याङ्ग्री र लार्केमा सुरुङ खन्न टीबीएम प्रयोग तयारी- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

याङ्ग्री र लार्केमा सुरुङ खन्न टीबीएम प्रयोग तयारी

दीपेन्द्र विष्ट

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाले दोस्रो चरणको कामअन्तर्गत याङ्ग्री र लार्केको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गर्ने तयारी गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार टीबीएम मेसिनबाट सुरुङ खन्दा काम चाँडो हुने भन्दै सम्बद्ध अधिकारीबीच छलफल भइरहेको छ । ‘मेसिन महँगो पर्छ, तर काम चाँडो हुने भएकाले टीबीएम नै प्रयोग गर्न आवश्यक तयारी भइरहेको छ,’ मन्त्रालयका एक अधिकारीले कान्तिपुरसँग भने । 

पहिलो चरण मेलम्ची आयोजनाको साढे २६ किमि सुरुङ खन्दा पटक–पटक ठेकेदार कम्पनीले विवाद निकालेको उल्लेख गर्दै ती अधिकारीले टीबीएम मेसिन नै उपयुक्त हुने दाबी गरे । ‘टीबीएम यस्तो मेसिन हो, जसलाई एकपटक सुरुङ खन्दै अघि बढाउँदा काम नसकी निकाल्न पाइँदैन, ठेकेदार भाग्न पाउँदैन,’ ती अधिकारीले भने, ‘यसअघि हामीले ठेकेदारबाट पटक–पटक धोका पाएकाले काम ढिला भयो ।’


याङ्ग्री र लार्केको सुरुङका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले अब त्यसमा टीबीएम पद्धतिबाट सुरुङ खन्ने योजना बनाइएको हो । यसअघि पहिलो चरणको मेलम्ची आयोजनामा सुरुङ खन्दा चट्टान हटाउन बम पड्काउनुका साथै हाते मेसिनको प्रयोग गरिएको थियो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म २ किमि सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवर्क्स अम्बाथानमा मिसाइने छ ।


तीनवटै खोलाबाट गरी दैनिक ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किमि टाढाको सुन्दरीजलमा ल्याइने छ  । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनामा पहिलो पटक टीबीएम प्रयोग गरिएको थियो । टीबीएम अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको हो ।


खानेपानी तथा सरसफाइ सचिव माधव बेल्वासे भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख हुँदा उक्त मेसिन प्रयोगमा ल्याएका हुन् । टीबीएम प्रयोग गरिएका कारण भेरी–बबई डाइभर्सनको सुरुङ खन्ने काम निर्धारित समयभन्दा करिब एक वर्षअघि नै सम्पन्न भएको छ ।


काम छिटो, भरपर्दो हुने भएकाले पनि टीबीएम मेसिन प्रयोग गर्ने योजनामा मन्त्रालयका अधिकारीहरू सहमत भएका हुन् । मेलम्चीका लागि टीबीएम प्रयोग गर्न टेन्डर प्रक्रिया अघि बढाउनले तयारीमा अधिकारीहरू छन् ।


‘विकल्पका रूपमा छलफल त भएको छ, निर्णय हुन बाँकी छ,’ खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले भने, ‘याङ्ग्री र लार्केको सुरुङको डीपीआर तयार भइसकेको छ ।’ गत वर्ष इटालियन परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर बुझाइसकेको छ । विभिन्न क्षेत्रका परामर्शदातालाई ल्याएर सल्लाह गरेपछि मन्त्रालयले डीपीआर स्वीकृत गरेको हो । मेलम्ची आयोजनाको पहिलो चरणकै काममा ढिलाइ भएपछि याङ्ग्री र लार्केको काम अघि बढ्न सकेको छैन । एसियाली विकास बैंक (एडीबी) ले मेलम्चीको पहिलो चरणको काम सम्पन्न नभएसम्म याङ्ग्री र लार्केमा सहयोग नगर्ने चेतावनी दिएको थियो । आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले आयोजनाको पहिलो चरणको ठप्प रहेको कामले गति लिएकाले अब याङ्ग्री र लार्केको काम पनि छिट्टै सुरु हुने बताए ।


‘अब कतै पनि समस्या छैन, सबै पक्षले सहयोग गरेका छन् । निर्धारित समयमै मेलम्चीको पानी उपत्यकामा ल्याउँछौं,’ उनले भने, ‘अरू काम पनि अघि बढाउँछौं ।’ याङ्ग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने आयोजनाको लक्ष्य छ  ।


याङ्ग्री र लार्के आयोजनासम्म सुरुङ निर्माणका लागि मुआब्जा वितरण र पहुँचमार्गको निर्माणको काम भने अघि बढिसकेको छ । करिब २५ किमि पहुँचमार्गको निर्माणका लागि ठेक्कासमेत भइसकेको छ । पहुँचमार्गको दूरी छोट्याउन पनि टीबीएम प्रयोग गरेर सुरुङ बनाउने तयारीसमेत आयोजनाले गरेको छ । आयोजनाले पहुँचमार्ग क्षेत्रका प्रभावित परिवारको करिब ३ सय ५० रोपनी जमिनको मुआब्जा दिनेछ । प्रतिरोपनी ५० हजारदेखि ३ लाख रुपैयाँसम्म मुआब्जा दिइनेछ ।


‘सबै तयारी भइराखेको छ,’ आयोजनाका एक अधिकारीले भने, ‘टीबीएम मेसिन प्रयोग गर्नेबारेमा निर्णयमा पुग्न मन्त्रालयसँग छलफल भइरहेको छ, जसरी पनि आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्छ भन्ने सबैको चाहना हो, त्यसैअनुसार काम पनि गरिराखेका छौं ।’

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

एउटै रङ, उस्तै घर

कान्तिपुर संवाददाता

(सिन्धुपाल्चोक) — हरियो जस्ता । सेतो र रातो रङले चिटिक्क पोतिएका एउटै आकारका घर । छेउमै कञ्चन इन्द्रावती नदी । एकै खालका नयाँ घरले इन्द्रावती गाउँपालिका–५, बाडेगाउँको रूप फेरेको छ । अक्सफाम, महिला आत्मनिर्भर केन्द्र मेलम्चीको आर्थिक प्राविधिक सहयोग र इन्द्रावती गाउँपालिकाको पहलकदमीमा माझी एकीकृत बस्तीमा ३६ घर बनेका हुन् । 

२०६७ सालमा इन्द्रावतीको बर्खे कटान र सुक्खा पहिरोले बस्ती धराप बनाएपछि इन्द्रावती किनारबाट माझी परिवार प्युघर सरेका थिए । उनीहरूले दुःख गरेर बनाएको सानो घर २०७२ को भूकम्पले ध्वस्त बनायो । मध्यपहाडी लोकमार्गले सडक निर्माणको क्रममा बस्ती नै उठाएपछि उनीहरू सुरक्षित स्थान खोज्दै भौंतारिए । ‘आफ्नै थातथलोबाट बेघर बनेका हामीले बल्ल चिटिक्कको घर पाएका छौं,’ हरिभक्त माझीले भने ।

बस्ती ठड्याएपछि गाउँभर पर्वजस्तै हर्ष छाएको एकीकृत माझी बस्ती व्यवस्थापन समितिकी अध्यक्ष शर्मिला माझीले बताइन् । झन्डै २८ रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत बस्तीको भुइँतले घरमा तीन कोठा छन् । पानीको ट्यांकी निर्माण गरेर प्रत्येक घरमा खानेपानी, शौचालय र फोहोर व्यवस्थापन गर्ने व्यवस्थित टोकरी राखिएको अक्सफामका प्रमुख श्रीभक्त बस्नेतले बताए । ३ करोड १२ हजार ६५३ रुपैयाँको लागतमा माझी समुदायको श्रमदानबाट एक वर्षभित्रै एकीकृत बस्ती बनेको इन्द्रावती गाउँपालिका–५ का अध्यक्ष दुर्गाबहादुर तामाङले जानकारी दिए ।

नमुना बस्तीको अवधारणाअर्न्तगत एकीकृत बस्ती उभ्याइएकाले माझी परिवारलाई आयआर्जनको लागि होमस्टेको अवधारणा ल्याउने गाउँपालिकाले योजना बनाएको छ । माझीको मौलिक संस्कृतिलाई बस्तीभित्र समावेश गरेर इन्द्रावतीभित्रै माझी होमस्टे सुरुवात गर्ने अध्यक्ष तामाङले बताए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) को अध्ययन तथ्यांकअनुसार जिल्लाभर विभिन्न संस्कृति, समुदाय समेटेर २५ एकीकृत बस्ती बनिरहेका छन् । ‘सरकारी अनुदान लिएर एकीकृत बस्ती बनाउन सूचना दिइसकेका छौ,’ जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमुख सन्तोष निरौलाले भने । सरकारी अनुदानको मापदण्डअनुरूप ग्रामिण क्षेत्रमा चार लाख, हिमाली भेगमा पाँच लाख र सहरी भूभागमा भए एक घर बराबर तीन लाख पूर्वाधारको रकम पाउने उनले बताए । विभिन्न एकिकृत बस्तीसहित गैरसरकारी संस्थाको सहयोगमा पाँच हजार भूकम्पपीडितको आवास बनिसकेको इकाईले जनाएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×