मेलम्ची आयोजना तीन महिनादेखि ठप्प

कान्तिपुर संवाददाता

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (दोस्रो) को काम तीन महिनादेखि ठप्प छ । ठेकेदार कम्पनीले फोहोर प्रशोधन केन्द्र निर्माण, पाइप बिछ्याउनेलगायतका काममा तीव्रता नदिएपछि ठप्प रहेको हो ।

सरकारले असारभित्र मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाए पनि पाइप बिछ्याउने, धारा जडान, फोहोर प्रशोधन केन्द्रको काममा भने अन्योलता छाएको छ ।


‘सुरुङ र हेडवर्कस निर्माण काममा तीव्रता पाएको छ,’ खानेपानी तथा सरसफाइ मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘यता काम ठप्प भएको छ, कम लागतमा टेन्डर गरेपछि ठेकेदारले काम गर्न सक्दैन भनेर बहाना निकाल्दै छ ।’ ६ वटै फोहोर प्रशोधन केन्द्रको ठेक्का भइसके पनि गुह्येश्वरीस्थित प्रशोधन केन्द्रको मात्र निर्माण सम्पन्न भइसकेको छ । गुह्येश्वरीमा ३ करोड २४ लाख लिटर क्षमता रहेको छ । तर, ललितपुरस्थित कोडकुमा निर्माण हुने प्रशोधन केन्द्रको प्रगति हुन सकेको छैन । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रशोधन केन्द्रको शिलान्यास गरेका थिए ।


३ महिनाअघि अनामनगर क्षेत्रमा गरिने भनेको धाराको परिक्षण हुनसकेको छैन । ‘पहिले पानी आउदैन भनेर चिन्ता थियो, अब पानी पाएपछि व्यवस्थापन कसरी गर्ने भन्नेमा चिन्ता छ’ ती अधिकारीले भने । आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख भोजविक्रम थापाले काम भइरहेको दाबी गरे । ‘काम भइरहेको छ, मिडियाले नकारात्मक कुरामात्र लेख्छ, मिडियाको काम नै नकारात्मक लेख्नेजस्तो छ,’ उनले भने । प्रकाशित : फाल्गुन १४, २०७६ ०८:१२

प्रतिक्रिया
पठाउनुहोस्

मिचाहा प्रजाति नियन्त्रणमा आवश्यक अग्रसरता

सम्पादकीय

नेपालमा मिचाहा प्रजातिका वनस्पतिले जैविक विविधता र पारिस्थितिकीय प्रणालीको चक्रमा असर पार्दै गएको छ । तर, यसबारे विस्तृत अध्ययन नभएको र नगरिएको हुँदा यसको नियन्त्रण एवं नियमन गर्ने कार्य सरकारी संयन्त्रहरूको प्राथमिकतामा परेको देखिन्न । यसले गर्दा नजानिँदो पाराले मिचाहा प्रजातिको विस्तार व्यापक हुँदै गएको छ । त्यसको असर पनि देखिन थालेको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्ष र चितवन निकुञ्जमा ‘माइकेनिया म्याकारान्था’ नामको लहरे वनमाराले पोसिलो घाँस र बासस्थान ढाकिदिएपछि एकसिंगे गैंडा, मृग, हात्तीजस्ता घाँसमा निर्भर हुने वन्यजन्तुलाई समस्या भएका खबरहरू आएका छन् । माइकेनियाले पानीका घोल र बासस्थल ढाकिदिएपछि उपयुक्त बासस्थल र चरनक्षेत्र घट्दै गएको छ । वनमा पाइने घाँस र गैरकाष्ठ वन पैदावार पनि घटेको अनुभव गरिएको छ । मिचाहा प्रजातिले रैथाने वनस्पतिमाथि कब्जा गर्दा वनको पुनरुत्पादनमा पनि असर परेको छ । छोटो समयमै धेरै क्षेत्रफलमा फैलिने भएकाले अनावश्यक झाडी फडानी गर्न ठूलो मिहिनेत र लगानी गर्नुपरेको छ ।

नेपालमा बाह्य देशबाट भित्रिएका करिब २ सय प्रजातिका वनस्पतिमध्ये २६ वटालाई मिचाहाका रूपमा पहिचान गरिएको छ । लहरे वनमारा, तीतेपाती झार (पार्थेनियम), कालो र सेतो वनमारा, जलकुम्भी, वनफाँडा, गन्धे झार, नीलो गन्धे, बेसरम वा सनई फूल, भेंडे कुरोलगायतका मिचाहा प्रजाति तराईदेखि हिमाली क्षेत्रसम्मै फैलिएको अध्ययनहरूको निष्कर्ष छ । मिचाहा प्रजाति छिटो बढ्ने र धेरै खालका बासस्थानहरूमा बाँच्न सक्ने क्षमताका हुन्छन् । अत्यधिक बीउ उत्पादन गर्न सक्ने भएकाले छोटो समयमै धेरै स्थानसम्म फैलन सक्छन् । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार लज्जावती झारसँग मेल खाने मिमोसा नामको प्रजाति हालै झापामा देखापर्नुले मुलुकमा यस्ता प्रजातिको संख्या बढ्दै गएको अनुमान गर्न सकिन्छ । मिमोसा मिसिएको घाँसका कारण पशु मरेको दृष्टान्तले यसको बढ्दो असरतर्फ संकेत गर्छ ।

नेपाल विश्वभर मिचाहाको जोखिम बेहोर्दै गरेका १ सय २४ मुलुकमध्ये तेस्रो स्थानमा परेको तथ्यांकले पनि यसतर्फ ध्यान दिनुपर्ने अवस्था आइसकेको देखाउँछ । मिचाहा प्रजातिको समस्या बढ्दै गएर जैविक विविधता, कृषिभूमि र प्राणीहरूमा नकारात्मक असर परे पनि यसको नियन्त्रण–नियमन गर्नमा सरकारले प्राथमिकता दिएको देखिन्न । चार वर्षअघि तत्कालीन वन अनुसन्धान तथा सर्वेक्षण विभागले मिचाहा प्रजातिको व्यवस्थापन गर्न रणनीति बनाएको थियो । त्यो रणनीति हालसम्म वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको छैन । त्यसमा हानिकारक मिचाहा प्रजातिको पहिचान गरी राष्ट्रियस्तरको सर्वेक्षण गर्ने, क्वारेन्टाइनमा पहिचान क्षमता अभिवृद्धि गर्ने, मिचाहा झार मार्न शत्रु किराको प्रयोग गर्ने, अनुसन्धान जारी राख्ने, समुदायमा आधारित सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । त्यसलाई स्वीकृत गरेर थप गृहकार्य गर्नुपर्ने खाँचो छ ।

यता वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले मिचाहा प्रजाति नियन्त्रणसम्बन्धी पाँचवर्षे कार्ययोजनाको मस्यौदा तयार गरिरहेको छ । अघिल्लो रणनीति र यो कार्ययोजनाबीच तादात्म्य मिलाएर अगाडि बढ्नुपर्छ । उक्त कार्ययोजनामा विश्वमा अपनाइएका नयाँ प्रविधि र सफल अभ्यासलाई अपनाउने, यो समस्या स्थानीय तहसम्मै भएकाले यसबारे जनस्तरसम्म सचेतना फैलाउने र क्षमता अभिवृद्धि गर्ने कार्यक्रम समेटिँदै छ । सानो क्षेत्र (प्याच) सम्म स्थानीय
तहमार्फत जनशक्ति र प्रविधि परिचालन गर्न सकिए सुरुवाती चरणमै यसको समाधान गर्न सकिन्छ ।

मिचाहा वनस्पति–झारको प्रकोप बढिरहेका बेला एक अध्ययनले ‘म्याक्सिकन खपटे किरा’ ले त्यसको रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने गरेको निष्कर्ष निकालेको छ । म्याक्सिकन खपटे किराले तीतेपाती झार (पार्थेनियम) लगायतका मिचाहा प्रजातिका झारलाई आहाराका रूपमा रुचाउने गरेको अध्ययनको निचोडसँगै मिचाहा प्रजाति नियन्त्रणको उपाय पत्ता लागेको छ । उच्च तापक्रम (३४–३६ डिग्री सेल्सियस) भएको क्षेत्रका म्याक्सिकन खपटे किरा खन्चुवा हुने र नेपालमा पनि ती खपटे किरालाई मिचाहा झार नियन्त्रणनिम्ति प्रयोग गर्न सके धेरै हदसम्म समस्या समाधान हुने देखिन्छ । धेरै संख्यामा खपटे किरा उत्पादन गरेर मिचाहा झार भएको क्षेत्रमा छाड्न सकियो भने त्यो उपयोगी हुनसक्छ ।

जलवायु परिवर्तनको असर बढ्दै गएकाले मिचाहा प्रजातिको घना उपस्थिति भएका क्षेत्र पनि फैलिँदै गएको छ । जलवायु परिवर्तनका कारण आगामी वर्षहरूमा पहाडी र हिमाली क्षेत्रको औसत तापक्रम बढ्दै जाने भएकाले मिचाहा प्रजाति नियन्त्रणका लागि पूर्वतयारी गर्नुपर्ने देखिन्छ । फैलिँदो विश्व व्यापार, बढ्दो यातायात सञ्जाल र मानव चहलपहलले मिचाहा प्रजाति तीव्र गतिमा फैलिरहेको हुँदा चेकजाँच र क्वारेन्टाइनलाई वैज्ञानिक बनाउन आवश्यक छ ।

बीउ तथा बिरुवाको जानाजान वा अन्जानमा हुने ओसारपसारलाई पनि नियमन गर्नेतिर राज्यका निकायहरूले ध्यान दिन जरुरी छ । मिचाहा प्रजातिको प्रयोग गरी ब्रिकेट, अगरबत्ती, बायोचारसमेत बनाउन सकिने प्रमाणित भएको छ । मिचाहा झारबाट वैकल्पिक इन्धनसमेत बनाएर आर्थिक स्रोतको माध्यम बनाउन सकिने भएकाले स्थानीय स्तरसम्म यसलाई बिस्तार गर्नुपर्छ । त्यसो हुन सके स्थानीयले लाभ पनि लिनेछन् र समस्या समाधानमा पनि त्यो उपयोगी हुन सक्छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×