दुई हाते मानिसको खोजी- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई हाते मानिसको खोजी

एउटा छिमेकीले मंगल ग्रहको यात्रा प्रारम्भ गरिसक्यो । अर्को छिमेकीले चन्द्रमामा पठाएको कपासको बिउमा टुसा पलाइरहेछ । यता चाहिँ ल्यामपोस्टमा कथित ‘समृद्धि र नयाँ युग’ को पोस्टर टाँसेर सहरलाई कुरुप बनाएपछि सबैभन्दा ठूला मान्छेका कोखामा दाह्रा पलाइरहेछ ।
गिरि श्रीस मगर

सभ्यताको दुई तिहाइ समय युद्धका घाउहरूले भरिएका छन् । इतिहासका दुई तिहाइ खण्ड रक्तले लेखिएका छन् । साम्राज्यका सीमाहरू, उपनिवेशका चौकिल्लाहरू र देशका मानचित्रहरू पनि मानिसका रगतले नै बनेका थिए । अपवादबाहेक, मान्छेले मान्छेको गर्दन छिनाएर नै शक्ति संचय गरेको छ । राज्य निर्माण गरेको छ । सत्ता प्राप्त गरेको छ । 

मानवीय इतिहासको ठूलो खण्ड श्रम र सिर्जना, पसिना र प्रेमले भन्दा युद्ध र विध्वंश, रगत र घृणाले लेखिएको छ । जङ्गली युगदेखि २१ औं शताब्दीको सभ्यतासम्म आइपुग्दा पनि मान्छेले मान्छे काट्न चाँहि छोडेको छैन । साधु, सन्त, ज्ञानी र महात्मा बुद्घहरूले अहिंसाको जति सन्देश दिए पनि शक्ति र सत्ताले मान्छेलाई अन्धो बनाउँदै आएको छ ।

हिंसा अवलम्बनलाई पनि राजनीतिक रूपमा औचित्यपूर्ण सावित गर्न सकिएला । हिंसालाई आत्मरक्षाका लागि पनि भन्न सकिएला । वर्गीय हित रक्षा र वर्गीय राज्य सत्ताको स्थापनाका लागि भन्न सकिएला । बहुजनका हितका लागि भन्न सकिएला ।

तर, आफैमाथिको हिंसालाई कसरी औचित्यपूर्ण सिद्ध गर्न सकिएला ?

उन्मत्त घोडा र सत्ता उस्तै कुरा हुन् । दुवै खतरनाक हुन्छन् । त्यसैले यिनमा आरूढ हुँदा सीप, संयम र शक्ति चाहिन्छ । विवेक, सन्तुलन र यत्न चाहिन्छ । अहङ्कारले पतन निश्चित हुन्छ । सामान्य कुरा हो–उन्मादी घोडाले त बुर्कुसी मारिहाल्छ नि !

आफ्नै इतिहास हेर्छु । आफ्नै वर्तमान हेर्छु । समाज र देश हेर्छु । दरबारका भव्य कोठाहरूमा व्यूह रचनाको मन्त्रणा चलिरहेछ । विलाशी हलहरूमा बैठक होइन, षडयन्त्र चलिरहेछ । सर्वत्र खोसाखोस चलिरहेछ । स्तुतिका स्तोत्र चलिरहेछ । स्वस्ति चलिरहेछ । तानातान चलिरहेछ । मानिसलाई देवत्वकरण वा दानवीकरण गरेर फाइदा लिने व्यापारको महायज्ञ चलिरहेछ ।

अन्त्याँटी, दाहिने हातले देब्रे हात काटिरहेछ । देब्रे हातले दाहिने हात काटिरहेछ । काँधमा झुण्डिरहेको कि दाहिने हात मात्र छ, कि त देब्रे हात मात्र छ ।

दाहिने हात दङ्ग छ–‘देब्रे हात काटेँ !’ ।

देब्रे हात मख्ख छ–‘दाहिने हात काटेँ !’

***

डार्बिन बाजेले भन्नु अघि देखि नै अस्तित्व–लडाइँ त सतत चलिरहेको छ । यो लडाइँमा कुनै पनि जित चिरस्थायी हुँदैन । कुनै पनि हार चिरस्थायी हुँदैन । मरे भनी चिहानमा गाडिएकाहरू पनि बौरेर उठेको इतिहास छँदैछ । उठेर लडेको इतिहास छ । लडेको मात्र होइन, जितेको इतिहास पनि छ ।

कहिले हार्दै र कहिले जित्दै परिवर्तनका अनेक आरोह अवरोह पार गरेर बल्लतल्ल यहाँसम्म आइपुगिएको हो । यहाँसम्म अनेक त्याग, बलिदान, शौर्य र सङ्घर्षको रोमहर्षक इतिहास निर्माण गरेर आइपुगिएको हो । बाउन्न ठक्कर त्रिपन्न हण्डर खाएर आइपुगिएको हो ।

दुर्भाग्य ! यहाँसम्म आइपुग्दा गरिबी, असमानता, शोषण र भ्रष्टाचार पत्याउनै धौ हुने गरी सर्वत्र व्याप्त भइसकेको छ । ती सबमा सवार भएर चुनौतीहरूले ‘गब्बर अट्टहास’ गरिरहेछन् । कठै बरा ! बलिदानको बगैंचामा फक्रिएका राता गुलाफहरू भने मुर्झाएर झरिरहेछन् । रहलपहल गुलाफ पनि आगामी ‘भ्यालेन्टाइन डे’का लागि ‘सोल्ड आउट’ भइसकेका छन् ।

सिंहासनमा बसिरहेको मानिससँग एउटा मात्र हात देखिन्छ । एउटा हत्थामा अडिएर षड्यन्त्रको अंक गणितीय लयमा एउटा मात्र हातको औंलाहरूले ताल दिइरहेका छन् । सिंहासनको दोस्रो हत्थामा खोई दोस्रो हात ?

यस्तो बेला शासक सवार घोडा उन्मत्त भएको छ । भन्ने हो भने उन्मत्त घोडा र सत्ता उस्तै कुरा हुन् । दुवै खतरनाक हुन्छन् । त्यसैले यिनमा आरूढ हुँदा सीप, संयम र शक्ति चाहिन्छ । विवेक, सन्तुलन र यत्न चाहिन्छ । अहङ्कारले पतन निश्चित हुन्छ । सामान्य कुरा हो–उन्मादी घोडाले त बुर्कुसी मारिहाल्छ नि !

सत्ताको उन्मत्त घोडाले झन्झन् बुर्कुसी मारिरहेछ ।

तर हात त एउटा मात्र छ ! कि दाहिने । कि देब्रे । एउटा हातले अब कुन काम आँट्ने ? चाबुक समात्ने कि लगाम समात्ने ?

***

एउटा छिमेकीले मंगल ग्रहको यात्रा प्रारम्भ गरिसक्यो । अर्को छिमेकीले चन्द्रमामा पठाएको कपासको बिउमा टुसा पलाइरहेछ । यता चाहिँ ल्यामपोस्टमा कथित ‘समृद्धि र नयाँ युग’ को पोस्टर टाँसेर सहरलाई कुरुप बनाएपछि सबैभन्दा ठूला मान्छेका कोखामा दाह्रा पलाइरहेछ ।

यही बेला भित्रबाहिर सबैतिर आक्रामक मुद्रामा अनेक रंगका बाघहरू गर्जिरहेछन् । स्यालहरू हुँइया गरिरहेछन् । ब्वाँसाहरू ढुकिरहेछन् । चिल चनाखो भएको छ । तिनका श्वासप्रश्वासबाट स्वार्थका कुहिगन्धे सास फैलिरहेछ ।

सामन्ती सत्ताको प्रत्यागमनको सास । धर्मलाई काखी च्यापेको राजनीतिको सास । समाजवादको खोल ओढेको नवउदारवादको सास । खुल्लमखुल्ला वैदेशिक हस्तक्षेपको सास ।

उपयुक्त समयमा सही निशानामा लाग्ने गरी दुश्मनविरुद्ध बन्दुक पड्किएला त ?

बन्दुक त छ नि ! बडो भरपर्दो बन्दुक छ । त्यो बन्दुक ब्यालेट बक्सबाट निस्केको बन्दुक हो । त्यो बन्दुक जनमतले दिएको बन्दुक हो । त्यो बन्दुक आफूमाथि आइलाग्नेहरूमाथि जाइलाग्न दिइएको बन्दुक हो ।

बन्दुक त्यो पड्किएला त ? आक्रमणकारीलाई ताकेर पड्किएला त ?

तर हात त एउटा मात्र छ ! कि दाहिने । कि देब्रे । एउटा हातले त आखिर एउटा मात्रै विकल्प न टिप्न सक्छ ! एउटा हातले के के भ्याउने ? बन्दुक समात्ने कि ट्रिगर दबाउने ?

आफ्नै हात किन काटेको ? एकदिन जरुर पश्चात्ताप हुनेछ ।

सिंहासनमा बसिरहेको मानिससँग एउटा मात्र हात देखिन्छ । एउटा हत्थामा अडिएर षड्यन्त्रको अंक गणितीय लयमा एउटा मात्र हातको औंलाहरूले ताल दिइरहेका छन् । सिंहासनको दोस्रो हत्थामा खोई दोस्रो हात ?

एक हाते मानिस जति नै शक्तिशाली भए पनि सत्ताको घोडालाई दौडाइरहन सक्तैन । एक हाते मानिसको हातमा जतिसुकै शक्तिशाली बन्दुक भए पनि परिआउँदा ‘फायर खोल्न’ सक्दैन ।

त्यसैले मानिस, सधैँ ‘दुई हाते मानिस’ को खोजीमा हुन्छ ।

के देशको सिंहासनमा दुई हाते मानिस बसेको देख्न सकिएला ?

***

प्रकाशित : पुस १८, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

डान्सिङ स्टार्स नेपालकी विजेता सुमी भन्छिन् : 'म अकस्मात अभिनेत्री भएँ'

रीना मोक्तान

काठमाडौँ — गायिका ज्योति मगर, बुद्ध लामा, हरि खड्का, फुलेन्देकी आमा(उमेश राई), प्रशान्त ताम्राकार दर्शकमा पहिल्यै चर्चित । 'डान्सिङ स्टार्स नेपाल'को मञ्चमा उनीहरुलाई देख्दा अभिनेत्री सुमी मोक्तानलाई लाग्यो,'म चलेको कलाकार होइन । यहाँ मेरो परिचयले मेरो नृत्यलाई दर्शकले याद गर्ने छैनन् । अब नृत्यबाटै नयाँ पहिचान बनाउँछु ।' 

प्रस्तुति दमदार भयो भने उपस्थित १२ मध्ये आफ्नो जोडी नोटिसमा परिन्छ । नत्र नाच्नलाई नाचेको मात्र देखिन्छ भन्ने सुमीले सोचिन् । त्यसैले उनी केही फरक नृत्य पस्कन चाहन्थिन् । र, जोडी पाइन् उस्तै सोच मिल्ने भिजु पार्की । त्यसपछि दुईले नयाँ शैलीको नृत्यसहित स्टन्ट गर्ने निर्णय गरे ।

मञ्चमा 'सुभिजु'को उपनाम पाएका दुईले पहिलो प्रस्तुतिमै कन्टेम्परोरी शैलीमा नृत्य देखाए । तीन निर्णायकले त उठेरै(स्ट्यान्डिङ ओभियसन) नृत्यको तारिफ गरे । यसरी सुरु भएको यात्रामा सुभिजुले नृत्यका फरक-फरक शैलीहरु पस्के । कहिले झुन्डिँदै एरियल त कहिले एरम्याटमा स्टन्टसहितको नृत्य । मञ्चमा पानी पार्नेदेखि आगो बालेरै प्रस्तुति दिए । दुईको यो मेहनत र सहकार्यले 'डान्सिङ स्टार्स नेपाल'को इतिहास रच्यो । उनी दुई प्रतियोगिताका पहिलो विजेता घोषित भए । दुवैले थप परिचय पाए । 'डान्सका नयाँ शैलीहरु गर्न निकै गाह्रो हुन्थ्यो । सायद दर्शकले हाम्रो दु:ख बुझ्नुभयो र साथ दिनुभयो । चर्चित कलाकारबीच हामी विजेता भयौं,' सुमीले जितको खुसी बाँडिन्,'खुसी सँगसँगै मैले गरेको दु:खले न्याय पायो भन्ने अनुभव हुँदो रहेछ । एकदमै खुसी छु ।'

तस्बिरहरु : दिपेन्द्र राेक्का/कान्तिपुर

प्रतियोगितामा आउनुअघि सामान्य नाच्ने गर्थिन् सुमी । 'नन डान्सर' नै थिइन् । मञ्चमा नृत्य गरेको खासै अनुभव थिएन । म्युजिक भिडियो र फिल्ममा एउटा स्टेप सक्नासाथ 'कट' हुन्छ । 'एक्सन कट' हुने गीतमा नृत्य गर्दै आएकी उनलाई प्रतियोगिताले व्यावसायिक डान्सर बनायो ।

'कम्मर मर्काउने त होला । सामान्य नृत्य गर्न सकिहालिन्छ नि,'प्रतियोगिताको सुरुवातमा यस्तै सोच्थिन् उनी । तर, सोचेजस्तो सजिलो पाइनन् नृत्यलाई ।

'मञ्चमा कन्टेम्परोरी, ल्याटिन शैलीको डान्स गरें । त्यो भनेको मेरो शरीरको लागि एकदमै नयाँ शैली हो । त्यो सँगसँगै स्टन्टदेखि एरियल र एयरम्याटलाई समावेश गरेर २ मिनेटभित्रमा नाच्नुपर्दा खेरी गाह्रो भयो,'अनुभव सुनाइन्,'मैले पहिला कहिल्यै नगरेको शैली हो कन्टेम्परोरी । यसअघि व्यावसायिक रुपले डान्स सिकेको थिएन । त्यही नसिकेको भएर चुनौती थियो । तर यो ६ महिनामा मैले जे जति गर्न सकें, राम्रो दिन सकें भन्ने लागेको छ ।'

सुरुवातका दिनमा हप्तामा एक पटक नृत्य गर्नुपर्थ्यो । तर हप्तामा दुई पटक नृत्य गर्नु चुनौतीपूर्ण बन्दै गयो । एउटा गीतमा नृत्य अभ्यास गर्न २ दिन पाउँथे । थोरै समयमा नृत्य गर्नु कोरियोग्राफर भिजुका लागि ठूलो कुरा थिएन । तर, आफ्ना लागि निकै कठिन भएको सुमी सुनाउँछिन् । 'स्टन्ट निकै गाह्रै थियो । मेरा लागि नेक हुक स्टन्टमध्येकै गाह्रो थियो । किनकि त्यसका लागि म तालिम प्राप्त थिइनँ,' उनी सुनाउँछिन्,'आगोको एक्टमा अभ्यास गर्दा जतिको आगो बलेको थियो, प्रस्तुतिको बीच एकदमै धेरै आगो बल्यो । मन कामेको थियो । तर हामीले नृत्य बीचमै रोकेनौं ।'

पानीको स्टन्ट उस्तै गाह्रो थियो । मानसिक तनावसँगै भौतिक रुपले थकान हुन्थ्यो । 'के दिन के रात थाहै हुन्थेन । बिहान बेलुका अभ्यासमै हुन्थ्यौं । ५ घण्टा लगातार अभ्यास गरिसकेपछि ब्रेकमा फेरि त्यही गीत सुनिरहेका हुन्थ्यौं । ६ महिना सोसल लाइफ थिएन,' सुमीले भनिन् ।

पहिलो प्रस्तुतिबाट उनी दुईबाट निर्णायकले केही नयाँ गर्छन् भन्ने अपेक्षा राख्न थाले । दुवैलाई पनि नयाँ शैली गर्नुपर्छ भन्ने चुनौती थपियो । 'भिजुले पनि मबाट धेरै अपेक्षा गर्थ्यो । स्टन्ट गर्नुअघि उ भन्थ्यो सकिहाल्छ नि तर मलाई निकै गाह्रो हुन्थ्यो । त्यही कुरामा झगडा पर्यो् धेरै पटक,' सुमीले सुरुवातका दिन सम्झिन् । डान्समा नयाँ-नयाँ स्टन्ट गर्न आँटले साथ दियो उनलाई । 'आँटैले त्यो स्टन्ट मैले गरें । एरियलकै कुरा गरौं, मान्छेले हेर्दा झुन्डेको त हो नि भन्छ । तर गर्नेले त्यसको खास अर्थ बुझ्छ । ८० प्रतिशत आँटले नै मलाई त्यहाँ पुर्या एको हो ।'

सुमी आफूलाई कोरियोग्राफर पनि राम्रो जुरेको बताउँछिन् । दुवैको उद्धेश्य एउटै थियो, डान्सिङ स्टार्स नेपाल जित्ने । 'म यहाँ आएको चाहिँ जित्नलाई हो,' हरेकपटक सुमी भिजुलाई भन्थिन् । पाँच घण्टा लगातार नृत्य अभ्यास गरेर थकित भएर बस्दा 'उठ, उठ पार्टनर जित्नपर्छ' सुमीलाई हौसाउँदै भिजु पनि भन्थे ।

रातदिनको मिहेनतले नै सुभिजु विजेता बनेको सुमीको भनाई छ । 'प्रतियोगितामा सबैजना जित्न आएका थिए । तर त्यसमा हामीले जित्यौं । सायद हाम्रो रातदिनको मिहेनतको परिणाम हो त्यो । घाउचोट लाग्ने सामान्य भइसकेको थियो । शरीर नदुख्ने दिन हुन्थेन । आँसु पसिना मिसिएको थियो मिहेनतमा,' सुमीले भनिन् ।

अभ्यासका लागि २-५ घण्टा समय छुट्याइएको हुन्थ्यो । उनी दुई त्योबाहेक पनि साथीहरुका स्टुडियोमा अभ्यास गर्थे । २० घण्टाम्म नृत्य अभ्यास गरेको दिनहरु अझै सम्झिन्छिन् सुमी । विजेता भएबापत पाउने २० लाखमा केही रकम बहिरा संघलाई सहयोग गर्ने सोचेकी छिन् । 'अहिले सबै ठाउँमा २० लाखको कुरा हुन्छ । २० लाख कहिले पाउने हो मलाई थाहा छैन । आउला, समय लाग्छ होला,' उपहार रकमबारे हाँस्दै सुनाइन् ।

एक्सन अभिनेत्री

साहसिक पर्यटनमा स्नातकोत्तर अध्ययन गरिरहेकी सुमी नयाँ फिल्मको काममा हालै आबद्ध भएकी छिन् । २०१२ की मिस तामाङसमेत बनेकी सुमी फिल्ममै आफ्नो करियर बनाउन चाहन्छिन् । उनी २०१३ मा मिस नेपालको शीर्ष पाँचसम्म पुगेकी थिइन् । सौन्दर्य प्रतियोगितामा सहभागी हुन थालेपछि उनले म्युजिक भिडियो गर्न सुरु गरिन् । पाँचौं म्युजिक भिडियो गरिसक्दा उनलाई 'झ्यानाकुटी' फिल्मको अफर आयो ।

भूमिका छोटो थियो । त्यतिबेला क्यामेराको फ्रेम केही बुझेकै थिइनन् । तर अभिनय गरिन् । त्यसपछि कलाकार सौगात मल्लको सल्लाहमा 'ज्ञ' थियटरमा अभिनय सिकिन् । त्यसबीच फिल्म '२ रुपैयाँ'मा उनले एउटा गीत गरिन् । त्यसपछि उनलाई 'सरौतो' फिल्मबाट अफर आयो । सरौतोबाट नै'एक्सन अभिनेत्री'को उपनाम पाएकी हुन् सुमीले ।

म्युजिक भिडियो हुँदै फिल्ममा काम गरेपछि नै हो सुमीलाई यो क्षेत्रले तानेको । 'सुरुको दिनमा यसमै करियर नै बनाउँछु भनेर आएको होइन। तर गर्दै गएपछि राम्रो गर्न सक्छु भन्ने लाग्यो,' उनले भनिन् ।

'सरौतो'मा उनी प्रमुख भूमिकामा देखिएकी थिइन् ।

फिल्म त खासै चलेन नि ?

प्रश्न खस्न नपाउँदै जवाफमा भनिन्,'यो फिल्मको हिरो नै म थिएँ । तर फिल्मको लगानी उठेको छ । कति चर्चित कलाकारको फिल्म फ्लप हुन्छ । म त नयाँ थिएँ । त्यहीमाथि महिला केन्द्रित एक्सन फिल्म । कोरोना नभइदिएको भए धेरै राम्रो हुन्थ्यो होला।'

'सरौतो'को लागि डेढ वर्ष दिएकी थिइन् उनले । लगानी उठाएको दाबी गरे पनि फिल्मले सोचेजस्तो सफलता नपाएको उनी स्वीकार्छिन् । भन्छिन्,'सायद प्रदर्शन मिति सार्नु नपर्ने थियो कि हामीले?, हामी नयाँ अनुहार र नयाँ मेकर भएकाले डरायौं । पछाडि नसरेको भए राम्रो कमाइ गर्थ्यौ कि भन्ने पनि लागेको छ ।'

फिल्ममा करियर बनाउन खासै परिवारको साथ थिएन सुमीलाई । बुवा सन्तवीर लामा नेपाल पर्वतारोहण संघका अध्यक्ष । बुवा उनलाई डाक्टर बनाउन चाहन्थे । दिल्लीको लक्ष्मण पब्लिक स्कुलदेखि अमेरिकामा पढाए । तर उनको रुचि फिल्मतिरै मोडियो । 'बुवा र मेरो क्षेत्र फरक छ । उहाँले मबाट धेरै अपेक्षा राख्नुहुन्थ्यो । साइकोलोजी पढ्दा पनि के पढेको भन्नुहुन्थ्यो म दिमागको डाक्टर हो भनेर टारिदिन्थें,' उनी सुनाउँछिन् ।

फिल्ममा प्रवेश गरेको थाहा पाएपछि 'यो क्षेत्रमा के पाउँछ? बुवा उनलाई सोध्थे । 'यो काम गर्दा खुसी अनुभव हुन्छ । जे गरे पनि तपाईंलाई गर्विलो बनाउँछु,' उनी बुवालाई सम्झाउँथिन् । अहिले उनलाई परिवारको साथ छ । ट्रेकिङ कम्पनी र एभरेस्ट कफीको व्यापारमा उनको परिवार सक्रिय छ । व्यावसायिक परिवारकी सुमी अब फिल्ममा निर्माताको रुपमा आउने सोचमा छिन् । ,'म अकस्मात रुपले अभिनेत्री भएँ । अभिनेत्री बन्छु भनेर सपना देखेको होइन । म निर्माता मात्र होइन निर्देशकको रुपमा पनि आउन सक्छु ।'

प्रकाशित : पुस १८, २०७७ १३:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×