कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिका व्यापारीलाई सारिँदै

काठमाडौँ — पशुपतिको खुला क्षेत्रमा फूललगायत पूजा सामग्री व्यापार गर्दै आएकालाई चार चरणमा व्यवस्थापन गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले पहिलो चरणमा २६ जनालाई नयाँ भवनमा व्यवस्थापन गर्ने प्रक्रिया थालेको जनाएको छ । प्रक्रियाअनुसार आएकालाई पहिलो चरणमा फागुन २ गतेभित्र व्यवस्थापन गर्ने कोषको सेवा सुविधा महाशाखा प्रमुख राजु रेग्मीले बताए । 

कोषले फूल व्यापारीलाई व्यवस्थित गर्न ६४ वटा कोठा भएको भवन बनाएको छ । त्यो भवनमा सबै नअट्ने भन्दै व्यवसायीले विरोध गरेका थिए । पशुपति मन्दिरअगाडि १६४ जना व्यापारी छन् । अर्को भवन बनाएर ती सबैलाई व्यवस्थित गरिने कोषले जनाएको छ । फागुन २ गते २६ जनालाई व्यवस्थित गर्ने र बाँकीलाई छ महिनाभित्र अर्को नयाँ भवन बनाएर राखिने कोषको सञ्चालक परिषद् सदस्य राजु खत्रीले जानकारी दिए ।


२०५८ सालमा कोषले पशुपति अधिग्रहण गरेर यहाँका ११९ घर हटाएपछि ती घरमा पसल सञ्चालन गर्नेलाई टहरामा राखेको थियो । घरधनी र भाडामा पसल सञ्चालन गर्नेको संख्या १४६ थियो । पछि थप २० जना थपेर १६४ जनालाई कोषले टहराको व्यवस्था गरेको थियो । घर पर्ने पहिलो प्राथमिकता र भाडामा बस्नेलाई दोस्रो प्राथमिकतामा परेका थिए ।


कोषले टहरा व्यवस्थित गर्न खत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिले टहराको छानबिन गरेर व्यवस्थित गर्नुपर्ने संख्या तोक्नेछ । कोषले घर भत्काएकालाई टहरा उपलब्ध गराए पनि त्यहीँभित्र किनबेच गरेर अरूलाई पसल दिइएको जनाएको छ । त्यसबारे पनि समितिले छानबिन गर्नेछ । यसका लागि तीनवटा मापदण्ड बनाएको महाशाखा प्रमुख रेग्मीले जानकारी दिए । एउटै परिवारका धेरै जनाले पसल चलाएका छन् भने तिनलाई एकै ठाउँमा व्यवस्थापन गर्ने, कानुनका दृष्टिले कोही छुटेका छन् भने त्यसलाई मान्यता दिने र पशुपति क्षेत्रभित्रै वडा नम्बर ८ का छन् भने तिनलाई प्राथमिकता दिएर बाहिरकालाई हटाउने गरी तीन वटा मापदण्ड कोषले बनाएको छ । ‘पशुपति क्षेत्रकाले हामीले केही सुविधा पाएनौं भन्ने गुनासो कोषसँग गर्ने गरेका छन्,’ खत्रीले भने, ‘खाइपाइ आएका कसैलाई पनि नछुटाउने गरी व्यवस्थापन गर्छौं ।’


पशुपति क्षेत्रका मुलसडक, सहायक सडकका पेटी, डबली, खुला चौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भुकुण्डोललगायत क्षेत्रमा अव्यवस्थित टहरामा व्यापार हुँदै आएको छ । यसबाट पशुपतिको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै भक्तजन, पर्यटक र पैदलयात्रीलाई अप्ठेरो परेको छ ।

प्रकाशित : माघ २९, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?