कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोदावरी सम्मेलन हल अन्तिम चरणमा

दीपेन्द्र विष्ट

काठमाडौँ — ललितपुरको गोदावरीमा ३ हजार क्षमताको सम्मेलन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । आधुनिक र प्रविधियुक्त यो केन्द्र फागुन अन्तिमसम्ममा बनिसक्ने सहरी विकास मन्त्रालयका एक अधिकारीले बताए । 

‘निर्माण अन्तिम चरणमा छ, नयाँ वर्षमा उद्घाटन हुन्छ होला,’ ती अधिकारीले भने । निर्माणस्थलमा रुख कटान गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनले बताए । ‘फागुनअघि निर्माण हुनेवाला थियो, करिब ३० रुख कटान गर्नुपर्ने भएकाले अलि ढिलाइ भयो,’ उनले भने ।


अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा/सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव देखिएपछि भदौ ४ र कात्तिक २० मा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयका आधारमा ५ महिनाभित्र हल निर्माणका लागि मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसलगत्तै सहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हो । भदौमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन आयोजना गर्न सरकारलाई समस्या परेपछि सभाहल बनाउने निर्णय गरिएको ती अधिकारीले बताए ।


‘सरकारको यो विशेष निर्णय हो, अब चाँडै सम्पन्न हुन्छ,’ विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका इन्जिनियर देवन्द्रदेव खनालले भने, ‘रातदिन काम भइराखेको छ ।’ सरकारले तोकेको ठेक्का अवधिभित्रै काम सम्पन्न हुने उनले बताए । ‘चैत्र २० सम्म बनिसक्नुपर्ने ठेक्काको अवधि हो, त्यसभित्रै सम्पन्न हुन्छ,’ खनालले भने, ‘दैनिक २ सयभन्दा बढी कामदारले काम गरिराखेका छन् ।’ ४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भइराखेको उक्त सम्मेलन केन्द्रका लागि सरकारले ७२ करोडभन्दा बढी बजेट लागत अनुमान गरेको थियो । पछि ठेक्का लगाउँदा ५८ करोड २४ लाख रुपैयाँमा सम्झौता भएको हो । केसी सामान्तर जेभीले निर्माण गरिराखेको खनालले बताए । ११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङ स्थल रहनेछ ।


यसरी एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो भवन निर्माण हुन लागेको इन्जिनियर खनालले बताए ।


मुख्य हल प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हल निर्माण हुने उनले बताए । दुई तला उचाइ बराबरको हल हुनेछ । यसका साथै उक्त भवनमा विशिष्ट व्यक्तिका विशिष्ट कक्ष, सहायता कक्ष र विभिन्न समयमा कार्यक्रमका लागि आदानप्रदान कक्षसमेत निर्माण हुनेछन् । मुख्य हलमा ३ हजार सिट, कार्यक्रम प्रस्तुतिका लागि मञ्च, आवश्यक कक्षको समेत व्यवस्था गरिएको छ ।


कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ब्लक ३ तलाको हुनेछ, जसमा आवश्यकताअनुसारको शौचालयको व्यवस्थासमेत गरिएको छ । मुख्य हलसँगै निर्माण हुने साना तथा अन्य कक्षको ब्लक समेटी एउटै हलको निर्माण हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले यसपछि भक्तपुरमा ५ हजार क्षमताको सम्मेलन हल निर्माणको तयारी भइरहेको बताए । ‘सभासम्मेलन गर्न बढी सिट क्षमताको हल निर्माणकाको आवश्यकता थियो, केही रूपमा यसले पूरा गर्छ,’ उनले भने, ‘त्यसपछि ठूलो क्षमताको निर्माण हुन्छ ।’

प्रकाशित : माघ २१, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?