कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘खड्ग पाय: जात्रा’ सार्वजनिक

काठमाडौँ — न्हु दँ नेपाल सम्वत ११४१ को अवसर पारेर ‘खड्ग पाय: जात्रा’ सार्वजनिक गरिएको छ । पत्रकार प्रशान्त मालीले लेखेको पुस्तक लोपन्मुख लिच्छविकालीन खड्गजात्रा (पाया:) सँग सम्बन्धित छ ।

‘खड्ग पाय: जात्रा’ सार्वजनिक

महादुर्गाले महिषासुरको बध गरी मानव जगतको रक्षा गरेको उपलक्ष्यमा विजयादशमीमा विजयउत्सवको रुपमा मनाइने धार्मिक मान्यता बोकेको यस जात्रा सांस्कृतिक बाजागाजासहित उत्सव मनाउनेसँग मात्र सम्बन्धित छैन । लिच्छवीकालदेखि मल्ल र शाह हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि सबै नेपाली सुन्दर फूलबाट उनेको मालाझैं अविछिन्न र एक्यबद्ध भएको सन्देश रुपमा लिइएको छ ।

खड्ग हातमा लिएर गरिने जात्रा लिच्छवीकालमा लडाइँको रणनीतिअनुरुप पनि विकास भएको, मल्ल राजाहरु उदायसँगै जात्रामा विभिन्न देवीनाचहरु समावेश गरेर थप उल्लासमय बनाएको र जात्राको महत्त्व, सुरुवात र जात्रासँग सम्बन्धित गुठी, खल: पुच: बाजागाजा र फूलबारेमा पुस्तकमा वर्णन गरिएको छ ।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले पुस्तक पढेर नेवारहरुको संस्कृतिमा एउटा अलगधारको पाया: सस्कृति (खड्ग सिद्धि प्राप्त गर्ने संस्कृति) को अनुभूत गर्न पाएको बताए । उनले पुस्तकबाट जात्राको ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक पक्षका धेरै ज्ञातव्य, रोचक, प्रासंगिक कुराहरु थाहा पाउन सकिने कुरा व्यक्त गरे ।

ललितपुर उद्योग वाणिज्य संघ–यल सांस्कृतिक पर्व संरक्षण समितिद्वारा प्रकाशित पुस्तक विमोचनमा पाटन दरबार क्षेत्रमा २०५२ देखि रोकिएको तलेजु मन्दिरबाट निकालिने मल्लकालीन पायो जात्रा पुन: सञ्चालनमा ल्याउने उद्देश्यले सम्बन्धित गुठीयार मिलेर प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा यल सांस्कृतिक पर्व संरक्षण समितिले पाटन दरबार क्षेत्रमा २०५२ देखि रोकिएको लिच्छवीकालिन खड्ग जात्रा पुन: सञ्चालनमा ल्याउन योगदान गर्ने र परम्परादेखि हालसम्म निरन्तर रुपमा जात्रापर्व चलाउँदै आएका गुठी, खल:, पुच: र विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका छन् ।

समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, ललितपुरका सांसद् कृष्णलाल महर्जनले संस्कृति पर्व संरक्षणका लागि सबै एकजुट भएर अघि बढेकाले बन्द भएको संस्कृति सञ्चालन सम्भव भएको बताएका छन् । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले संस्कृति सम्पदा जर्गेना गर्न सम्बन्धित गुठीयार सम्पर्कमा आएमा सक्दो सहयोग गर्न प्रतिबद्धता जनाए ।

प्रकाशित : मंसिर २, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?