सार्वजनिक स्थलको पर्खाल भत्काइँदै

(ललितपुर) — ललितपुर महानगरपालिकाले पुराना तथा ऐतिहासिक महत्त्व बोकेका सार्वजनिक भवन तथा स्थानको पर्खाल भत्काई खुला बनाउने काम सुरु गरेको छ । पैदलयात्रु तथा सर्वसाधारणलाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागेको महानगरले जनाएको छ । पुराना तथा ऐतिहासिक महत्त्व बोकेको सार्वजनिक भवनमा सर्वसाधारणको पहुँच नहुनाले त्यसभित्रका दृश्य देखाउने महानगरको लक्ष्य छ । 

योजनाअन्तर्गत पहिलो चरणमा पुल्चोक इन्जिनियरिङ कलेजको पर्खाल भत्काउने काम भइरहेको छ । कलेज हाताभित्र आनन्द निकेतन दरबार, पानीका फोहोरा, दुई वटा राणाकालीन घर, बगैंचालगायत विभिन्न संरचना छन् । उक्त दरबारबारे स्थानीयलाई पनि थाहा नभएको महानगरका मेयर चिरीबाबु महर्जनले बताए । ‘सर्वसाधारणलाई पर्खालभित्र के छ, थाहै छैन,’ उनले भने, ‘त्यसैले आजसम्म नदेखेका मौलिक, कलात्मक, मनमोहक दृश्य अब हामी दिनहुँ हेर्न र अवलोकन गर्न सक्छौं ।’ टुँडिखेलमा जस्तो पर्खाल भत्काएर फलामे डन्डी राखेर भित्र हेर्न मिल्ने बनाइने उनको भनाइ छ ।


महानगरले क्याम्पसको पर्खाल भत्काउने, रेलिङ बार लगाउने र मौलिक शैलीमा गार्ड हाउस निर्माण गर्ने जिम्मा जेएसएस इन्जिनियरिङ सर्भिस कम्पनीलाई दिएको छ । कम्पनीले ६४ लाख ८९ हजार रुपैयाँमा उक्त काम गरिसक्नुपर्ने महानगरका इन्जिनियर हरिषचन्द लामिछानेले बताए । ‘क्याम्पस परिसरको पर्खाल भत्काई रेलिङ लगाइन्छ,’ उनले भने, ‘भित्रको खाली भागमा पार्क बनाइन्छ, जसका लागि अहिले डिजाइन निर्माण हुँदै छ ।’


अब पर्खालकै कारण भित्र भएका सम्पदा तथा संरचना हेर्नबाट सर्वसाधारण वञ्चित हुनु नपर्ने महानगरका प्रवक्ता राजु महर्जनले बताए । ‘उपत्यकामा खुला स्थानको अभाव छ, भएका पनि पर्खाल लगाई छोपिएको छ,’ उनले भने, ‘खुला स्पेसको महसुस गराउन पनि यस्तो योजना बनाएका हौं ।’ जावलाखेल फुटबल मैदानको पर्खाल पनि भत्काउन थालिएको छ । उक्त कामका लागि त्रिवेणी लाफा कम्पनीले एक करोड १२ लाख रुपैयाँमा ठेक्का लिएको प्रवक्ता महर्जनले बताए ।

प्रकाशित : पुस २६, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?