कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यापारीलाई हटाएर पार्क

ललितपुर — पुल्चोकस्थित उग्रचण्डी मन्दिर अगाडि दुई आना खाली सार्वजनिक जग्गा छ । व्यापारीले ओगटेर पसल गरिरहेका थिए । ललितपुर महानगरपालिकाले व्यापारीलाई हटाएर यही जग्गामा पार्क बनाउँदै छ । पार्कमा आउने बाटो बनाइसकेको छ । रुख रोप्न बीचमा खाली ठाउँ छाडेर वरिपरि इँटाको पर्खाल लगाइएको छ ।

पर्खालमा सर्वसाधारण बस्न मिल्छ । बस्तीको बीचमा थोरै खाली ठाउँमा स्थानीय टोहलिने आवश्यक पूर्वाधार मात्रै भएकाले महानगरपालिकाले यसलाई पकेट पार्कको नाम दिएको छ ।


थोरै जग्गामा आठवटा पार्क निर्माण भइरहेको महानगरका इन्जिनियर प्रवीण श्रेष्ठले बताए । ‘थोरै जग्गामा पनि बिरुवा रोपेर वरिपरिका स्थानीय बासिन्दा बसेर रमाइलो गर्ने ठाउँ बनाइरहेका छौं,’ उनले भने । यस्ता पार्कमा रुख रोपेर गाउँको जस्तो ‘चौतारा’ को सम्झाना गराउन लागेको महानगरले जनाएको छ । ‘एक/दुई आना सार्वजनिक जग्गा भएको ठाउँ संरक्षण पनि हुने र महानगरमा हरियाली पनि हुन सक्छ,’ श्रेष्ठले भने ।


उक्त पार्क निर्माणमा महानगरपालिकाको पाँच लाख रुपैयाँ र बाँकी भृक्छ फाउन्डेसनले खर्च गर्ने उनले बताए । महानगरपालिकाले ग्रिन एन्ड ब्लू प्रोजेक्टअन्तर्गत फाउन्डेसनको सहयोगमा आठ स्थानमा ठाउँअनुसारको पार्क बनाउन लागेको हो । महानगरपालिकाले जावलाखेलमा मीननाथको रथ राख्ने ठाउँको उत्तरतर्फ र मच्छिन्द्रनाथको रथ राखिने ठाउँमा, स्टिल टावरनजिकै, मानभवनमा एकता बुक नजिकै, कुमारीपाटी प्रसादी एकेडेमी अगाडि, लगनखेल बसपार्कको पूर्वतर्फ, कुसुन्तीस्थित बसपार्क अगाडि पकेट पार्क निर्माण गर्ने जनाएको छ । पुल्चोकमा बन्ने पार्कको डिजाइन तयार भएर काम सुरु भइसके पनि अन्यको डिजाइन तयार हुँदै छ ।


जावलाखेलको मीननाथको रथ राखिने स्थानको उत्तर तर्फको पार्कको डिजाइन बनाइए पनि छलफलको चरणमा रहेका इन्जिनियर श्रेष्ठले बताए । ‘डिजाइन फाइनल भएपछि उपभोक्ता समिति गठन गरेर पार्क निर्माणको काम सुरु गर्छौ,’ उनले भने, ‘पार्क अपागंता भएका बालबालबालिका र जेष्ठ नागरिकअनुकूल बनाइनेछ । जावलाखेलस्थित मच्छिन्द्रनाथको रथ राखिने ठाउँ नजिकै निर्माण हुन लागेको पार्कमा जेष्ठ नागरिक लागि छुट्टै बस्ने ठाउँको व्यस्था गरिने श्रेष्ठले बताए ।


अब बन्ने पार्कमा जेष्ठ नागरिकलाई राखेर भोटो देखाइने महानगरको योजना छ । ‘अब बन्ने पार्कहरू उपत्यकाकै उत्कृष्ट र नमुना पार्क हुनेछ,’ उनले भने, ‘पार्कमा हिव्लचियर प्रयोगकर्ता तथा दृष्टिविहीनहरूले पनि सजिलै प्रयोग गर्न सक्नेछन् ।’ महानगरभित्रको खुला ठाउँको संरक्षण गर्न पार्क निर्माणको योजना अघि बढाएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए । ‘यो आर्थिक वर्षमा बजेट भ्याएसम्म पार्क निर्माण गर्छौ,ं’ उनले भने, ‘बजेट अपुग भएमा अर्को आर्थिक वर्षको योजनामा राख्छौं ।’

प्रकाशित : माघ ७, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?