राष्ट्रिय पुस्तकालय अझै बोरामा

पुस्तकालय बनाउन सरकारले जमलमा उपलब्ध गराएको जग्गा शंकरदेव क्याम्पसले छाडेन

काठमाडौँ — ललितपुरस्थित हरिहर भवन भूकम्पले जीर्ण बनेयता राष्ट्रिय पुस्तकालयका डेढ लाख पुस्तक अझै बोरामै थन्किएका छन् । ती पुस्तक हरिहर भवनसँगैको तबेला रहेको टहरा, सानो गौरचनस्थित गोदाम र सानोठिमीस्थित शिक्षा विभागको गोदाममा राखिएका छन् । 

राष्ट्रिय पुस्तकालय अझै बोरामा

तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थसमेत लथालिंग छन् । पुस्तकालयको प्रशासनिक काम हरिहर भवन परिसरको घोडातबेला टहराबाट हुने गरेको छ । त्यहाँ १५ कर्मचारी कार्यरत छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइले हरिहर भवन पुनर्निर्माण गर्ने भएपछि परिसरमा रहेको पुस्तकालय प्रशासन कार्यालयसमेत अन्यत्र सर्नुपर्ने भएको छ तर उपयुक्त ठाउँ नपाइएको पुस्तकालय प्रशासनले जनाएको छ ।

इकाइले तीन महिनाअघि हरिहर भवन परिसरमा रहेको राष्ट्रिय पुस्तकालयको प्रशासन, निजामती किताब खाना र राष्ट्रिय मानव अधिकार आयोगलाई अन्यत्र सर्न परिपत्र गरेको थियो । त्यसपछि किताबखानालाई हरिहर भवन नजिकै कृषि विभागमा सारिएको छ । मानव अधिकार आयोगले घर भाडामा लिन मंसिर १५ गते सार्वजनिक सूचना जारी गरेको छ तर राष्ट्रिय पुस्तकालयको प्रशासन न्यून बजेटका कारण तत्काल भाडामा जान नसक्ने स्थितिमा गुज्रिएको पुस्तकालय प्रमुख उपेन्द्र मैनालीले बताए ।


सरकारले काठमाडौं महानगरपालिका–१ जमलमा रहेको करिब ८ रोपनी जग्गा राष्ट्रिय पुस्तकालयलाई दिने निर्णय गरेको छ । जग्गा उपलब्ध गराएसँगै ‘नेपालको मौलिक कला, संस्कृति र परम्परा झल्किने अत्याधुनिक राष्ट्रिय पुस्तकालय भवन’ निर्माण गर्ने उक्त निर्णयलगत्तै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेको छ तर पुस्तकालय बनाउन सरकारले उपलब्ध गराएको जग्गा शंकरदेव क्याम्पसले नछाडेपछि निर्माण प्रक्रिया अघि बढेको छैन । ‘राष्ट्रिय पुस्तकालयको भवन जमलमै बन्नेमा दुई मत छैन,’ मैनालीले भने, ‘तर अहिले तत्कालै दुई महिनाभित्र हरिहर भवन भत्काउने भएपछि कार्यालय कहाँ सार्ने भन्ने अप्ठ्यारामा परेका छौं । सकेसम्म सानोठिमी शिक्षा विभाग आसपासमा अस्थायी कार्यालय राख्न पाए सेवा सुरु राख्न सक्थ्यौं ।’


राष्ट्रिय पुस्तकालयको नयाँ भवन बन्न कम्तीमा तीन वर्ष लाग्ने अनुमान गरिएको छ । जमलमा भवन निर्माण गर्न डीपीआर बनेसँगै माटो परीक्षण र वातावरणीय प्रभाव मूल्यांकनको कामसमेत भइसकेको छ । पुस्तकालयको रेकर्डअनुसार भूकम्पपछि सानो गौचरनस्थित महेन्द्र भवन माविको गोदाममा ८९ हजार र सानोठिमीमा २६ हजार पुस्तक सारिएका छन् । आधा जति मात्र र्‍याकमा राखिएका छन् । झन्डै ७ हजार थान बालपुस्तक र नयाँ खरिद गरिएका ३ हजार पुस्तक हरिहर भवनकै बालशाखामा गोदामभित्र बोरामा राखिएका छन् ।


पुस्तकालयका दुर्लभ हस्तलिखित ७ सय ५० वटा पुस्तकलाई ट्याग गरेर राखिएको छ । पुस्तकालयले नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा विस्तार गरेको थियो । पुस्तकालयमा ती लगायत मराठी, पाली, फ्रेन्च, जापनिज, थाई, मलेसियन र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् ।


भूकम्पबाट पुस्तक जोगिएका थिए । तिनलाई कीरा लाग्नबाट जोगाउन कपुर र बेगन प्रयोग गरिएको छ । कतिपय पुस्तक तथा कागजातहरू धुजाधुजा अवस्थामा छन् । हस्तलिखित ग्रन्थमध्ये केहीलाई कपडाले बेरेर राखिएको छ । तर सेवा दिन नसकेकाले ती पुस्तक सड्न थालेको कर्मचारी अनुमान गर्छन् । तत्काल अस्थायी टहरामा भए पनि ती पुस्तकलाई एकीकृत गरी सेवा विस्तार गर्ने योजना रहेको प्रमुख मैनालीले बताए ।


प्रकाशित : पुस २५, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?