कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागालाई पेडा, अरूलाई खिचडी

दामोदर न्यौपाने

काठमाडौँ — शिवरात्रिका लागि पशुपतिनाथमा बाबाहरूको भीड लागेको छ । गुठी संस्थान पशुपति गौश्वाराका प्रमुख मीरा आचार्यका अनुसार पशुपतिमा करिब ५०० नागा बाबा आइसकेको जानकारी दिइन् । एकादशीबाट नागा साधु र अर्को दिनबाट अन्य साधुको सेवा गर्ने परम्परा रहेको उनले बताइन् ।

नागालाई पेडा, अरूलाई खिचडी

बाबाहरूका लागि खानाको मेन्युसमेत तयार भइसकेको छ । बाबा वा जोगीहरूको प्रकृति अनुसार मेन्यु तयार भएको छ ।


जोगीका चार सम्प्रदायमध्ये नागा संन्यासी सम्प्रदायमा पर्छन् । चार सम्प्रदायमा गोरखनाथ, वैष्णव, नानक र उदासी सम्प्रदाय पर्छन् ।


नागालाई अरु सम्प्रदायको भन्दा एक दिन बढी खाना र धुनीको सेवा दिइन्छ । संन्यासी सम्प्रदायका जोगीलाई यस्तो सुविधा चार दिन दिने गरिन्छ । अरू सम्प्रदायकाले तीन दिन सेवा पाउँछन् । ‘शिवरात्रिमा जोगीका चारै सम्प्रदाय आउँछन्,’ आचार्यले भनिन् । गोरखनाथ सम्प्रदाय शिवभक्तको रूपमा चिनिन्छन् । वैष्णव सम्प्रदाय रामको भक्त मानिन्छन् । रामका भक्त सेतो वस्त्र धारण गरेर बस्छन् । उनीहरू निधारमा श्रीतिलक लगाउने गर्छन् । तेस्रो समुदाय नानक समुदाय हुन् । यिनीहरू शिख भनेर चिनिन्छ । नानकका छोरा श्रीचन्द्रभगवान्ले नानककै दर्शन मान्दै अर्को सम्प्रदाय खडा गरेको मानिन्छ । ती सम्प्रदायलाई उदासी मानिन्छ । अर्को सम्प्रदाय गोरखनाथ हुन् । यिनीहरूचाहिँ गुरु गोरखनाथका भक्त हुन् । यिनीहरू कानफट्टा जोगीका रूपमा चिनिन्छन् । ‘सबै सम्प्रदायका लागि व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हो,’ आचार्यले भनिन् ।


पशुपति आएकामध्ये नागा साधु बुधबार बिहान आफ्ना कपडा खोलेर पशुपति मन्दिर छिर्दै छन् । कपडा खोलेर मन्दिर प्रवेश गर्ने नागा बाबा भने पशुपति क्षेत्रकै अन्नपूर्ण आश्रममा बसेका छन् । नागा बाबा छिरेसँगै साधुहरूको विशेष सेवा सुरु हुन्छ । संस्थानले धुनी, भोजन र बिदाइको व्यवस्था गर्छ । यसका लागि संस्थानले यस वर्ष ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । नागा बाबाका लागि पशुपति परिसरभित्रै धुनीको व्यवस्था हुनेछ भने खाने व्यवस्था पनि त्यहीँ हुनेछ । अन्य साधुका लागि भने पशुपति क्षेत्रभित्रकै साधुका अखडामा धुनी र खानेकुराको व्यवस्था हुन्छ ।


पशुपतिमा गोरखनाथ सम्प्रदाय र वैष्णव सम्प्रदायका गरी दुईवटा अखडा छन् । गोरखनाथ सम्प्रदायका आफ्ना अखडामा बस्छन् भने वैष्णव र नानक सम्प्रदाय एउटा अखडामा मिलेर बस्ने आचार्यले जानकारी दिइन् । नागा र अन्य सम्प्रदायका लागि खानाको मेन्युसमेत फरक छ । नागा जोगीलाई बुधबार बेलुका हलुवा, पुरी, तरकारी, बिहीबार बिहान पुरी, तरकारी अचार, बेलुका सावदाना, खीर, पुरी शुक्रबार शिवरात्रिको दिउँसो फलफूल, दही खुवाउने मेन्यु बनेको छ । शनिबार बिहान मालपुवा, तरकारी र बेलुका रोटी, तरकारी खुवाइनेछ । आइतबार बिहान भने पेडा, फलफूल खुवाइनेछ । अन्य जोगीलाई भने बिहीबार बिहान दालभात, तरकारी, बेलुका पुरी तरकारी, शुक्रबार दिउँसो पुरी तरकारी, शनिबार बिहान मालपुवा र पुरी खुवाउन लागिएको छ ।


पशुपति आउने साधुको स्तर अनुसार दक्षिणा दिएर बिदाइ गर्ने चलन छ । संस्थानले एक जना साधुलाई ३ सय ५१ देखि १ हजार ७०० रुपैयाँसम्म दक्षिणा दिने गरिन्छ । उनीहरूसँग भएको परिचयपत्रका आधारमा साधुको स्तर थाहा हुने आचार्यले बताइन् । अखडामा बसेर साधना गरेको, गृहस्थ बसेर साधना गरेको, लोभलाई जितेको, काममा जितेका आधारमा साधुको स्तर निर्धारण गरिन्छ । यस्ता साधुको स्तर हेर्न गुठी संस्थानका अध्यक्ष मीनबहादुर चौधरीको संयोजकत्वमा समिति बनाइएको छ ।


यहाँ नेपाललगायत भारतका विभिन्न संन्यासी अखडाबाट साधु आउने गरेका छन् । नागालाई संन्यासीको सेनाका रूपमा लिइन्छ । यिनको मुख्य उद्देश्य धर्मको जर्गेर्ना गर्नु र प्रचार गर्नु हो । यिनीहरू अखडामा संगठित भएर बसेका हुन्छन् । भारतको जुना अखडा, निरञ्जनी अखडा, पञ्चदशनाम अखडाजस्ता जोगीका चर्चित अखडा हुन् । काठमाडौंको थापाथलीमा पनि गोरखनाथ, वैष्णव, नानक र उदासी अखडा छन् ।

गाँजा निषेध

पशुपति क्षेत्रभित्र लागूऔषध सेवन गर्ने केही साधुलाई क्षेत्रबाट समातेर बाहिर पठाइएको छ । लागूऔषध निषेधित क्षेत्रमा गाँजा प्रयोग गरेको भन्दै उनीहरूलाई प्रवेशमा निषेध गरिएको पशुपति विकास कोषका सदस्यसचिव प्रदीप ढकालले जनाए । तीन वर्षयता कोषले पशुपति क्षेत्रमा गाँजा निषेध गरेको छ । ‘पशुपति क्षेत्र वरपर भाङ, गाँजालगायत तीन वर्षदेखि नै निषेध गरिएको छ,’ ढकालले भने, ‘यो वर्ष पनि प्रयोग नगर्न आग्रह गरेका छौं ।’


भगवान्को आराधना गर्ने ठाउँमा गाँजाको किनबेच गरेर विकृत भएको भन्दै कोषले निषेध गरेको हो । साधुको भेषमा आपराधिक पृष्ठभूमिका व्यक्ति पनि आउने सक्ने भएकाले उनीहरूको कार्ड जाँच गरिएको ढकालले बताए । ‘अखडा सम्प्रदायमा रहेका बाहेकलाई कडाइ गरेका छौं,’ ढकालले भने ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?