कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्खाल भत्काएर फलामे बार

प्रशान्त माली

(ललितपुर) — पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस परिसरमा पुरातात्त्विक महत्त्वको राणकालीन दरबार श्रीमहल र पानीको फोहोरासहितको बगैँचा छ । कामविशेषले क्याम्पस प्रवेश गर्नेले मात्र अवलोकन गर्न पाउँथे । 

पर्खाल भत्काएर फलामे बार

पर्खाल भएकै कारण सर्वसाधारणले सहजै भित्र छिर्न मात्रै होइन, अवलोकनसमेत गर्न पाउँदैनथे । ललितपुर महानगरपालिकाले इँटाको पर्खाल भत्काएर फलामेबार लगाएपछि पैदलयात्रुले भित्रको दृश्यावलोकन सहजै गर्न सक्छन् ।


फलामको बार लगाउन पिलर राख्ने काम धमाधम भइरहेको छ । महानगरले खुला क्षेत्र विस्तार गर्न पहिलो चरणमा कुपण्डोल–लगनखेल सडकअन्तर्गत पर्ने पुल्चोक इन्जिनियर क्याम्पस, जावलाखेल खेलमैदान र लगनखेलस्थित बुद्धि विकास खेलमैदान खुला गरेको हो । इन्जिनियरिङ क्याम्पसले गत वर्ष पर्खाल हटाएर दृश्यावलोकन गर्न सकिने खालको बार लगाउन महानगरलाई अनुरोध गरेको थियो ।


ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले अमेरिकाको ह्वाइटहाउसजस्तै ललितपुरका अग्ला पर्खाल भत्काएर खुला गर्न लागिएको बताए । ‘उकुसमुकुसमा बसेका नगरबासीलाई हरियालीको आनन्द महसुस गराउन खोजिएको हो,’ उनले भने, ‘खेलमैदान खुला राख्दा अभ्यासरत खेलाडी देखेर पनि नगरबासीमा प्रेरणा मिल्ने अपेक्षा लिएका छौं ।’ तीनै ठाउँमा बार लगाउने काम सकिएपछि हरियाली प्रवर्द्धन गर्ने योजना रहेको ललितपुर महानगर पूर्वाधार विकास महाशाखाका प्रमुख रूद्रप्रसाद गौतमले बताए । ‘बार लगाएपछि पर्खाल हुँदाको आपराधिक गतिविधिसमेत हुँदैन,’ उनले भने ।


पर्खाल भत्काइएको ठाउँमा बार लगाउने काम धमाधम भइरहेको छ । पर्खाल भत्काएर लगाइएको बार अन्यत्र पुनः प्रयोग गर्न सकिने खालका छन् । जावलाखेलमा बार निर्माण भइसकेको र जडान गर्न मात्र बाँकी रहेको ललितपुर महानगरका इन्जिनियर रूद्रप्रसाद अधिकारीले बताए । ‘दक्षिण र उत्तरमा बार लगाउन अहिले बजेटको व्यवस्था छैन । तर, क्रमशः गर्ने योजनामा समावेश गरिनेछ,’ उनले भने । बारमा हरियो रङ लगाउने महानगरले जनाएको छ ।


इन्जिनियरिङ क्याम्पसमा बार लगाउन जेएसएस इन्जिनियरिङ सर्भिसले ०७७ वैशाखमा सम्पन्न गर्ने गरी ६४ लाख ९९ हजार रुपैयाँमा ठेक्का पाएको छ ।


लगनखेलको फुटबल मैदानको ठेक्का ब्लु स्टार कन्स्ट्रकसनले ०७७ जेठमा सम्पन्न गर्ने गरी ६७ लाख २४ हजारमा, त्रिवेणी लाफा कन्स्ट्रक्सनले जावलाखेलको बार ०७७ जेठमा सम्पन्न गर्ने गरी १ करोड १२ लाख रुपैयाँको ठेक्का पाएको छ ।

प्रकाशित : माघ २२, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?