कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रसूति गृहमा अनलाइनबाटै टिकट

कान्तिपुर संवाददाता

काठमाडौँ — थापाथलीस्थित परोपकार तथा प्रसूतिगृहमा उपचार गराउन आउने बिरामीले अनलाइनबाटै टिकट काट्‍न सकिने भएको छ । आइतबारदेखि अस्पतालमा अनलाइन टिकट काट्न मिल्ने सुविधा थपिएको हो ।

प्रसूति गृहमा अनलाइनबाटै टिकट

स्मार्ट मोबाइल फोनमा ‘प्रभुपे एप’ डाउनलोड गरी सिधै टिकट काट्न सकिने अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए । ‘एपमा रहेको हस्पिटल अप्सनमा क्लिक गरेपछि त्यहाँ प्रसूतिगृह र अस्पतालका सबै सेवा देखिन्छन्,’ उनले भने, ‘आफूलाई चाहिने सेवा र चिकित्सक छानेर बिरामीले फर्म भरेपछि टिकट बुकिङ हुन्छ ।’ कुनै पनि बैंकको खाताबाट टिकटको पैसा तिर्न सकिने उनले बताए । अनलाइन सेवा सुरु भएसँगै अब बिरामीले बिहानै अस्पताल पुगेर लामो लाइन लाग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।


अनलाइन टिकट काट्ने व्यवस्थाले बिहानदेखि अस्पतालमा हुने सर्वसाधारणले पाउने सास्ती कम हुने गौतमले बताए । ‘बिरामीको चाप थेग्न सक्नेभन्दा बढी छ,’ उनले भने, ‘बिरामीले घरमै बसेर टिकट काटेपछि अस्पतालको व्यवस्थापन केही सजिलो हुनेछ ।’ प्रसूतिमा स्वास्थ्य परीक्षण गराउन दैनिक ६ सयदेखि आठ सय जनाले ओपीडी टिकट काट्छन् । यसमध्ये आधा बिरामीले मात्रै घरबाट टिकट काटे पनि अस्पतलाको सेवा चुस्त बनाउन सहयोग पुग्ने उनले बताए । बिरामीले अघिल्लो दिन पनि टिकट काट्न सक्नेछन् । ‘अघिल्लो दिन नै टिकट काटेपछि भोलि कति बिरामी आउँछन् भन्ने हामीलाई जानकारी हुन्छ,’ उनले भने, ‘हामी त्यहीअनुसार तयारी अवस्थामा बस्न सजिलो हुन्छ ।’ अनलाइनबाट टिकट काट्नका लागि बिरामीको संख्याको कुनै सीमा नतोकिएको उनले बताए । जति जनाले पनि टिकट काट्न सक्नेछन् । ‘अनलाइन सिस्टम भएपछि सजलोका कारण बिरामीको चाप अझै बढ्न सक्छ,’ उनले भने, ‘भएका जनशक्तिले धान्न नसक्ने अवस्था आयो भने जनशक्ति थपेर भए पनि बिरामी नफर्किने

व्यवस्था मिलाउँछौं ।’


अनलाइन टिकेटिङसँगै अस्पताल परिसरमा २ वटा ‘क्यूएस’ उपकरण राखिएको छ । यो उपकरणमा पैसा तिरेर पनि बिरामीले टिकट बुक गर्न सक्नेछन् । ‘ओपीडी काउन्टरका लाइन बस्नुभन्दा उपकरणबाटै टिकट बुक गरेपछि बिरामीलाई कम सास्ती हुन्छ,’ डा. गौतमले भने, ‘यति गरेपछि बिरामीले सिधै ओपीडीमा गएर आफ्नो पालो कुरेर डाक्टर भेट्न सक्नेछन् ।’ अनलाइन टिकेटिङबारे धेरैभन्दा धेरैलाई जानकारी दिनका लागि अस्पताल परिसरमा बुथसमेत राखिएको छ । एप सफ्टवयर बनाउने कम्पनी मेडिफ्लोका कर्मचारी दिनैभरि खटिएर अस्पताल आवतजावत गर्नेलाई यो सेवाबारे जानकारी दिइरहेका छन् ।


प्रसूतिबाहेक बानेश्वरको निजामती अस्पताल (सिभिल) र बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र विराटनगरको अस्पताल र भक्तपुरको सिद्धि मेमोरियल अस्पतालमा पनि अनलाइनबाटै टिकट काट्न मिल्ने सुविधा छ । अनलाइन टिकट काट्ने व्यवस्था सुरु भएपछि सेवा लिन र दिन सहज भएको गंगालाल अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । ‘पहिले बिरामीलाई दोहोरो सास्ती थियो,’ उनले भने, ‘टिकट काट्न एउटा लाइन, डाक्टर भेट्न अर्को लाइन बस्नुपर्थ्यो । अब बिरामीले घरबाट टिकट काटेर सिधै डाक्टर भेट्न सक्छन् ।’ अहिले २० प्रतिशतले मात्रै अनलाइनबाट टिकट काटेर अस्पताल आउने गरेको उनले बताए । गंगालालमा दैनिक ६ सयको हाराहारीमा बिरामी आउँछन् ।

प्रकाशित : फाल्गुन ५, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?