क्षयरोगका बिरामीले पाएनन् पोषणभत्ता- उपत्यका - कान्तिपुर समाचार

क्षयरोगका बिरामीले पाएनन् पोषणभत्ता

फातिमा बानु

काठमाडौँ — काभ्रेकी २६ वर्षीया एक महिला ६ महिनादेखि बहुऔषधि प्रतिरोध (एमडीआर) को उपचारमा छिन् । विशेष उपचारका लागि काठमाडौंमा बसेकी उनी कोटेश्वरको जन्त्र केन्द्रबाट दैनिक क्षयरोगको औषधि सेवन गर्छिन्, सुई लगाउँछिन् । तर उपचार गरेको ६ महिना हुँदा पनि उनले पोषणभत्ता पाएकी छैनन् । 

‘औषधि खान थालेपछि झन् ज्यान दुखिरहन्छ,’ उनले भनिन्, ‘मार्केटिङको काम गरेर गुजारा गर्थें, अहिले त्यो पनि गर्न सकेको छैन ।’ औषधि प्रयोग गरेयता कहिले कपाल झर्ने त कहिले बान्ता हुने समस्याले उनी पीडित छिन् । औषधिसँगै खानुपर्ने पोषणयुक्त खानेकुरा किनेर खान सक्ने खर्च पनि उनीसँग छैन । अझै ६ महिना नियमित उपचारमा बस्नुपर्ने र त्यस अवधिभर काम गरेर आम्दानी गर्न नसक्ने चिन्ताले उनलाई सताएको छ ।


काठमाडौंका ३० वर्षीय एक पुरुष पनि उनीजस्तै जटिल क्षयरोगका बिरामी हुन् । उनी १० महिनादेखि विशेष उपचारमा छन् । ‘पहिले त पोषणभत्ता लिन्थेँ, साउनदेखि पाएको छैन,’ उनले भने, ‘पोषिलो खानेकुरा नखाई औषधि मात्रै खाँदा कमजोरीले ओछ्यान नै पर्छु ।’ वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा उनलाई त्यहीँ क्षयरोगले छोएको थियो । उपचारमा औषधि निःशुल्क भए पनि औषधिसँगै खानुपर्ने पोषिलो खानेकुरा खान नसकेको उनको दुखेसो छ । ‘१८ महिनासम्म नियमित उपचार गर्नुपर्ने खालको समस्या छ,’ उनले भने ।


सरकारले जटिल क्षयरोगको उपचारमा रहेका बिरामीलाई मासिक ३ हजारका दरले पोषणभत्ता दिने गरेको छ । घरमै बसेर उपचार गर्नेले मासिक ३ हजार र सरकारी होस्टलमा बसेर उपचार गर्नेले मासिक १ हजार पाउँछन् । बिरामीलाई भत्ता वितरण अब प्रदेश र पालिकाबाटै हुने भएकाले ढिलासुस्ती भएको भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘हामीले केन्द्रबाट गर्ने काम गरिसक्यौं, सेवा विकेन्द्रित भएकाले केही ढिलाइ भएको होला,’ उनले भने । केन्द्रको तथ्यांकअनुसार देशभर एमडीआरका सात सय २० बिरामी छन् । देशभरका २१ वटा क्षयरोग उपचार केन्द्रबाट बिरामीले उपचार पाइरहेका छन् । केन्द्रका एक स्वास्थ्यकर्मीले भने, ‘बिरामी टाढाबाट औषधि खान यहाँसम्म आइरहेका हुन्छन् । कतिसँग घर जाने भाडा हुँदैन, कर्मचारीले उठाएर दिन्छौं ।’


स्वास्थ्यकर्मीले पाएनन् जोखिमभत्ता

जटिल क्षयरोगको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीले समेत जोखिमभत्ता पाएका छैनन् । सरकारले चार वर्षअघि सेभ द चिल्ड्रेन संस्थाको सहकार्यमा यस्ता स्वास्थ्यकर्मीलाई मासिक १ हजारका दरले भत्ता दिँदै आएको थियो । तीन वर्षयता भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो छ । ‘उपचारको क्रममा स्वास्थ्यकर्मी एउटै बिरामीसँग एक घण्टाभन्दा बढी समय बिताउँछन् । कति स्वास्थ्यकर्मीलाई बिरामीबाटै संक्रमण सरेका धेरै उदाहरण छन्,’ केन्द्रका निर्देशक राजभण्डारीले भने, ‘स्वास्थ्यकर्मी र चिकित्सकको जोखिमभत्ता नियमित गर्न स्वास्थ्य मन्त्रालयसँग अब पहल गर्छु ।’ केन्द्रका अनुसार जटिल क्षयरोगको उपचारमा देशभर ९० स्वास्थ्यकर्मी संलग्न छन् ।

प्रकाशित : माघ २, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

बाँसबाट ‘हाब्रे साइकल’

सीमा तामाङ

काठमाडौँ — घरायसी सामग्री बनाउन प्रयोग हुने बाँसबाट साइकल बनाइएको छ । हाब्रे नाम दिइएको साइकल विद्युत्बाट चल्ने गरी बनाइएको हो । साइकलमा टायर, बस्ने सिटमा फलाम र स्टिल प्रयोग गरिएबाहेक अरू सबै बाँसकै छन् । 

एकचोटिमा ३० देखि ४० किलोमिटरसम्म गुड्ने साइकलमा २५० वाटको मोटर जडान गरिएको मेकानिकल इन्जिनियर अभिषेक कार्कीले बताए । अमेरिकी संस्था फुलब्राइटसँगको सहकार्यमा काठमाडौं विश्वविद्यालयका विद्यार्थी र आबारी संस्थाले तीन महिनामा विद्युतीय साइकल तयार गरेको हो । तर साइकलको डिजाइन अमेरिकाको कान्सास विश्वविद्यालयका प्राध्यापक तथा औद्योगिक डिजाइनर लान्स गोर्डन रेकले गरेका हुन् । यो साइकललाई तीन तरिकाले चलाउन मिल्ने कार्कीेले बताए । ‘पहिलो सामान्य साइकल जसरी नै पेडलको प्रयोग गरेर, दोस्रो विद्युतीय साइकल अर्थात् चार्जिङबाट र तेस्रो हाइब्रिड अर्थात् पेडल प्रयोग गर्दा मोटर पनि आफै चल्छ,’ उनले भने । साइकलमा प्रयोग गरिएको ब्याट्रीसहितको इन्जिनको मूल्य ८० हजार रुपैयाँ पर्छ । साइकल मूल्य १ लाख ६० हजार पर्ने उनले बताए । ‘सामान्य साइकल पनि बनाइएको छ । यसको प्रचार गरिएको छैन,’ उनले भने, ‘हाब्रेको प्रचारप्रसार गरेको छ । अहिले एक पिस मात्र बनाइए पनि मागअनुसार बनाउने योजना छ ।’

नर्वे र डेनमार्कमा चलाइने क्रिस्टियना बाइकको डिजाइनबाट यो साइकलको डिजाइन प्रभावित छ । हाब्रे रिक्साभन्दा ठिक उल्टो छ । रिक्सामा यात्रुका लागि पछाडि बस्ने ठाउँ राखिएको हुन्छ तर, हाब्रेमा यात्रु बस्ने सिट अगाडि छ । काठमाडौंका पर्यटकीय क्षेत्रहरू सवारीमुक्त गरेर यात्रु आवतजावत गर्न यो साइकल प्रयोग गर्न सकिने आवारीले जनाएको छ । ‘बाँस र हाब्रे अर्थात् रेड पाण्डाको सम्बन्ध सुमधुर छ । हाब्रेले बाँसको कलिलो भाग खाने र बाँसमा नै बस्छ,’ आबारीका निर्देशक नृपाल अधिकारीले भने, ‘त्यसैले साइकलको नाम हाब्रे राखिएको हो ।’

नृपालका अनुसार बाँसको आयु जम्मा तीन वर्षको हुन्छ । साइकल बनाउन बाँसलाई सिलिन्डरमा राखेर ‘एयरपम्प प्रेसर’ दिएर डिजाइन गरिएकाले बाँस ५० वर्षभन्दा बढी टिक्ने उनले दाबी गरे । ‘बाँस हलुका हुने र जहाँ पनि पाइन्छ । यसबाट बनेको सामग्री टिकाउ हुन्छ । सडकको कम्पनलाई आल्मोनियमले भन्दा पनि राम्रोसँग अवशोषित गर्छ । स्टिलको तुलनामा शक्ति बढी हुन्छ । तौल अनुपातमा पनि उच्च शक्ति हुन्छ,’ उनले भने ।

आबारीका निर्देशक अधिकारीका अनुसार नेपालमा ५४ प्रजातिका बाँस छन् । नेपालमा ३२ लाख मानिस बाँसको खेती र उत्पादनमा संलग्न छन् । तर यसको प्रयोग घरायसी सामग्रीका लागि मात्र सीमित रहेको उनले बताए ।

प्रकाशित : माघ २, २०७६ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×