बस्ती झिलीमिली, मुख्य सडक अन्धकार

लीला श्रेष्ठ, प्रशान्त माली, सीमा तामाङ

(भक्तपुर) — सूर्यविनायक–तीनकुने ६ लेनको ९ दशमलव १ किलोमिटर सडकमा पोल ठडिएको छ । राति बत्ती बल्नुपर्ने ती पोलमा विज्ञापनका बोर्डमात्र झुन्ड्याइएका छन् । पोलमा प्रहरीले सीसी क्यामेरा त राखेको छ, तर बत्ती नहुँदा क्यामेराले काम गर्दैन ।

‘जिल्लाको मुख्य सडक अन्धकार छ । सडकबत्ती नहुँदा दुर्घटना गराउने सवारीसाधनको पहिचान गर्न सकिँदैन,’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले भने ।


जापान सरकारले सन् २०११ मा सूर्यविनायक–तीनकुने सडक निर्माण गरेर नेपाललाई हस्तान्तरण गर्दा केही सडकको बीचमा बत्तीसहितको पोल गाडिएको थियो । साँझ पर्नेबित्तिकै बत्ती बल्ने र उज्यालो हुनेबित्तिकै स्वत: बत्ती निभ्थ्यो । सडकमा बत्ती व्यवस्थापन गर्ने जिम्मेवारी नेपाल सरकारको थियो । तर, सल्लाघारी–सूर्यविनायक सडकखण्डमा पोलसमेत गाडिएको छैन । पोल ठडिएको स्थानमा समेत बत्ती बल्दैन ।


सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक योजनाकी इन्जिनियर शिला श्रेष्ठले दक्ष प्राविधिक नहुँदा सडकबत्ती जडान हुन नसकेको बताइन् । प्रत्येक वर्ष टुक्रे बजेट विनियोजन हुने र पर्याप्त बजेट अभावका कारण सडकबत्ती जडानमा ढिलाइ भएको उनको भनाइ छ ।


सूर्यविनायकदेखि कोटेश्वर तीनकुनेसम्म ३० मिटरको फरकमा करिब ३ सय बत्ती जडान गर्नुपर्ने र त्यसका लागि करिब ९ करोड खर्च लाग्ने अनुमानित प्रस्ताव सरकारलाई पेस गरिएको थियो ।


नगर झलमल्ल

सडक अन्धकार भए पनि भक्तपुर मध्यपुर नगर क्षेत्र भने राति झलमल्ल देखिन्छ । भक्तपुर नगरपालिकाले बिजुलीको यत्रतत्र तारलाई व्यवस्थित गरी उज्यालो नगर स्थापित गर्न तार भूमिगत बनाउँदै छ । ‘अव्यवस्थित तारले सांस्कृतिक सुन्दर नगरको दृश्य प्रदूषित भयो, तार भूमिगत गर्ने व्यवस्थापनमा लागेका छौं,’ भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले भने, ‘सम्पदा क्षेत्रको अधिकांश स्थानमा सडकबत्ती, सीसी क्यामेरा जडानको कार्य भइसक्यो, क्रमश: सवारी निषेध गर्दै लानेछौं ।’


तारलाई भूमिगत गरी आधुनिक प्रविधिको सेन्सर/फोटो स्वीच प्रणालीअन्तर्गत दरबार प्रवेशद्वारबाट बत्ती जडान कार्यको सुरुवात गरेको नगरपालिका प्राविधिक शाखाका हरिरत्न ध्वजु बताउँछन् । चालु आर्थिक वर्षमा नगरको ४ वडामा २०, ५ मा १५, ७ मा ३०, ८ मा ६० र ९ वडामा १ सय बत्ती गरी २ सय २५ सडकबत्ती जडान गरेको ध्वजुले बताए । प्रतिबत्ती जडानका लागि करिब ८ हजार रुपैयाँ खर्च भएको थियो ।


त्यस्तै, मध्यपुर थिमि नगरपालिकाले भने जग्गाधनीको लागत साझेदारीमै बिजुलीका तार भूमिगत गर्ने भएको छ । प्राधिकरणको थिमि शाखादेखि गठ्ठाघरस्थित राधाकृष्ण मन्दिरसम्मको तार भूमिगत गर्न नगरपालिकाले बजेट विनियोजन गरेको छ । नगरपालिकाले ५० प्रतिशत र जग्गाधनीले ५० प्रतिशत लागत साझेदारी गर्ने सहमति गरेको जनाएको छ ।


घनाबस्तीमा टाँगिएका नांगो तार र साँघुरा सडकमा गाडिएका पोलले दुर्घटना निम्त्याउने भएकाले जोखिम कम गर्न तारलाई भूमिगत गर्ने योजना अघि सारिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । ‘पुराना पोलमा जथाभावी टाँगिएका तारले बजार कुरूप बनाएको छ, बस्तीमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुने रहेछ,’ उनले भने, ‘स्थानीयको लागत सहभागितामा तारलाई भूमिगत गर्न र बस्ती उज्यालो अभियान थालेको हो ।’


तार भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सहयोग गर्ने उनले बताए । नगरपालिकाले प्राधिकरणलाई तार भूमिगत गर्ने र पोल हटाउने प्रस्ताव गरेपछि प्राधिकरणले सर्वे गरी एक करोड ९८ लाख रुपैयाँको लागत इस्टिमेट तयार गरेको जनाएको छ । तार भूमिगत गर्न स्थानीय जग्गाधनीले प्रतिफिट २५ सय रुपैयाँका दरले नगरपालिकालाई रकम दिने सहमति भएको छ । त्यसैगरी, मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक सम्पदा, मठमन्दिर, मूर्तिको संरक्षण तथा अपराधजन्य गतिविधि न्यूनीकरणका लागि नगरको पुराना बस्तीमा सडक बत्ती र सीसी क्यामरा जडानको कार्य थालेको जनाएको छ । चालु आव ०७६/७७ मा प्रहरी समुदाय साझेदारीअन्तर्गत सीसीक्यामेरा जडान तथा बत्ती जडानका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।


चाँगुनारायणमा ६ सय बत्ती

चाँगुनारायण नगरपालिकाले ‘उज्यालो चाँगुनारायण’ अभियानअन्तर्गत मुख्य सडकमा करिब ६ सय सडकबत्ती जडान गर्ने भएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार पर्यटकीय गन्तव्य नगरकोटमा ८०/८० मिटर दुरीमा १ सय ३० वटा, च्याम्हासिंह–नाला सडकमा ७० वटा, दुवाकोट–झौखेल, देकोचा–चाँगुनारायण मन्दिर, कमलविनायक भत्केकोपाटी–नगरकोट, ब्यासी–झौखेल, मुहानपोखरी–चरेली सडकमा बत्ती जडानका लागि विद्युत प्राधिकरण भक्तपुरसँग सहमति गरेको छ । त्यसैगरी, सूर्यविनायक नगरको १० वटै वडाको मुख्यमुख्य ठाउँमा सडकबत्ती जडान अभियान थालिएको छ । सूर्यविनायक–६ का वडाध्यक्ष रामेश्वर ध्वजुले भने, ‘मुख्य सडकबाहेक सर्भिस ट्रयाकलगायत नगरक्षेत्रमा स्थानीय बासिन्दासँगको सहकार्यमा बत्ती जडान भएको छ ।’


प्रकाशित : कार्तिक २७, २०७६ ०८:३७

प्रतिक्रिया
पठाउनुहोस्

सकिमनामा अन्नका देउता

कान्तिपुर संवाददाता

भक्तपुर — परम्परागत बाजागाजा सहितको दाफा भजनले घेरिएको छ । बीचमा बिस्केटको झल्को दिने भैरवनाथको रथ र बिस्केटको लिंगो । भुटेको मकै, कालो भटमास, गहुँबाट बनाइएको आकृति भए पनि झट्ट हेर्दा साँच्चिकै भैरवनाथको रथ गुड्न तयारझैं देखिन्छ । घर/घरबाट ल्याइएको भुटेको मकै, कालो भटमास, गहुँजस्ता गेडागुडी तथा स्वारी मालपुवालगायत रोटीबाट बनेको यो आकृतिले मंगलबार साँझ तौमढीस्थित भैरवनाथ मन्दिर परिसरमा बेग्लै रौनक दिइरहेको थियो । कार्त्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमना पूर्णिमाको अवसरमा यस्तो आकृति बनाइएको हो । अन्नको आकृति बनाइने संस्कृतिलाई हरिमन्दी तथा नसा ब्वयेगु भन्ने चलन छ ।

तौमढीमा जस्तै दत्तात्रय मन्दिर, वाकुपतिनारायण मन्दिर, ब्रह्मायणी द्य:छें, बाराही द्य:छें, ग:हिटी गणेश, तलेजु, चोछें गणेश, मध्यपुरथिमिको बालकुमारी मन्दिरलगायत टोलटोलका मन्दिरमा नसा ब्वयेगु देख्न सकिन्छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार नेपालमण्डलभित्र बसोबास गर्ने नेवार समुदायले चन्द्रमाको गतिलाई आधार मानेर वर्षभरि विभिन्न जात्रा, चाडपर्व मनाउने चलन छ । प्रत्येक महिना एक पूर्णिमा आउँछ, त्यसमा कार्तिक शुक्ल पूर्णिमाको दिनलाई सकिमना पूर्णिमा मनाउने चलन छ । यसलाई सकिमिला पूर्णिमा वा हलिमली पर्वको रूपमा पनि मनाइन्छ । ‘सकी’ पिँडालु, ‘मना’ले उसिने भन्ने अर्थ लाग्छ । यस दिन देवालय, शिवालय, मठ मन्दिर तथा देवी/देवताको मूर्ति अगाडि सम्बन्धित मूर्त वा अमूर्त चित्रहरू प्रदर्शन गरिन्छ ।

सफा, ठूला कपडा तथा त्रिपालमाथि पहिले भुटेको गहुँ बिछ्याइन्छ । गहुँमाथि भुटेको मकैबाट सम्बन्धित देवदेवीको चित्र बनाइन्छ ।

संस्कृतिकर्मी धौभडेलका अनुसार परापूर्वकालमा नेपालमा अनिकाल पर्‍यो । धानको बीउसमेत पाइएन । गहुँ, मकै, भटमासजस्ता अन्नमात्र बाँकी रहे । त्यही अन्न खान हुन्छ भन्ने सन्देश दिन कार्त्तिक शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाइयो । पछि त्यही अन्न प्रसादको रूपमा खाने चलन बन्यो । पशुपतिनाथ मन्दिरभित्र रहेको ताम्रपत्रअनुसार नेपाल संवत् ५६० मा राजा यक्ष मल्ल र उनका भाइ जीव मल्लले दिवंगत माता संसारदेवीको नाममा वर्षभरि विभिन्न पूजापर्व उल्लेख गर्ने क्रममा कार्तिक शुक्ल पूर्णिमाको दिन पनि समावेश गरिएको छ । त्यहाँ सकिमना पूर्णिमा वा हरिमन्दी नभई जुधान पुन्ही उल्लेख छ ।

प्रकाशित : कार्तिक २७, २०७६ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×