कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाम घटाउन लेन थपिँदै

काठमाडौँ — कोटेश्वर–जडिबुटीको सवारी जाम घटाउन दुवैतर्फ सडक फराकिलो गर्ने भएको छ । कोटेश्वरबाट जडिबुटी चोकतर्फ जाँदा टंकप्रसाद आचार्यको सालिक छेउ ढुंगेधाराबाट पेप्सीकोला जाने मोडसम्म दुई लेन र जडिबुटीबाट कोटेश्वर आउँदा कामख्य पेट्रोल पम्पबाट ट्राफिक प्रहरी वृत्तसम्म थप तीन लेन विस्तार गर्न लागिएको हो । 

जाम घटाउन लेन थपिँदै

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीका अनुसार जडिबुटी चोकको पेप्सीकोला जाने मोडमा कान्छी गुरुङको ६ आना १ पैसामा बनेको कच्ची घरलाई मुअब्जा दिएर बाटो बढाउन लागिएको छ । मन्त्रिपरिषद्को पुस २८ मा बसेको बैठकले काटेश्वर जडिबुटीको ६ आना १ पैसामा बनेको यो घर र जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरिसकेको छ । ‘यो निर्णयले काम गर्न थप सहज भएको छ,’ नेपालीले भने, ‘सडक कति फराकिलो बनाउने भन्ने सर्भे भइरहेको छ ।’ कार्यालयले सोमबार काठमाडौं महानगरको ३२ नम्बर वडा अध्यक्ष नवराज पराजुलीलाई समेत विस्तार हुन लागेको सडकको फिल्डमै लगेर जानकारी गराए । ‘सडक विस्तार भएपछि दैनिक हजारौं सर्वसाधारणले सहज यात्रा गर्न सक्छन्,’वडा अध्यक्ष पराजुलीले भने, ‘जुन काम हुन लागिरहेको छ । यसमा वडाको सहयोग हुनेछ ।’


कोटेश्वरबाट आउँदा अहिले भइरहेको दुई लेनसँगै थप तीन लेन बनाउन लागिएको नेपालीले बताए । यसबाहेक छेउमा फुटपाथ पनि हुनेछ । दुवैतर्फ सडक विस्तार गर्दा नागरिक उड्यन प्राधिकरणले ७ रोपनी १३ आना १ पैसा ३ दाम जग्गा सडक बनाउन दिने सहमतिसमेत दिइसकेको छ । सडक विस्तार हुँदा सेनाको पोस्ट, महानगरले बनाएको सार्वजनिक शौचालय, रेस्टुरेन्टसमेत भत्काइनेछ । सडक विस्तार गर्दा जडिबुटी चोकमा कान्छी गुरुङको बाहेक व्यक्तिको घर र जग्गा कतै पनि क्षति नहुने हुने कार्यालयले जनाएको छ । कार्यालयले तयार गरेको प्रारम्भिक योजनाअनुसार पेप्सीकोलातर्फ जाने सवारीलाई ढुगेधाराबाट एयरपार्टको छेउ हुँदै सोझै ३२ नम्बर वडा कायर्नलय निस्कने गरी खुलेको सडकको स्तरोन्नति गर्नेछ । चोकको एउटा घर भत्काएपछि आकाशे पुल पछाडिबाटै पनि जान मिल्ने दुई लेन बनाउन लागिएको कार्यालयले जनाएको छ । पेप्सीकोला जाने सवारी छुट्टै लेनबाट गएपछि अहिले भएको दुई लेनबाट भक्तपुर जाने सवारीले मात्रै प्रयोग गर्छ पाउनेछ । यसले पनि भक्तपुर जाने सवारीको जाम जडिबुटीमा कम हुनेछ । कोटेश्वर आउँदा हुने जाम कम गर्न भने पेट्रोल पम्पबाट कोटेश्वर चोकसम्म लेन थप गर्न लागिएको नेपालीले बताए ।


काठमाडौंबाट सवारीसाधन बाहिरिने र भित्रिने नाकामा सबैभन्दा व्यस्त कोटेश्वर पर्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भक्तपुर नाकाबाट मात्रै दैनिक सरदर २४ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । काठमाडौं उपत्यकामा दैनिक सरदर ३२ हजार सवारी आउजाउ हुने भक्तपुर नाका सबैभन्दा बढी व्यस्त हो । बीपी राजमार्ग हुँदै पूर्वका सवारीसाधन सञ्चालन भएपछि काटेश्वरको जाम बढेको हो । स्थानीय सरकारले मात्रै होइन, संघीय सरकारले नै कोटेश्वरको जाम हटाउन पहल गरेको हो ।


सरकारले कोटेश्वरको जाम हटाउन लेन विस्तारदेखि अकाशे पुल निर्माणसम्मको कार्ययोजना अघि सारेको छ । कोटेश्वरमा आकाशे पुल निर्माणको ठेक्का भइसकेको छ । पुस १५ को मन्त्रिपरिषद् बैठकले ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित गरेको थियो । यसमा कोटेश्वरको सवारी जाम हटाउने पाँचवटा विकल्प अघि सारेको थियो । पहिलो विकल्पमा कोटेश्वर चोकबाट बायाँतिरको खाली ठाउँमा सर्भिस लेन विस्तार गर्ने, मनोहरा खोलामा निर्माणाधीन मनोहरा पुलसम्म जानका लागि दुवैतर्फ सर्भिस लेन विस्तार गर्ने योजना पनि सरकारले अघि सारेको छ । यी सबै काम असारसम्म सक्ने कार्ययोजना सरकारले गरेको छ ।

प्रकाशित : माघ ८, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?