कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपति सजाउन थाइल्यान्ड र अस्ट्रेलियाको फूल

टिकट काटेर छोटो बाटोबाट दर्शन गराउने व्यवस्था खारेज, दर्शनार्थीले अब लाइन बसेर मात्र दर्शन गर्न पाउने
दामोदर न्यौपाने

काठमाडौँ — महाशिवरात्रि लक्षित गरी पशुपति क्षेत्रलाई रंगीचंगी फूल र बत्तीले सिंगार्न थालिएको छ । भक्तजनलाई लाइनमा राखिने सबै ठाउँमा फूल र बत्ती राखिने भएको हो । भारतको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर व्यवस्थापन गर्ने समूहले फूल सजाउने जिम्मेवारी पाएको छ ।

पशुपति सजाउन थाइल्यान्ड र अस्ट्रेलियाको फूल

सजावट गर्न चाहना राखेकाले वैष्णोदेवीलाई कुनै सर्तविना सजावट व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको कोषका सदस्य सचिव प्रदीप ढकालले बताए । ‘सबै खर्च उहाँहरूले नै बेहोर्नुभएको हो,’ ढकालले भने, ‘सजाएबापत कोषलाई कुनै आर्थिक भार लाग्दैन ।’ भारतको जम्मु कश्मिरमा पर्ने वैष्णोदेवी मन्दिर भारतको सबैभन्दा पुरानो र धनीमन्दिर मध्येमा पर्छ । यो मन्दिरको वार्षिक आम्दानी आठ अर्ब भारतीय रुपैयाँ छ । पशुपति आउने दर्शनार्थीलाई सकारात्मक भाव जगाउन साजसज्जामा विशेष ध्यान दिइएको ढकालले बताए । यहाँ सजाइने फूल अस्ट्रेलिया र थाइल्यान्डबाट ल्याइएको कोषले जनाएको छ ।


६ हजार सुरक्षाकर्मी

दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ६ हजार सुरक्षाकर्मी परिचालन गरिने ढकालले जानकारी दिए । सुरक्षाका लागि मन्दिरको भित्री क्षेत्र, परिधि र बाहिरी क्षेत्र गरी तीन घेरा बनाइएको छ । ६ हजार स्वयंसेवक र नेपाल स्काउटका पाँच हजार स्वयंसेवक पनि खटिनेछन् । सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालन हुनेछन् । यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच सय ट्राफिक प्रहरी खटाउने भएको छ ।


दर्शनार्थीको अत्यधिक चापका कारण गौशालामा यातायात सेवा प्रभावित भए गौशाला क्षेत्र भई चल्ने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोग गरिने महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए । तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल चल्ने मालबाहक सवारीसाधनलाई भने तीनकुने, सिनामंगल, जोरपाटी, नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वर लगायतका स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने उनले बताए ।


विशेष पास खारेज

शिवरात्रिमा दर्शनको व्यवस्था तीनतिरबाट हुने भएको छ । पश्चिम गेटमा चार वटा लाइन, दक्षिणमा तीन र उत्तरतर्फ तीन लाइन हुनेछन् । पूर्वी गेटचाहिँ नित्य पूजाका लागि मात्रै प्रयोग हुनेछ । भक्तजनको भीड बढेमा पूर्वी गेट पनि प्रयोग गरिने सदस्य सचिव ढकालले बताए । मित्रपार्क, गौरीघाटबाट आउने दर्शनार्थीलाई उत्तरढोकाबाट, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै आउनेलाई पश्चिम ढोकाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बत्तीसपुतली, गौशाला तथा एयरपोर्ट–तिलगंगा भएर पिंगलास्थान सुमार्थी भवन हुँदै आउनेलाई दक्षिणढोकाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । नियमित पूजा गर्ने दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । दर्शन गर्न जतिसुकै दर्शनार्थी आए पनि दुई घण्टाभित्रमा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको ढकालले बताए । ‘जुनद्वारबाट प्रवेश गर्‍यो, त्यही द्वारबाट फर्किने गरी व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘गत वर्ष दक्षिणद्वार र उत्तरद्वारमा समस्या थियो । यो वर्ष त्यस्तो समस्या हटाएका छौं ।’


कोषले यस वर्ष पैसा दिएर छोटो बाटोबाट दर्शन गराउने व्यवस्था खारेज गरेको छ । विगतमा पैसा दिएर टिकट काटेकालाई विशेष पास दिएर दर्शन गराउने व्यवस्था यसवर्ष हटाइएको हो । ‘जुनसुकै दर्शनार्थी पनि अब लाइन बसेर मात्र दर्शन गर्न पाउने व्यवस्था गरिएको छ,’ ढकालले भने ।

प्राथमिक उपचार र भोजन

दर्शनार्थीका लागि विभिन्न संघसंस्थाले प्राथमिक उपचार र भोजनको व्यवस्था गरेका छन् । मन्दिरको मुख्य क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मुल स्वास्थ्य शिविर रहने ढकालले जानकारी दिए । स्वास्थ्यसँग सम्बन्धित ३३ संस्थाले स्वास्थ्य सेवा सञ्चालनको लागि अनुमति लिएका छन् । आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, दमकलसमेत हुनेछ ।


हंशमण्डप, वनकालीको खुलास्थान, तीलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकेर १०० वटा संघसंस्थाले भोजन गराउन अनुमति लिएका छन् । ती संस्थाले निःशुल्क भोजन, पानी र चियाको व्यवस्था गर्नेछन् ।


चक्रपथमा सवारी निषेध नहुने

विगतमा बन्द हुँदै आएको एयरपोर्ट–गौशाला–चाबहिल–चक्रपथ सडक यसपटक सञ्चालन हुने भएको छ । यो रुटमा सवारी भने एकतर्फी मात्रै सञ्चालन गरिने कोषले जनाएको छ । दर्शन गरेर फर्कंदा गाडी चढेरै फर्काउन गाडी नियमित चल्ने व्यवस्था मिलाइएको सदस्यसचिव ढकालले बताए । सवारीसाधन लिएरै दर्शन गर्न आउनेका लागि पाँच ठाउँमा पार्किङको व्यवस्था गरिएको छ । सरकारी सवारीसाधनका लागि कोष परिसर, महानगरी प्रहरी वृत्त गौशाला, सिफल चौर, गुह्येश्वरी क्षेत्रमा उपलब्ध हुन सक्ने स्थान, तिलगंगा क्षेत्र गरी पाँच ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।


चार ठाउँमा जुत्ता खोल्ने व्यवस्था

दर्शनार्थीका जुत्ता खोल्न चार ठाउँमा व्यवस्था गरिएको छ । दर्शनार्थीलाई पायक पारेर कैलाशमुनि रुद्रगाडेश्वरी दर्शनमार्ग, भुवनेश्वरी नजिक, बज्रघरको दक्षिणतर्फ, वाग्मती पारिपटी राममन्दिर नजिक व्यवस्था गरिएको ढकालले जानकारी दिए । त्यसैगरी कोषले पशुपति क्षेत्रभित्र प्लास्टिक निषेध गरेको छ । मन्दिरमा फूल, प्रसादलगायतका सामग्री लैजाँदा प्लास्टिकमा लैजान नपाउने गरी कोषले कडाइ गर्ने भएको छ ।


‘भिजिट नेपाल २०२० मा आध्यात्मिक पर्यटक बढाउने कोषले लक्ष्य राखेको छ,’ कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने, ‘शिवरात्रिमा १० लाख जनालाई दर्शन गराउने योजना बनाएका छौं ।’ यसपटकको महाशिवरात्रि भोलि शुक्रबार परेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?