कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्टप नभएको ठाउँमा रोक्छन्, छिटो नओर्ले गाली गर्छन्’

सीमा तामाङ

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार सुन्धारास्थित काठमाडौं मलअगाडि सार्वजनिक सवारीसाधनको अनुगमन गरेको छ । अनुगमनका क्रममा महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल र प्रहरी उपरीक्षक राजकुमार बैदवारले बसमा सवार यात्रुलाई सार्वजनिक सवारीमा यात्रा गर्दा के–कस्ता समस्या तथा सुझाव छन् भनी प्रश्न गरेका थिए ।

‘स्टप नभएको ठाउँमा रोक्छन्, छिटो नओर्ले गाली गर्छन्’

जवाफमा बा ४ ख ५६४० नम्बरको लगनखेल–बूढानीलकण्ठ रुट चल्ने साझा बसमा सवार एक यात्रुले भने, ‘साझा बसमा समस्या छैन, तर अन्य सवारीमा चढ्दा निकै समस्या भोग्नुपर्छ ।’


अनुगमनका क्रममा बा ४ ख ७४०४ नम्बरको दिगो सार्वजनिक बस निकै फोहोर देखिएको प्रहरी टोलीले पाएको थियो । उक्त बसको बाहिरी भाग र चालक बस्ने स्थानमा पनि धुलो, हिलो देखिन्थ्यो । अनुगमन टोलीको प्रश्नमा चालक निरञ्जन राईले भने, ‘बिहान ४ बजे हिँडेपछि बेलुका १० बज्छ । अहिले चिसोको मौसम भएकाले दैनिक सफा गर्न पाएको छैन ।’


बा १ ज ९२५६ को माइक्रोबसका चालक राजेन्द्र तामाङ जुत्ता–चप्पल नलगाई बस चलाइरहेको अवस्था थिए । चालक र सहचालक दुवैले ‘अशोभनीय’ पोसाक लगाएको भन्दै ट्राफिक महाशाखाको टोलीले चालकको हातमा पत्र थमाइदियो । जसमा सवारी चलाउँदा जुत्ता नलगाएको र चालक–सहचालकको गेटअप शोभनीय नभएको लेखिएकोमा टिक लगाइएको थियो । ‘अब चालकले जुत्ता लगाएर गाडी चलाउनुपर्छ,’ टोलीका संयोजक एसपी बैदवारले भने, ‘एक हप्तासम्म सुधार नगरे हामी कारबाही बढाउँछौं ।’ टोलीले पैदलयात्रुसँग पनि सवारी समस्याबारे बुझेको थियो । यात्रु विन्दुकान्त घिमिरेले कतिपय गाडीले तोकेको भन्दा बढी भाडा लिने गरेको गुनासो सुनाए । ‘४ किलोमिटर यात्रा गर्दा १४ रुपैयाँ र ५ किलोमिटर यात्रा गर्दा १६ रुपैयाँ तिनुपर्छ,’ उनले भने, ‘तर सहचालकले २० रुपैयाँ लिन्छन् ।’ गाडीमा भाडादर टाँसेको नपाइएको नपाइएको पनि घिमिरेले बताए । अर्का यात्रु सुजन बज्राचार्यले सहचालकलाई पनि बाहिर टाउको निकाल्न नपाउने नियम ल्याउनुपर्ने टोलीलाई सुझाए । ‘चढाउने बेला स्टप नभएको ठाउँमा पनि रोकेर चढाउँछन्,’ उनले आफ्नो अनुभव सुनाए, ओर्लंदा भने छिटो ओर्लनु भन्दै गाली गर्छन् ।’


टोलीले २३ वटा भाडाका सार्वजनिक सवारीसाधनमाथि अनुगमन गरेको थियो । महाशाखा प्रमुख ढकालले यात्रुहरूले भाडा तिरिसकेपछि त्यो अनुसार सुविधा पाउनुपर्ने भन्दै अभियान सुरु गरेको बताए । ‘एक हप्ताको समय दिएर सुध्रिन मौका दिएका छौं,’ उनले भने, ‘सुधार नभए एक हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउनेछौं ।’ महाशाखाले पुस २० गते उपत्यकाका ३२ वटा कम्पनी र मजदुर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग छलफल गरेको थियो । जसमा यातायात व्यवसायीले सर्वसाधारणलाई सास्तीबिना सेवा दिने प्रतिबद्धता जनाएका थिए । अनुगमन टोलीमा प्रहरी उपरीक्षक बैदवारको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनी/प्रालिका प्रतिनिधि गरी आठ जना छन् ।


यस्तै, सहरी विकास मन्त्रालयले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई एक सय २० थान स्टप बोर्ड हस्तान्तरण गरेको छ । राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार बोर्ड हस्तान्तरण गर्दै पैदलयात्रुलाई सुरक्षित रूपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न बोर्डले सजिलो बनाउने बताए । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पैदलयात्रुलाई अनिवार्य रूपमा जेब्रा क्रसिङ, आकाशेपुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सुसूचित गर्न बोर्डको प्रयोग गरिने महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए । बोर्डहरू सेफर नेपाल ट्राभल्स एन्ड टुर प्रालिले तयार पारेको महाशाखाले जनाएको छ ।


प्रकाशित : पुस २६, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?