चालकले सामान नफर्काए ७ दिनसम्म ‘स्वयंसेवा’- उपत्यका - कान्तिपुर समाचार

चालकले सामान नफर्काए ७ दिनसम्म ‘स्वयंसेवा’

ट्याक्सीमा छुटेको सामान फिर्ता नगरेपछि यात्रुले दिएको निवेदनका आधारमा ट्राफिक प्रहरीले सीसीटीभीबाट गाडीको पहिचान गर्ने गरेको छ 
मकर श्रेष्ठ

काठमाडौँ — पुस २८ गते बोहराटारबाट ठमेलसम्म जाँदा जानुका उप्रेतीले ट्याक्सीमै मोबाइल बिर्सिइन् । ट्याक्सीबाट झर्नेबित्तिकै मोबाइल छुटेको थाहा पाएर कल गरिन्, घण्टी गइरह्यो, फोन उठेन । ‘केही छिनमा त फोन नै अफ भयो,’ जानुकाले भनिन् । त्यही दिन हत्तारिँदै ठमेल पर्यटन विकास बोर्ड पुगेकी उनले सीसी क्यामेराको फुटेज हेरेर ट्याक्सी नम्बर पत्ता लगाइदिन आग्रह गरिन् ।

उनको मोबाइल बा १ ख ४१४६ नम्बरको ट्याक्सीमा छुटेको पत्ता लाग्यो । मंगलबार ट्राफिक प्रहरी महाशाखामा ट्याक्सी चालकलार्ई कारबाही गरी मोबाइल उपलब्ध गराइदिन भन्दै निवेदन दर्ता गरिन् । ट्राफिक प्रहरीको खोजतलास शाखाले त्यही दिन चालकलाई बोलाएर सोधपुछ गर्दा मोबाइल फेला पर्‍यो । चालकले मोबाइल फिर्ता गरे । तर, ट्राफिक प्रहरीले उनलाई न त जरिवाना गराउन चिट काट्यो न थप अनुसन्धान भन्दै थुनामै पठायो ।


‘ती चालकलाई हामीले सडकमा स्वयंसेवकको रूपमा परिचालन गरेर सहयोग लिइरहेका छौं,’ खोजतलास शाखाका प्रहरी नायब निरीक्षक शंकर पाण्डेले भने । ट्याक्सीमा छुटेको सामान फिर्ता नगरेको भन्दै चालकलाई ट्राफिक प्रहरीले सिंहरबार गेटअगाडि बिहान ९ देखि ११ बजेसम्म स्वयंसेवकमा खटाइरहेको छ । ‘ट्राफिक प्रहरीले तीन दिन स्वयंसेवकको रूपमा काम गर्नु भनेको छ,’ ती चालकले भने, ‘अब एक दिन मात्रै बाँकी छ ।’ सामान फिर्ता नगर्ने चालकलाई जरिवाना र हिरासतमा राखेर कारबाही गर्नेभन्दा पनि सचेत गराउन स्वयंसेवककको भूमिकामा ‘पिक आवर’ मा खटाउने गरिएको पाण्डेले बताए । उनका अनुसार सडकमा स्वयंसेवक भएर काम गर्दा अरू चालकले गलत काम गरेको थाहा पाउँछन् । ट्राफिक व्यवस्थापन कसरी भइरहेको भन्नेबारे पनि चालकले जानकारी पाउँछन् ।


बा १ ज ७५९ नम्बरको ट्याक्सी चालक पनि शुक्रबारदेखि स्वंसेवकको भूमिकामा सडकमा देखिनेछन् । पुस २७ मा कलंकीदेखि पुतलीसडकको न्यु प्लाजासम्म बा २ ज ७५९ नम्बरको ट्याक्सीमा जाँदा १८ हजार नगदसहितको झोला छुटेको भन्दै निशा बोहराले बिहीबार ट्राफिक प्रहरीमा निवेदन दिएकी थिइन् । यातायात व्यवस्था कार्यालयबाट उक्त ट्याक्सीको विवरण संकलन गरेर महाशाखामा बोलाइएको थियो । बिहीबार ३ बजे ट्याक्सीमा छुटेको सामान लिएर ट्राफिक प्रहरी महाशाखा आइपुगे । ट्राफिक प्रहरीले सामान धनी बोहरालाई पनि बोलाए । बोहराले भने चालकको नियतमाथि नै प्रश्न उठाए । ‘तपाईंले चाहनुभएको भए म झरेको घरमा किन ल्याइदिनुभएन ? सम्पर्कमा नआएपछि हामीले उजुरी दिएका हौं,’ उनले भने । छुटेको सामान फिर्ता नगरेको भन्दै ती चालकलाई पनि शुक्रबारदेखि सडकमा स्वयंसेवकको रूपमा खटाइँदै छ । बा १ ज २०९८ नम्बरको ट्याक्सीमा कोरियन नागरिकको छुटेको नगद तीन लाख, क्यामेरा, ड्रोन र अन्य सामानसमेत फेला पारेर प्रहरीले फिर्ता दिइसकेको छ । चालक फरार रहेकोले स्वयंसेवकको रूपमा परिचालन गर्न नसकिएको ट्राफिक प्रहरीले जनाएको छ ।


यसरी सामान फिर्ता नगर्ने चालकले एक सातासम्म स्वयंसेवा गरेका छन् । आइप्याड, मोबाइललगायत सामान फिर्ता नगर्ने बा २ ज १७९८ नम्बरको चालक एक सातासम्मै सडकमा खटिनुपर्‍यो ।


उनी दैनिक ट्राफिक प्रहरी महाशाखामा हाजिर हुन्थे । ९ देखि ११ बजेसम्म सिंहदरबारमा स्वयंसेवकको रूपमा काम गर्थे । सामान फिर्ता नगर्ने चालकले कम्तीमा दुई दिनसम्म स्वयंसेवा गरेका छन् ।


ट्याक्सीमा छुटेको सामान फिर्ता नगरेपछि यात्रुले दिएको निवेदकको आधारमा ट्राफिक प्रहरीले सीसीटीभी र यातायात व्यवस्था कार्यालयबाट गाडीको पहिचान गर्ने गरेको छ । यसरी खोजी भएर फेला परेको ट्याक्सी चालकलाई मात्रै ट्राफिक प्रहरीले स्वयंसेवकको रूपमा खटाउने गरेको हो । साउनयता ४५ जनालाई स्वंसेवकको रूपमा खटाइसकिएको छ । ट्राफिक प्रहरीमा ट्याक्सीमा सामान हराएको भन्दै साउनयता तीन सय आठ निवेदन परेका छन् । दुई सय चार जनाको सामान फेला परेको छ । अघिल्लो वर्ष चार सय ६६ वटा निवेदन परेकोमा २ सय ९० जनाको १ करोड ६९ लाख बराबरको सामान फेला पारेर बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ३, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

आगलागी चपेटामा परेको अस्ट्रेलियामा वर्षाले केही राहत

एजेन्सी

सिड्नी — शुक्रबारदेखि वर्षा भएपछि आगलागी र खडेरीसँग जुधिरहेकाे पूर्वी अस्ट्रेलियामा केही राहत महसुस गरिएकाे छ । वर्षाले केही ठाउँको आगो निभाए पनि धेरै ठाउँको आगो भने ननिभेको एएफपीले जनाएको छ ।

सेप्टेम्बरदेखि फैलिएको भीषण आगलागीमा अहिलेसम्म २९ जनाको मृत्यु भएको छ । त्यस्तै आगलागीका कारण लाखौँ वन्यजन्तु र पशुपन्छी मारिएका छन् । वन्यजन्तु र सुन्दर समुद्री किनारका लागि प्रसिद्ध अस्ट्रेलियाको झण्डै एक लाख तीन हजार वर्ग किलोमिटर भूभागमा आगो फैलिएको छ । २५ सय घर आगोमा जलेर ध्वस्त भएका छन् ।

आगलागीले सबैभन्दा बढी प्रभावित भिक्टोरिया, न्यु साउथ वेल्स तथा क्वीन्सल्याण्ड राज्यमा केही राहत दिए पनि पूर्ण रुपमा आगो भने ननिभेको अधिकारीहरुले जनाएका छन् । ‘हामी निरन्तर वर्षा भइरहोस् भनेर प्राथना गरिरहेका छौँ,’ न्यु साउथ वेल्स अग्नि नियन्त्रण कार्यालयले शुक्रबार ट्विटरमा लेखेको छ ।
त्यहाँकाे मौसम विभागका अनुसार केही दिनसम्म न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा भीषण हावाहुरी र पानी पर्ने सम्भावना रहेको छ । वर्षाले अग्नि नियन्त्रण कर्मचारी र किसानलाई राहत दिए पनि केही ठाउँमा बाढी र रुखहरु पनि ढलेका छन् ।

वर्षाले डढेलोका कारण धुमिल भएको अस्ट्रेलियाको आकाश सफा भएको छ । तर पनि शुक्रबार सिड्‌नी, क्यानबेरा र मेलबर्न विश्वका सबैभन्दा बढी प्रदूषित एक सय शहरमा परेका थिए ।

आगलागीका कारण अस्ट्रेलियाली अर्थतन्त्रलाई ठूलो धक्का पुगेको छ । अस्ट्रेलियाली अर्थतन्त्रको मुख्य आधार मानिने पर्यटन क्षेत्रमा आगलागीका कारण झण्डै एक अर्ब अमेरिकी डलर घाटा भएको बताइएको छ ।

प्रकाशित : माघ ३, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×