२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कर्णाली साहित्य समाज कृति पुरस्कार ‘मोहपथ’ लाई

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — कर्णाली साहित्य समाज वीरेन्द्रनगर सुर्खेतले स्थापना गरेको पुरस्कार कथाकार ललित विष्टको कथाकृति 'मोहपथ'लाई प्रदान गरिएको छ । 

कर्णाली साहित्य समाज कृति पुरस्कार ‘मोहपथ’ लाई

वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा मोहपथका लेखक कथाकार विष्टलाई ५० हजार रुपैयाँको कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गरिएको हो । यसैगरी शताब्दी पुरुष सत्यमोहन जोशीलाई कर्णाली साहित्य समाज साधना सम्मान अर्पण गरेको छ ।

नेपाली भाषा, साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ताम्रपत्रसहित सम्मान जोशीलाई प्रदान गरिएको कर्णाली साहित्य समाजले जनाएको छ ।

लोकसाधक प्रेमदेव गिरीलाई नगद २५ हजार रुपैयाँसहितको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरिएको छ । कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । नेपाली भाषाको उद्गमस्थल जुम्ला र साहित्य र सभ्यताको सुरुआत सिंजाबाट भएकोले कर्णालीले भाषा साहित्यको जगेर्नामा प्राथमिकता दिन आवश्यक रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

कार्यक्रममा सम्मानीत स्रष्टाहरुलाई बधाई दिँदै संस्थाका संस्थापक संरक्षक कथाकार महेशविक्रम शाहले कर्णालीकै ठूलो र पहिलो पुरस्कारको रुपमा कर्णाली साहित्य समाजले सुरुआत गरेको दाबी गरे । सबै कुरामा सरकारको मुख ताक्नुभन्दा पनि सबैले आ–आफ्नो क्षेत्रबाट गर्न सकिने कामलाई गर्दै अगाडि बढेमा मात्र समृद्धिमा पुग्न सकिने शाहको भनाइ छ ।

समारोहमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयले भाषा साहित्यका क्षेत्रमा अध्ययन, खोज र अनुसन्धानका लागि गर्नुपर्ने काम गर्ने बताए ।

प्रकाशित : चैत्र ११, २०७७ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?