यसरी बन्छ भूकम्प प्रतिरोधी घर- उपत्यका - कान्तिपुर समाचार

यसरी बन्छ भूकम्प प्रतिरोधी घर

कान्तिपुर संवाददाता

(भक्तपुर) — कलात्मक आकृतिले भरिएको काठको बाहिरी मोहडा । पिंढी, कलात्मक झ्याल, माथि बार्दली । हेर्दा लाग्छ, यो कुनै पुरानो मौलिक घर हो । बाहिर काठको बरण्डा निकालेर बनाइएको यो संरचना पिलर सिस्टमको तीनतले घर हो । अर्थात्, परम्परागत मौलिक शैलीको आधुनिक भूकम्प प्रतिरोधी घरको नमुना । 

ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप: इन्जिनियरिङ कलेजका विद्यार्थीले २२औं भूकम्प सुरक्षा दिवसको अवसरमा बिहीबार भक्तपुर दरबार क्षेत्रमा प्रदर्शनीमा राखेको घरको नमुना हेर्दा धेरैले विश्वास गरे, भूकम्पले ध्वस्त बनाएका घर पुन: मौलिक शैलीमा उसैगरी ठडिनेछन् । ‘परम्परा पनि जोगिने, राम्रो र बलियो पनि हुने,’ स्नातक गर्दै गरेकी अनिता लुबञ्जारले भनिन्, ‘भूकम्पले ध्वस्त पारेका घर बलियो र सुरक्षित तरिकाबाट उसैगरी मौलिक शैलीमा निर्माण गर्न सकिन्छ ।’


भूकम्पले भक्तपुर नगरलगायत पुराना बस्तीका अधिकांश परम्परागत घर ध्वस्त बनायो । सांस्कृतिक सम्पदाले भरिपूर्ण उपत्यकालगायत ३१ जिल्लामा भूकम्पको धक्काले बढी क्षति गर्‍यो । ०७२ वैशाखको भूकम्पले पुराना सांस्कृतिक बस्ती, ऐतिहासिक महत्त्वका सम्पदा लथालिंग बनाएको भन्दै विद्यार्थीले मौलिक शैलीका घर, क्षतिग्रस्त मठमन्दिर, सत्तललगायतको नमुना प्रदर्शन गरेका हुन् । घरको आयु बढाउन, सुरक्षित राख्न पिलर सिस्टमकै घर आवश्यक नभएको विद्यार्थीहरूले जनाएका छन् । ‘भूकम्प आउँदा कच्ची र पुराना घर मात्र ध्वस्त भएका छैनन्, पिलर सिस्टममा बनेका घर पनि ध्वस्त भएका छन्,’ विद्यार्थी सरोज शाहनीले भने, ‘साधनस्रोतको मात्र दोष नभएर बनाउने तरिकाले पनि फरक पार्छ । बालुवा, सिमेन्ट प्रयोग नगरी बनाउन चाहनेले पनि सुरक्षित भवन निर्माण गर्न सक्छन् ।’


नेवारी संस्कारमा प्रचलित संयुक्त परिवारलाई पनि छोड्न नमिल्ने र भूकम्पपछि छुट्टिन बाध्य परिवारलाई समेत एकीकृत गर्न संयुक्त परिवारका लागि घरको नमुनासमेत प्रदर्शन गरिएको थियो । ‘भक्तपुर नगरका अधिकांश मानिस संयुक्त परिवारमा अटेका थिए, भूकम्पले छिन्नभिन्न बनायो,’ लुबञ्जारले भनिन्, ‘संयुक्त परिवारमै बस्न चाहने परिवारको लागि पनि सुरक्षित भवनको नमुना तयार गरेका छौं ।’


एक सय वर्षसम्म सुरक्षित किसिमले बस्न मिल्ने परिकल्पनासहितको इस्टिमेट तयार गरी मौलिक किसिमको आधुनिक भूकम्प प्रतिरोधी भवनको नमुना प्रदर्शन गरिएको थियो । भक्तपुरमा एक/दुई आनामा बनाइएका पुरानो र साँघुरो गल्लीका घरमा बढी क्षति भएपछि इन्जिनियरिङका विद्यार्थीले थोरै जग्गामा सुरक्षित घरको नमुनासमेत तयार गरेका छन् । प्रदर्शनमा सम्पदा पुनर्निर्माण, अस्थायी घर, स्मारक क्षेत्रभित्र बनाइने घरको नक्सा, सांस्कृतिक मापदण्ड सुहाउँदो भवन संरचनाको लागि नक्साको नमुना राखिएको थियो । ‘भूकम्प प्रतिरोधी र सहरी विकासको संरक्षणलाई जोगाउनु हाम्रो कर्तव्य हो,’ ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भने ।


दिवसका अवसरमा गृहमन्त्री रामबहादुर थापाले असुरक्षित संरचना निर्माण नै भूकम्पीय क्षतिको मूल कारण भएको बताए । विगतको विनाशकारी भूकम्पले सिकाएको पाठ स्मरण गर्दै उनले पूर्वाधारलाई मजबुत बनाएर मात्र सुरक्षित रहन सकिने धारणा राखे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकरी प्रमुख सुशील ज्ञवालीले भूकम्पबाट सुरक्षित घरको सुनिश्चित गर्न पालिकाहरूले अनुगमन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका वक्ताहरूले मौलिक संरचना ध्वस्त हुनुमा कमजोर संरचना नै प्रमुख भएको बताए ।


प्रकाशित : माघ ३, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्

जोखिम रोक्न सुरक्षित भवन : गृहमन्त्री 

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले ०७२ सालको भूकम्पबाट क्षति भएको भौतिक संरचना पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृतिसभामा बोल्दै उनले नागरिक सचेतना र विपद् व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने बताए ।

‘प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन्,’ उनले भने, ‘त्यसैले कहिलेकाहीँ अप्रत्यासित जोखिम बेहोर्नुपर्ने हुन्छ, यसबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन हो ।’

१९९० सालदेखि अहिलेसम्म भूकम्पमा परी दिवंगत हुनेहरूको काठमाडौं महानगरपालिकाले सभा आयोजना गरेको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यले विपत्ति आइहाले क्षति कम गराउन वडास्तरीय विपद् क्षति व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरेको जानकारी गराए । ‘महानगरभित्र निर्माण हुने सरकारी वा निजी भवन नक्सा स्वीकृत नगरी बनाउन पाइँदैन,’ उनले भने, ‘सरकारी भवन स्वीकृत गर्दा लाग्ने दस्तुर अनुदानका रूपमा फिर्ता गराउने र व्यावसायिक सरकारी भवन भएमा अन्यसरह घरजग्गा कर, सम्पत्ति कर र व्यवसाय कर लिने गरेका छौं ।’ ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुरक्षा र समृद्धिको आधार’ नारा राखिएको दिवसकै अवसरमा भृकुटीमण्डपमा भूकम्प सुरक्षा प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सहरी विकास तथा भवन निर्माण विभाग, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र ख्वप: इन्जिनियरिङ कलेजलगायतले विपद् क्षति व्यवस्थापनका अनुभव, सामग्री तथा उपकरण राखेका छन् ।

त्यस्तै, ललितपुर महानगरपालिकाले पनि दिवसको अवसरमा जावलाखेलदेखि पाटन दरबार क्षेत्रसम्म चेतनामूलक र्‍याली गरेको थियो । १९९० र ०७२ सालको भूकम्पको चर्चा गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले अव्यवस्थित सहरका कारण अब भूकम्प आउँदा धेरै मानिसले ज्यान गुमाउनुपर्ने जोमिख औंल्याए । ‘खुला ठाउँ नछोडी घर बनाइएको छ, यसमा सबै तहका सरकारले ध्यान दिनुपर्ने,’ उनले भने ।

०७२ सालको भूकम्पमा घर भत्किएका सर्वसाधारणले अझै पनि मापदण्डअनुसार निर्माण नगरेको महानगरकी उपप्रमुख गीता सत्यालले बताइन् । ०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

प्रकाशित : माघ ३, २०७६ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×