिन पनि चाहेकी थिइनन् । चालक वीरेन्द्र साह प्रहरी हिरासतमा छन् ।


सर्लाहीबाट आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रक अनियन्त्रित हुँदा १२ वटा सवारीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी ९ जना घाइते छन् । ढुंगेअड्डाको ओरालो सुरु भएदेखि अनियन्त्रित भएको ट्रक कालिका पेट्रोल पम्प अगाडि स्कारपियोमा ठोक्किएपछि मात्रै रोकिएको ट्राफिक प्रहरी वृत्त कलंकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । प्रकाशित : फाल्गुन १४, २०७६ ०८:१८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेलम्ची आयोजना तीन महिनादेखि ठप्प

कान्तिपुर संवाददाता

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (दोस्रो) को काम तीन महिनादेखि ठप्प छ । ठेकेदार कम्पनीले फोहोर प्रशोधन केन्द्र निर्माण, पाइप बिछ्याउनेलगायतका काममा तीव्रता नदिएपछि ठप्प रहेको हो ।

सरकारले असारभित्र मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाए पनि पाइप बिछ्याउने, धारा जडान, फोहोर प्रशोधन केन्द्रको काममा भने अन्योलता छाएको छ ।

‘सुरुङ र हेडवर्कस निर्माण काममा तीव्रता पाएको छ,’ खानेपानी तथा सरसफाइ मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘यता काम ठप्प भएको छ, कम लागतमा टेन्डर गरेपछि ठेकेदारले काम गर्न सक्दैन भनेर बहाना निकाल्दै छ ।’ ६ वटै फोहोर प्रशोधन केन्द्रको ठेक्का भइसके पनि गुह्येश्वरीस्थित प्रशोधन केन्द्रको मात्र निर्माण सम्पन्न भइसकेको छ । गुह्येश्वरीमा ३ करोड २४ लाख लिटर क्षमता रहेको छ । तर, ललितपुरस्थित कोडकुमा निर्माण हुने प्रशोधन केन्द्रको प्रगति हुन सकेको छैन । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रशोधन केन्द्रको शिलान्यास गरेका थिए ।

३ महिनाअघि अनामनगर क्षेत्रमा गरिने भनेको धाराको परिक्षण हुनसकेको छैन । ‘पहिले पानी आउदैन भनेर चिन्ता थियो, अब पानी पाएपछि व्यवस्थापन कसरी गर्ने भन्नेमा चिन्ता छ’ ती अधिकारीले भने । आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख भोजविक्रम थापाले काम भइरहेको दाबी गरे । ‘काम भइरहेको छ, मिडियाले नकारात्मक कुरामात्र लेख्छ, मिडियाको काम नै नकारात्मक लेख्नेजस्तो छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×